

गएको साता (मार्च २४) बेलायत र युरोपेली आकाशमा अचानक एउटा घुमाउरो, नीलो रङको शंखाकार आकृति देखापर्यो । धेरैले त्यसलाई अज्ञात उडनतस्तरी (यूएफओ) वा अर्कै ग्रहबाट आएको ‘एलियन’ भएको शंका गरे । र, तिनले सामाजिक सञ्जालमा तस्बिर–भिडियो पोस्ट गरे । तर, त्यो कुनै अज्ञात वस्तु थिएन । अन्तरिक्षसम्बन्धी उन्नत उपकरण निर्माण गर्ने अर्बपति इलन मस्कको कम्पनी ‘स्पेसएक्स’ ले अमेरिकी सरकारका लागि बनाएको जासुसी भूउपग्रह (स्पाई स्याटेलाइट) प्रक्षेपणका क्रममा उत्पन्न भएको प्रकाशको प्रतिबिम्ब थियो ।
स्पेस–एक्सले अमेरिकी नेसनल रिकनिसन्स अफिस (एनआरओ) सँगको गोप्य ठेक्का सम्झौताअनुरूप ‘स्टारसिल्ड’ भनिने जासुसी भूउपग्रहको एउटा सञ्जाल निर्माण गरिरहेको छ । त्यसकै लागि कम्पनीले फ्लोरिडाको केप क्यानभेरल स्पेस फोर्स स्टेसनबाट फाल्कन ९ रकेटको परीक्षण उडान गरेको थियो । त्यस क्रममा रकेटबाट निस्किएको इन्धन कुनै ठाउँको ग्यास र बाफ जमेर बनेको क्रिस्टलमा ठोक्किँदा सूर्यको प्रकाशले शंखाकार आकृति सिर्जना भएको विज्ञहरूले बताएका छन् । फाल्कन ९ रकेट फनफनी घुम्दै माथि उडेकाले आकाशमा पनि घुमाउरो आकृति देखिएको ‘द वासिङ्टन पोस्ट’ सँग बस्टन विश्वविद्यालयका अन्तरिक्ष भौतिकशास्त्री जेफ बौमगार्डनरले बताएका छन् ।
जे होस्, यस घटनाले अमेरिकी स्पाई स्याटेलाइट व्यवस्थापन गर्ने निकाय एनआरओ र स्पेस एक्सबीच ‘स्टारसिल्ड’ परियोजनाका विषयमा सन् २०२१ मै गोप्य रूपमा भएको १.८ अर्ब डलरको ठेक्का सम्झौतालाई पुनः चर्चामा ल्याइदिएको छ । पछिल्लो एक वर्षमा स्पेस एक्सले तीन पटक यस्ता परीक्षण उडान सञ्चालन गरिसकेको छ । मंगल ग्रह र चन्द्रमामा पुग्ने चर्चा गरिरहेका अमेरिकी सरकार र मस्क पृथ्वीकै कक्षमा प्रभुत्व जमाउन कसरी लागिपरेका छन् भन्ने यस परियोजनाले देखाउँछ । रोयटर्सका अनुसार, एनआरो र स्टारसिल्ड बिजिनेस युनिटले बनाइरहेको जासुसी भूउपग्रहहरूको सञ्जालले अमेरिकी सरकारलाई पृथ्वीको कुनै पनि भागको सहजै अवलोकन गर्न सक्षम बनाउँछ ।

स्पेसएक्सले प्रक्षेपण गरेको स्टारसिल्ड परियोजनाको दृश्य
गत वर्ष यस परियोजनाबारे समाचार बाहिरिएपछि ‘स्पेस एक्सजस्ता व्यावसायिक भूउपग्रह सेवा प्रदायकमार्फत अमेरिकाले जासुसी प्रणाली निर्माण गरे, त्यसले अन्तरिक्ष सुरक्षामा चुनौती खडा गर्ने प्रतिक्रिया’ रुसले दिएको थियो । ‘वासिङ्टनले आफ्नो सैन्य अन्तरिक्ष महत्त्वाकांक्षा पूरा गर्न निजी क्षेत्रलाई आकर्षित गर्ने प्रयास गरिरहेको विषयमा हामी जानकार छौं,’ रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भनेकी थिइन्, ‘यस्ता प्रणालीहरू सैन्यसँगै बदला भावले प्रेरित आक्रमणलाई वैध बनाउन प्रयोग हुन सक्छन् ।’ रुसी समाचार संस्था ‘स्पटनिक’ का अनुसार, जाखारोभाले संयुक्त राष्ट्रसंघ महासभामा ‘शान्तिको प्रवर्द्धनका लागि अन्तरिक्ष विज्ञान र प्रविधि’ विषयमा रुसको प्रतिबद्धता सुनाएकी थिइन् । अन्तरिक्ष प्रणालीलाई भूराजनीतिक प्रतिस्पर्धीमा बल पुर्याउने गरी प्रयोग गर्न नहुने रुसको धारणा रहेको उनको भनाइ थियो ।
ह्वाइट हाउसले भने रुसले ‘अन्तरिक्षमा आधारित’ उपग्रह प्रतिरोधी हतियार विकास गरिरहेको र त्यो ‘चिन्ताजनक’ विषय भए पनि त्यसले खतरा उत्पन्न गर्न नसक्ने दाबी गरेको थियो । अमेरिका र रुस (पहिले सोभियत संघ) बीच भूउपग्रहलाई लिएर भएको वादविवाद र प्रतिस्पर्धा नयाँ होइन । पृथ्वीमा अन्तरिक्ष अभियानको सुरुवाती चरणदेखि नै यी दुई देशबीच तँछाडमछाड चलिरहेको छ । सन् १९५० को दशकमा अमेरिका र रुसले एकसाथ अन्तरिक्षमा भूउपग्रह पठाउन कसरत गरेको र अमेरिकी प्रक्षेपण लगातार असफल भइरहँदा सोभियत संघले सन् १९५७ अक्टोबर ४ मा सफलतापूर्वक स्पटनिक–१ अन्तरिक्षमा पुर्याएको थियो ।
सो घटनाले चकित र विस्मित भएको अमेरिकाले सन् १९५८ मा अन्तरिक्ष एजेन्सी नासा स्थापना गरेर यो क्षेत्रमा प्रभुत्व जमाउन लागिपर्यो । अहिले अन्तरिक्षमा अमेरिकाकै भूउपग्रहको बाहुल्य छ । सामर्थ्य, सञ्चार र गुप्तचर प्रयोजनका लागि भूउपग्रह अहिले सबैभन्दा महत्त्वपूर्ण माध्यम बनेका छन् । अन्तरिक्षमा आफ्नै स्याटेलाइट हुनु सार्वभौम देशको प्रतिष्ठा र राष्ट्रिय सुरक्षाको विषय बनेको छ । चैत तेस्रो साता १२ हजार ४८ वटा भूउपग्रहले पृथ्वीको वरिपरि चक्कर लगाइरहेको अर्बिटिङ नाउ डटकममा उल्लेख छ । सबैभन्दा धेरै लो अर्थ अर्बिटमा ७ हजार ३ सय २, मेडियम अर्थ अर्बिटमा १ सय ९०, हाई अर्थ वा ग्रेभयार्ड अर्बिटमा २१ वटा, जियोस्टेसनरी अर्बिटमा ५ सय २८ वटा भूउपग्रह छन् ।
स्पेस एक्सको स्टारलिंक, अमेजनको प्रोजेक्ट कुइपर र वानवेबका दर्जनौं भूउपग्रहको समूहका कारण अन्तरिक्षमा भूउपग्रहको संख्या दिन प्रतिदिन थपिएको थपिएकै छ । यी कम्पनीहरूले भूउपग्रहमा आधारित द्रुत गतिको इन्टरनेट सेवा विश्वभर विस्तार गर्ने लक्ष्य लिएका छन् । हालसम्म १ सयभन्दा धेरै देशमा इन्टरनेट सेवा पुर्याइसकेको दाबी गर्दै आएको स्टारलिंक एक्लैको अन्तरिक्षमा ४ हजारभन्दा धेरै स्याटेलाइट छन् । कुइपर स्याट १ र २ गरी हाल दुइटा स्याटेलाइटको नमुना प्रक्षेपण गरेको अमेजनले ३ हजारभन्दा धेरै स्याटेलाइट लो अर्थ अर्बिटमा पुर्याउने योजना सार्वजनिक गरेको छ । स्याटेलाइट प्रविधिमा यो व्यावसायिक प्रतिस्पर्धासँगै जासुसी प्रयोजनका लागि पनि यस्ता प्रविधि बनाउने र सञ्चालनमा ल्याउने होडबाजी छ ।
