

मिथिला राज्य संघर्ष समितिले ठीक १२ वर्ष अगाडी वैशाख १८ गतेकै दिन जनकपुरधामस्थित रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना दिई रहेको थियो । धर्ना दिई रहेकै अवस्थामा ठूलो बम विस्फोट भएपछि ५ जनाले शहादत प्राप्त गरे । ती शहीदहरुले शहादत प्राप्त गरेको दिन प्रत्येक वर्ष जनकपुरधाममा बलिदानी दिवस मनाइने गरिन्छ ।
वि.सं. २०६९ साल वैशाख १८ गतेको त्यो कालो दिन मिथिलावासीले कहिल्यै विर्सन सकेनन् । कारण त्यो दिन मिथिला भूमिमाथि ठूलै बज्रपात भएको थियो । जसको पीडा अहिलेपनि मिथिलावासीमा छँदैछ । यो त्यही दिन हो जुन दिन मिथिलावासीलाई रञ्जु झा जस्तो योद्धालाई गुमाउनु परेको थियो ।
मिथिला नाट्य कला कला परिषदका हास्य कलाकार रामनारायण ठाकुर भन्छन् ‘यो पीडा हामीहरुको हृदयबाट कहिल्यै हट्ने छैन कि अब रञ्जु हामी बिच रहिनन् ।’
वि.सं. २०३४ सालमा जन्मेकी रञ्जु एउटा सामान्य परिवारकी थिइन् । उनी एउटा यस्तो सामान्य केटी थिइन् जसलाई भविश्यको योजनालाई लिएर कुनै चिन्ता थिएन । तर घडीको सूई संगै उनी विस्तारै यौवन अवस्थामा पुगिन् । यौवन अवस्थामा पुगेपनि रञ्जुको कुनै खास योजना थिएन । तर नियतिले जे चाहन्छ त्यो हामी सबैलै गर्नै पर्छ । उनको विवाह पनि भयो । उनीमाथी परिवार चलाउने अभिभारा आयो । त्यसमाथि दुई सन्तानको पालन पोषणको जिम्मेबारी पनि ।
रञ्जु आफ्नो दूबै सन्तानको भविश्य प्रति धेरै नै चिन्तित हुन्थिन् । तर घरको आर्थिक तंगीका कारण केही गर्न पनि असमर्थ भईरहेकी थिइन् ।
यसै क्रममा रञ्जुले आफू भित्र रहेको गायकी र लेखन क्षमतालाई उजागर गर्ने निधो गरिन् । उनी आफ्नो श्रीमान संगै वि.सं २०५६ सालमा मिथिला नाट्य कला परिषदको परिसरमा आफ्नो गायकीको उडान भर्नका लागि पुगिन । तर मिनापका बरिष्ठ कलाकार सुनिल मिश्र उनको लेखन र गायकीबाट प्रभावित हुन सकेनन् । यद्यपि मिनापलाई महिला कलाकारको खाँचो थियो । मिश्रले त्यो लोभकै कारण रञ्जुलाई मिनापमा स्थान दिने निर्णयमा पुगे ।

रञ्जु गायिका बन्ने सपनाका साथ निरन्तर मिनापमा आवत जावत गर्न थालिन् । यसै क्रममा उनको भेट नाटककार महेन्द्र मलंगियासँग भयो । मलंगियाले उनलाई गायकीमा जानुभन्दा राम्रो अभिनय नै गर भनेर सुझाव दिए । मलंगिया जस्तो नाटककारको त्यो सुझावलाई उनले काट्न सकिनन् ।
उनी सोही वर्ष काठक लोक नामक नाटकमा पहिलो पटक अभिनय गरिन् । तर उनको अभिनयबाट कोही प्रभावित भएनन् ।
तर जब उनी दोस्रो पटक गाम नहि सुतैया नामक नाटकमा आफ्नो अभिनयकको क्षमतामा उर्जा थपिन त्यसपछि नाटकका महारथिहरु पनि चकित भए ।
रञ्जुले ओ खाली मुह देखै छै, गाम नई सुतैया, ओरिजिनल काम, छुतहा घैल, पुस जाढ कि माघ जाढ, विर्जु विल्टु आ बाबु, प्रेत चाहे असौच लगायतका नाटकमा आफ्नो अभिनय प्रतिभाको कौशल देखाइन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०५७ सालमा उत्कृष्ट कलाकारको पुरस्कार पाएकी रञ्जु दीपक रौनियारद्वारा निर्देशित टेलि फिल्म चौखठ, पूजा, आमा–२, सृष्टि, कालाजारमा पनि आफ्नो सशक्त अभिनयको प्रस्तुती दिएकी थिइन् ।
यसका अतिरिक्त रञ्जुले बीबीसी नेपाली सेवाको रेडियो नाटक कथा मीठो सारङ्गीकोमा पनि आफ्नो आवाज दिएकी थिइन् ।
२०६९ सालसम्म रञ्जु मिथिलाका एउटा हस्ती बनिसकेकी थिइन् । सम्पूर्ण मैथिल नारीको नेतृत्व गर्ने क्षमता उनमा थियो । सोही अनुरुप मिथिला राज्य संघर्ष समितिद्वारा मिथिला राज्यको माग सहित गरिएको आन्दोलनमा महिला मात्र नभई पुरुषवर्गका कलाकारहरुलाई समेत उनले प्रेरित गरिन् ।

तर यो कसलाई थाहा थियो मिथिला मैथिलीका लागि लड्ने रञ्जुका लागि यो अन्तिम लडाई हो । उनले मिथिलाका लागि आफ्नो प्राणको आहुति दिइन् ।
त्यसैले त मिनापका तत्कालिन अध्यक्ष सुनिल मल्लिक उनलाई योद्धाको संज्ञा दिन्छन् । रञ्जुमा संघर्ष भरिएको थियो, उनी कुनै पनि चुनौती सहजै पार गर्न सक्ने क्षमता राख्थिन् ।
रञ्जुको छोरा आँशु झा गहभरी आँसु झार्दै भन्छन् आमाले हामीलाई छोडेर गएकी छैनन् उनी मेरो संस्कार, मेरो रगत, मेरो हृदयमा छिन् ।
२०६९ साल बैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना बसेको बेला बिहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको बम विष्फोटमा परेर ५ जनाको ज्यान जानुका साथै विस्फोटमा परी दर्जनौं व्यक्ति घाइते भएका थिए ।
बम विस्फोटमा मिनापका कलाकार रंजु झासहित झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो ।
