

एजेन्सी ।
क्रुनाल पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)ले दिल्ली क्यापिटललाई हराउँदै यस सिजनको आइपिएलमा प्ले अफ सम्भावना बलियो बनाएको छ । यो जितसँगै आरसिबी आईपीएल तालिकाको शीर्ष स्थानमा पुगेको छ। १० मा सात खेल जितेको आरसिबीको १४ अंक छ ।
आइतबार भएको खेलमा बंग्लोरुले दिल्लीलाई ६ विकेटले हराएको हो । १६३ रनको लक्ष्य पछ्याएको बंग्लोरुले ९ बल बाँकी रहँदा चार विकेटको क्षतिमा १६५ रनको योगफल खडा गरेको हो ।
२६ रनमा तेस्रो विकेट गुमाएपछि ब्याटिङ गर्न आएका पाण्डेले अविजित रहँदै ४७ बलमा ७३ रन जोडेका थिए। उनले विराट कोहलीसँग मिलेर चौथो विकेटका लागि ११९ रनको साझेदारी गरे । कोहलीले ४७ बलमा ५१ रन जोडे । टिम डेभिडले अविजित रहँदै ५ बलमा १९ रन जोडे। दिल्लीका कप्तान अक्षर पटेलले ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दिल्लीले आठ विकेटको क्षतिमा १६२ रन जोडेको थियो । दिल्लीका लागि के एल राहुलले सर्वाधिक ४१ रन जोडे । धिमा गतिमा खेलेका उनले ३९ बलको सामना गरेका थिए। ट्रिस्टयन स्टब्सले १८ बलमा ३४ रन जोडे ।