रियल टाइम डेटा पठाउने सैन्य स्याटेलाइट
विभिन्न देशले सैन्य गतिविधि, प्राकृतिक प्रकोप र एक–अर्काका अन्तरिक्ष अभियानहरूमा निगरानी राख्नसमेत स्पाई स्याटेलाइटहरू प्रयोग गर्ने गरेका छन् । यसमा अमेरिका, चीन र रुस विशेष रूपमा लागिपरेका छन् । अमेरिकाको एनआरओले विगत चार दशकदेखि किहोल क्लास (केएच) शृंखलाका ‘केनन’ र ‘क्रिस्टल’ भनिने जासुसी स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा राखेको छ । अन्तरिक्ष अभियानसम्बन्धी सूचना दिने गन्टर्स स्पेस पेजमा भएको विवरण अनुसार, यी स्याटेलाइटले रियल टाइम अप्टिकल अब्जर्भेसन सुविधा प्रदान गर्छन् । हाल अन्तरिक्षमा रहेको केएच–११ स्याटेलाइटले खिच्ने डिजिटल तस्बिरको रिजोलुसन ५ देखि ६ इन्चसम्म सूक्ष्म हुने भएकाले अन्तरिक्षबाटै पृथ्वीमा गुडेका मोटरसाइकलको नम्बर प्लेट पढ्न सकिन्छ ।
अमेरिकी एयर फोर्सको राष्ट्रिय संग्रहालयमा रहेको केएच–७ रिकनिसन्स स्याटेलाइट
पछिल्ला दिनमा जासुसी क्रियाकलापका लागि स्याटेलाइटको प्रयोग गर्ने देशहरू बढ्दै गएका छन् । शीतयुद्धताका अमेरिका र सोभियत संघमा सीमित यो होड त्यसयता दर्जनौं देशमा पुगिसकेको छ । अहिले अमेरिकाका झन्डै साढे २ सय, चीनका १५७, रुसका ११०, फ्रान्सका १७, इजरायलका १२, इटालीका १०, भारतका ९, जर्मनीका ८ गरी विभिन्न देशका सैन्य स्याटेलाइटहरूले पृथ्वीको परिक्रमा गरिरहेका छन् । विभिन्न देशको जासुसी गर्न र गोप्य सूचना जम्मा गर्नुका साथै सैन्य लक्ष्यको जानकारी, एकआपसको सञ्चार र पूर्वचेतावनी दिने कार्यमा यस्ता भूउपग्रह प्रयोग हुने गरेका छन् ।
शीत युद्धकालीन युगमा अमेरिकी ‘कोरोना कार्यक्रम’ का स्पाई वा रिकनिसन्स स्याटेलाइटहरूले खिचेका तस्बिरको रिल पृथ्वीमा फर्काएर त्यसलाई धुलाएपछि मात्रै चित्र विश्लेषण गर्न सकिन्थ्यो । अहिलेका स्याटेलाइटले जस्तोसुकै मौसम र कुनै पनि समयको उच्च–रिजोलुसनका डिजिटल तस्बिर तथा भिडियो तुरुन्ताका तुरुन्तै पठाउन सक्छन् । डेटा सुरक्षा बलियो बनाउन यसरी पठाइने सन्देशहरू लेजर प्रविधिमार्फत आदानप्रदान हुन्छन् । अमेरिकाले प्रयोग गरेका पहिलेका स्याटेलाइटले तस्बिर नभई रेडियो फ्रिक्वेन्सी सिग्नलबाट सोभियत सैनिकका राडारबारे सूचना पठाउने गरेकोबारे डग रिचार्डसनले युरोपियन सेक्युरिटी एन्ड डिफेन्सको एक लेखमा उल्लेख गरेका छन् ।
