

काठमाडौँ ।
२७ दिनदेखि सडक आन्दोलनमा रहेका आवासीय चिकित्सकहरुले आठौँ तह बराबरको निर्वाह भत्ता दिने सुनिश्चितता नभए सम्म आन्दोलन फिर्ता नलिने अडान लिएका छन् ।
चैत्र २१ गतेदेखि सेवा बहिष्कार गर्दै आएका आवासीय चिकित्सकले निर्वाह भत्ता आउने सुनिश्चिता र कलेजमा सम्मानपूर्वक फर्किने वातावरण भयो भने मात्र आन्दोलन फिर्ता लिने जनाएका हुन् ।
सरकारी सरह निर्वाह भत्ता दिन नसक्ने अडान लिएका निजी मेडिकल कलेज सञ्चालहरुले सरकारले स्नातक तहमा सिट र शुल्क बढाउन सकिने जनाएपछि निर्वाह भत्ता बढाउन तयार भएका थिए । चिकित्सा शिक्षा आयोगको चैत्र १५ बसेको १९ औँ बैठकले एमबीबीएसको सिट संख्या र शुल्क बढाउन सकिने निर्णय गरेको छ ।
निजी मेडिकल कलेजहरूको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीले आयोगको बैठक सुरु हुन अगावै आफूहरू आवासीय चिकित्सकहरूलाई मासिक ४८ हजार रूपैयाँ निर्वाह भत्ता दिन तयार भएको बताएका थिए ।
लुम्बिनी मेडिकल कलेजका आवासीय चिकित्सक डा. दीपक कडेँलले निर्वाह भत्ता दिन्छु भनेर मात्रै नहुने भन्दै खातामा पैसा आउनुपर्ने माग गरे ।
