

काठमाडौँ ।
विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित संसदीय उपसमितिको म्याद १० दिन थप गरिएको छ ।
सिंहदरबारमा सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उपसमितिको प्रस्ताव अनुसार म्याद १० दिन थप गर्ने निर्णय गरेको हो ।
बैठकमा उपसमिति संयोजक छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकको विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि दफावार छलफल सकिएको जानकारी दिए ।
उनले दफावार छलफल सकिएपनि प्रतिवेदन लेखन र प्रतिवेदन उपर छलफल गरी मस्यौदा तयार गर्ने काम बाँकी रहेकाले १० दिन म्याद थप गर्न प्रस्ताव गरेका थिए ।
समितिले उनको प्रस्तावलाई अनुमोदन गरेको हो । उपसमितिले चैत्र १८ गतेदेखि कार्यप्रारम्भ गरी वैशाख २१ गतेसम्म ३९ वटा बैठक बसेको जनाएको छ ।