स्पाई स्याटेलाइटहरूमध्ये कतिपय साह्रै महँगा र खर्चालु हुन्छन् । अमेरिकाको केएच–११ केन्नन भनिने अत्याधुनिक स्याटेलाइट एउटैको मूल्य एक अर्ब अमेरिकी डलरसम्म पर्ने बताइन्छ । जीपीएस र डीएसपी (डिफेन्स सपोर्ट प्रोग्रोम) स्याटेलाइटको निर्माणमा झन्डै आधा अर्ब अमेरिकी डलर आसपास लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । अमेरिकाकै स्पेस फोर्सले सञ्चालन गर्ने एड्भान्स्ड एक्स्ट्रिम्ली हाई फ्रिक्वेन्सी (एईएचएफ) स्याटेलाइटको निर्माणमा डेढ अर्ब अमेरिकी डलरसम्म खर्च हुने गरेको तथ्यांक छ ।
पछिल्ला दशकमा हुने युद्ध र द्वन्द्वका घटनमा धेरैजसो देश स्याटेलाइट प्रविधिमा भर पर्ने गरेका छन् । यसको जल्दोबल्दो उदाहरण रुस–युक्रेन युद्ध हो । एआईसमेत अत्याधुनिक प्रविधिको व्यापक प्रयोग भएको यो युद्धमा युक्रेनी पक्षले अमेरिकासँगै स्टारलिंक, फिनल्यान्डको आईसीईवाईजस्ता कम्पनीका स्याटेलाइट सञ्चार सुविधा, जानकारी र गोप्य सूचनाको भरमा आफ्नो प्रतिरक्षा गरेको थियो । रुसी पक्षले पनि सैन्य स्याटेलाइटहरूको व्यापक प्रयोग गरेको थियो । यस्तै, इजरायल–हमास युद्धमा इजरायलले स्याटेलाइट प्रविधि प्रयोग गरेको छ । अजरबैजान, सिरिया, यमनमा भएका द्वन्द्वमा पनि सैन्य र जासुसी स्याटेलाइटहरूको व्यापक प्रयोग भएको अमेरिकी रक्षा मन्त्रालयका प्रतिवेदनहरूमा उल्लेख छ ।
स्पाई स्याटेलाइटको सुरुवात
तत्कालीन सोभियत संघले शीतयुद्ध र आणविक हतियारको तनाव उत्कर्षमा पुगेका बेला विश्वमै पहिलो स्याटेलाइट परीक्षण गर्न सफल भएको थियो । आफ्नो पुस्तक ‘स्पटनिक ः द शक अफ द सेन्चुरी’ मा अमेरिकी लेखक पल डिक्सनले सोभियतहरूको स्याटेलाइट सफलतालाई ‘अमेरिकी मनोविज्ञानमाथिको एक गम्भीर प्रहार र आत्मविश्वास माथिको गतिलो धक्का’ का रूपमा व्याख्या गरेका छन् ।
स्पटनिकको सफलतामा वासिङ्टन डीसीस्थित सोभियत राजदूतमा भव्य पार्टी दिइएको थियो । त्यस घटनाबारे टाइम पत्रिकाले यस्तो लेखेको थियो, ‘बिच बलजत्रो आकार भएको एक रंगीन धातुको डल्लो आँखाले देख्न नसकिने गरी पृथ्वीका सबै महादेश र समुद्रहरू पार गर्दै अघिल्लो साता धर्तीको सतहबाट ९०० किलोमिटर माथि पुग्न सफल भएको छ । यो झन्डै २९ किमि प्रतिघण्टाको गतिले पृथ्वी घुम्दै गर्दा मानव इतिहासमा एक नयाँ अध्याय सुरु भएको छ भन्नेमा अमेरिका पूर्ण रूपमा बेखबर देखियो । सोभियतको यो सफलताले प्राकृतिक वातावरण क्षेत्रमा मान्छेको खोजीमा एक महत्त्वपूर्ण अध्याय त थपेको छ नै, शीतयुद्धमा पनि एक गम्भीर नयाँ मोड ल्याएको छ ।’
