Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जुड़शीतलको विषयमा विशेष आलेख

एकअर्कालाई हिलोपानी





सुजीतकुमार झा
जनकपुरधाम।
माटोको हिलो एक अर्कालाई दलेर पनि पर्व मनाइन्छ सुन्दा आश्चर्य लाग्न सक्छ तर मिथिलाञ्चलको प्रमुख पर्वमध्ये एक जुड़शीतल यसैगरी आज सम्पन्न भएको छ ।
जनकपुरधामको चोक–चोकमा युवाहरु एक अर्कालाई हिलो माटो लगाइ रहेका थिए । फेरी यो स्थिति जनकपुरधामको मात्रै नभई मधेश प्रदेशभरी नै रहेको थियो ।
फागु पर्वमा एक अर्कालाई रंग अबीर दले जस्तै यस पर्वमा हिलो माटो लगाउने परम्परा रहेको छ । हिलो खेल्ने कार्यमा सक्रिय रहेका मधेश प्रदेशसभाका उपसचिव विपिन ठाकुरले भने आफुहरु विहानै देखी घण्टौ यो पर्वमा सहभागी भएको थिए । फागु भन्दा बढी उत्साहका साथ यसमा सहभागी हुने गरेको उहाँको कथन थियो ।
जनकपुरधामका विभिन्न युवा कमिटीले हिलो माटो खेल्नका लागी विशेष कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा विभिन्न युवा क्लवका पदाधिकारी, व्यापारी, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी आदीको सहभागिता रहेको थियो । हिलो पर्वका लागि ठाउँ ठाउँमा एकसाता अघि देखि नै हिलोमाटोको व्यवस्था गरिएको थियो । ‘शरीरमा चिकनी माटो लगाउनु पनि स्वास्थ्यको लागि फाइदा रहेको,’ स्कीन विशेषज्ञ डा प्रमोद झाले वताए ।
सेभ हिस्टोरिकल जनकपुरधामका संस्थापक अध्यक्ष एवं प्रदेशसभा सदस्य रामअशिष यादवले भने ‘मैथिली संस्कृति र परम्परा जोगाउन आफूहरु हिलो माटो खेललाई उत्सवको रुपमा लिने गरेको ।’ उल्लास र सहकालको प्रतीक मानिने यो पर्वले प्राचीन मिथिला क्षेत्र उल्लासमय बनेका छन् ।
जनकपुरधामका विभिन्न क्लवहरु बीच यो पर्वलाई छुट्टा छुट्टै पर्वको रुपमा मनाउने परम्पराको विकास भएको छ । हिलो माटो लगाएर जुड़शीतल सवैले मनाए पनि केही क्लवले यस पर्वको अवसरमा नाला र सडक सफाई गर्ने गर्छन ।
सफाईमा सहभागि रहेका कृष्णचन्द्र साहले समाजमा सकारात्मक सन्देश छोडोस त्यो उदेश्यले नाला सफाई गरेको जानकारी दिए ।
ग्रामीण क्षेत्रमा अरु भव्यताका संग जुड़ शीतल मनाउने गरिन्छ । धनुषाको गाउँपालिका तथा नगरपालिकाहरुमा अधिकांश व्यक्ति एक ठाउँमा जम्मा भएर हिलो माटो खेलेका थिए । धनुषाको गंगुलीका गुडडु कर्णले यस्ता पर्वले भाइचारा वढाउन वल दिने गरेको बताए । सांस्कृतिविद डा. सुरेन्द्र लाभले बालबालिकादेखि वृद्धसम्म यो पर्वमा सरिक हुनुलेपनि यसको महत्व मिथिलाञ्चलमा अत्यधिक रहेको देखाइरहेको उल्लेख गर्नुभयो ।
बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र खाइन्छन् ।
नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व सुरु हुन्छ । जुुडशीतलले प्रकृतिको संरक्षण र सामाजिक सदभाव मुख्य सन्देश रहेको जानकारहरु वताउँछन् । यसमा मिथिलाञ्चलभरी आफुभन्दा सानाको शिरमा(टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ । बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल रालेर आर्शीवाद दिएको छ । परम्पराअनुसार घर–घरमा परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन । बढ्दो गर्मीबीच ‘शीतल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय भएको हुँदा यो पर्वलाई ‘जुडशीतल’ भनिएको मैथिल परम्परा र संस्कृतिका जानकार डा. रेवतीरमण लाल बताउँछन् । पर्वमा सहकाल (अनुकूल वर्षा र मौसम, अनिकाल व्याधीको प्रकोप नहुने) को कामना गरिने हुँदा यसको मुख्य सन्देस कृषिसँग सम्बन्धित रहेको डा. लालको भनाइ छ । घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै यो पर्व मनाइने चलन छ ।
वर्षभरि शितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन् । आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ ।
‘सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो,’ संस्कृतिविद् चन्द्रमोहन झा ‘पडवा’ ले वताए । नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ। आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन् ।

जुडशीतल पर्वले जललाई बँचाउने, जलको महत्व र माटोको महत्वलाई देखाएको त्यस्तै आफुभन्दा ठूलालाई सम्मान गर्ने, आशिष लिने सन्देश दिने गरेको प्रदेश सांसद यादवले बताए ।

उनले जुडशितलमा पहिले पहिले ईनार, कुवा, पोखरीहरु गाउँहरुमा युवाहरुले सफाई गर्ने अभियान नै सञ्चालन गर्दै आएकोमा अहिले आएर नयाँ पुस्तालाई जुडशीतलको बारेमा जानकारी समेत नरहेको बताए । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरु यस्ता पर्वको संरक्षणमा महत्वपूर्ण योग्दान खेलिरहेको उनले बताए ।

जुडशीतल प्रकृति पूजाको पर्व हो मैथिली संस्कृतिका जानकार पडवा भन्छन्,‘ जुडशीतलमा मानव मात्र नभई रुख विरुवा समेतलाई जुडाउने(जलसिंचन) चलन छ । यस पर्वलाई मिठो खाने पर्वको रुपमा समेत लिइन्छ । विभिन्न किसिमका तरुवा, करीबरी, सजिनाको तरकारी, टिकुलाको चटनी लगायतका परिकार पकाई ईष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ ।’
यो पर्वका दिन घर घरमा बासी बरी भात खाने चलन रहेको छ । जुड़ शीतलका दिन चुल्होलाई विश्राम दिने मिथिलाञ्चलमा चलन रहेको छ ।
शिकार खेल्ने परम्परा पनि यस दिनमा परम्परा रहेको छ ।