सन् १९६० को दशकमा अन्तरिक्षको दौड कतिसम्म तातिएको थियो भने नासाले सन् १९६६ मा संघीय सरकारको कुल बजेटको झन्डै साढे चार प्रतिशत र सोभियत संघले लगभग ३० अर्ब अमेरिकी डलर खर्च गरेका थिए । यही दशकमा पहिलो मौसम र सञ्चारसम्बन्धी स्याटेलाइटहरू प्रक्षेपण भए । अन्तरिक्षमा जीवनको खोजी वा विज्ञान प्रविधिको उन्नतिभन्दा पनि स्याटेलाइट र अन्तरिक्ष प्रविधिमा गरिएको लगानीको खास उद्देश्य सैन्य क्षमता र आफ्ना प्रतिस्पर्धीहरूमाथि अब्बलता देखाउनमा केन्द्रित थियो । यसरी विकास भएका कतिपय प्रविधि त्यसपछिका युद्धमा प्रयोगसमेत भए ।
उदाहरणका लागि ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) को विकास नै सोभियत स्याटेलाइटहरू अन्तरिक्षमा कहाँ छन् भनेर ट्र्याक गर्न भएको थियो । अमेरिकी रक्षा मन्त्रालयले सैन्य प्रयोजनका लागि यो प्रोजेक्ट सुरु गरेको थियो । सन् १९७० को दशकको अन्त्यतिर बिस्तारै अन्तरिक्षमा भएका वस्तुहरू मात्रै नभएर स्याटेलाइटमार्फत धर्तीमा भएका वस्तुहरूलाई पनि ट्र्याक गर्न सकिने प्रणालीका रूपमा जीपीएसलाई विकसित गरियो । सन् १९८३ मा अमेरिकी सिनेटर ल्यारी म्याकडोनाल्ड सवार कोरियन एयरको जहाजलाई सोभियतहरूले खसालिदिएपछि तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले जीपीएस प्रणाली सर्वसाधारणलाई पनि प्रयोग गर्न अनुमति दिने निर्णय गरेका थिए ।
सन् ६० को दशकमा मौसम र सञ्चारबाट सैन्य हुँदै स्याटेलाइट प्रविधि व्यावसायिक प्रयोजनका लागि प्रयोग हुन थाले । सन् ८० को दशकमा युरोपले पनि व्यावसायिक स्याटेलाइट विकासमा प्रवेश गर्यो । सन् २००० तिर आइपुग्दा पृथ्वीलाई घुमेर हेर्ने स्याटेलाइटहरू बनेका थिए भने अहिले स्पेस एक्सलगायत निजी कम्पनीको प्रवेशले यो दौडलाई अझै उत्कर्षमा पुर्याउने गरी व्यावसायिकीकरण गरेको छ । हामीले दैनिक जीवनमा प्रयोग गर्ने दर्जनौं वस्तु तथा सेवाको आविष्कार अन्तरिक्ष प्रयोजनका लागि भएका थिए । पानी प्रशोधन गर्ने फिल्टर, ताररहित डिभाइस, डिजिटल इमेजिङ प्रविधि, मेमोरी फम अर्थात् म्याट्रेस, सौर्य ऊर्जाका साधन, आगो निभाउने कतिपय प्रविधि, नक्कली हातखुट्टाजस्ता अंगहरू, इन्सुलिन पम्प, धूलो सोस्ने मेसिनजस्ता दर्जनौं प्रविधि पहिले अन्तरिक्षयात्री र स्याटेलाइटका लागि सोचेर पछि बिस्तारै सर्वसाधारणका लागि प्रयोग हुन सुरु भएका हुन् ।
अहिलेसम्म धेरै स्याटेलाइट प्रक्षेपण गर्नेहरूमा अमेरिका, रुस, चीन, जापान, फ्रान्स, बेलायत, युरोपेली संघ, लक्जेम्बर्गलगायत छन् । अमेरिकाले स्पेस एक्सको झन्डै ७ हजार १ सय स्याटेलाइटसँगै ११ हजार ६ सय ५५ वटा स्याटेलाइट प्रक्षेपण गरिसकेको छ । स्पेससम्बन्धी विषयको रेकर्ड राख्ने वेबसाइट ‘किप ट्र्याक’ का अनुसार, दोस्रो स्थानमा रहेको रुसले ७१८७ (सोभियत युगको समेत जोडेर), चीनले ५३३०, बेलायतले ७३५, फ्रान्सले ६०४, जर्मनीले ८०, युरोपेली स्पेस एजेन्सीले १०२ र युरोपेली संघले ३१ वटा स्याटेलाइट प्रक्षेपण गरिसकेका छन् । यस्तै, जापानले २९४, भारतले २१८, दक्षिण कोरियाले ४८, क्यानडाले १०५, अस्ट्रेलियाले ४४, इजरायलले ४०, न्युजिल्यान्डले ३८, लक्जेम्बर्गले ६८, स्पेनले ३५, ब्राजिलले ३१ र इटालीले ५७ वटा स्याटेलाइटहरू पृथ्वीको वरिपरि पठाएका छन् । हालसम्म विश्वका ७० भन्दा बढी देशले विभिन्न सरकारी र निजी प्रविधिको सहयोगले आफ्नै स्याटेलाइट प्रक्षेपण गरिसकेका छन् ।
सन् १९७३ मा १ हजा ९ सय ९० वटा भूउपग्रह पृथ्वीको कक्षमा छोडिएकोमा त्यसयता एकनासले बढ्दै गएको देख्न सकिन्छ । अहिले नासा र स्पेस एक्ससँगै वानवेब स्याटेलाइट, प्लानेट ल्याब्स, चिनियाँ रक्षा मन्त्रालय, रुसी रक्षा मन्त्रालय, अमेरिकी हवाई सेनासमेत दर्जनौं निजी कम्पनीका स्याटेलाइटले पृथ्वीको चक्कर लगाइरहेका छन् । यस्ता भूउपग्रहमध्ये झन्डै ६० प्रतिशतभन्दा बढी विभिन्न सञ्चारसम्बन्धी प्रयोजनका, पृथ्वीको अवलोकन गर्ने २२ प्रतिशत, प्रविधि विकाससम्बन्धी ८ प्रतिशत, ग्लोबल पोजिसनिङसम्बन्धी ४ प्रतिशत छन् भने अन्तरिक्ष प्रविधिका विविध पक्ष र व्यावसायिक प्रयोजनका स्याटेलाइट पनि उल्लेख्य रहेका देखिन्छन् ।
स्याटेलाइटको प्रयोग अहिले रक्षा, सञ्चारसँगै मौसम पूर्वानुमान र विज्ञानका कतिपय जटिल र महत्त्वपूर्ण सोध अनुसन्धानमा पनि भइरहेको छ । वातावरणीय प्रविधिको विकाससँगै हिमनदी र हिमालहरूको आकार, वन डढेलो, समुद्रसम्बन्धी विषयहरूको रेखदेखमा पनि स्याटेलाइटहरू प्रभावकारी हुँदै आएका छन् । सामुद्रिक आँधी, भूकम्प, ज्वालामुखी, वर्षात्को क्षेत्र र दरजस्ता प्राकृतिक विपद्सम्बन्धी विषयको सम्बोधन मात्रै नभएर कृषिसम्बन्धी नयाँ प्रणालीको विकास र अन्वेषण, अपरिचित ठाउँमा बाटो पत्ता लगाउने र पूर्वचेतावनी दिन पनि स्याटेलाइटहरू प्रभावकारी सिद्ध भएका छन् ।
स्पेस जंकले निम्त्याउने जोखिम
यी सबै सकारात्मक पक्षबीच स्याटेलाइटले पृथ्वी, वातावरण र अन्तरिक्षमा जोखिम पनि थपेका छन् । सन् १९७८ मा सोभियत संघको कसमस ९५४ नामक स्याटेलाइट पृथ्वीमा फर्केर क्यानडाको उत्तरी भेगसम्म रेडियोएक्टिभ टुक्राटाक्री छरिन पुगेका थिए । सन् १९७९ को स्काइल्याब, १९९७ को डेल्टा टु र चीनमा २००२ को रिसोर्स सेकेन्डजस्ता स्याटेलाइट दुर्घटनाका कारण मानवबस्तीमा क्षति पुगेको थियो । सन् २००९ मा इरिडियम ३३ र कसमस २२५१ स्याटेलाइट आपसमा ठोक्किएको घटनालाई नासाले सबैभन्दा भयावह दुर्घटना मानेको छ ।
त्यो ठक्करले उत्पन्न भएका करिब १० सेन्टिमिटर वा त्योभन्दा ठूला १८०० भन्दा बढी टुक्रामध्ये आधा पाँच वर्षभित्र पुनः वायुमण्डलमा प्रवेश गर्ने नासाले जनाएको छ । सन् २००९ कै अक्टोबरसम्ममा करिब ६० वटा टुक्राहरू वायुमण्डलमा प्रवेश गरिसकेका थिए । तीमध्ये कतिपय टुक्राहरू यो शताब्दीको अन्त्यसम्म पृथ्वीको कक्षमा रहनेछन् । यस्ता दुर्घटनाहरू पछिल्ला प्रविधिले कम गरेको भए पनि पृथ्वीको कक्ष अहिले चालु, बिग्रेका र यत्तिकै छोडिएका स्याटेलाइट र अन्तरिक्ष यानका टुक्राटाक्रीले भरिएको छ । स्पेस इन्भाइरोमेन्ट स्टाटिस्टिक्सका अनुसार अहिले पृथ्वीको कक्षमा १० सेमीभन्दा ठूला ४० हजार ५ सय र १ देखि १० सेमी आकारका झन्डै ११ लाख टुक्राटाक्रीहरू पृथ्वीको तल्लो कक्षमा घुमिरहेका छन् ।
कतिपय ठूला टुक्राहरू सजिलै ट्र्याक गर्न सकिने भए पनि साना र द्रुत गतिमा उड्ने टुक्राले अन्य अत्यावश्यक स्याटेलाइट र ठूला अन्तरिक्ष मिसनमा क्षति पुर्याउने जोखिम रहन्छ । ‘स्पेस जंक’ भनिने यी टुक्राटाक्री वैज्ञानिकहरूका लागि चिन्ताको विषय बन्दै गएका छन् । बर्सेनि हजारौं संख्यामा थपिने स्याटेलाइटले यस्ता स्पेस जंक अझै बढाउने र वातावरणीय प्रभावसमेत पार्न सक्ने उनीहरूको चिन्ता छ । अन्तरिक्षसम्बन्धी जानकारहरू यही गति कायम रहे यस्तै जंकहरूले एकपछि अर्को स्याटेलाइटसँग ठोक्किएर अन्तरिक्ष गतिविधि असम्भव बनाइदिने ‘केस्लर सिन्ड्रम’ जस्तो परिस्थिति निम्त्याउने चेतावनी दिइरहेका छन् । एक्टिभ डेब्री रिमुभल (एडीआर) र लेजरमार्फत स्पेसमा भएका फोहोरलाई हटाउनेजस्ता विकल्पलाई कडाइका साथ लागू गर्ने विकल्प भने छ ।
अन्तरिक्षको फोहोरबारे सांकेतिक चित्र
स्याटेलाइटको होड र दिन प्रतिदिन यो प्रविधिमा बढ्दो निर्भरताको अर्को जोखिम भनेको ठूला देशहरूबीच सम्भावित स्याटेलाइट युद्ध पनि हो । रुसले सन् २०२१ मा एन्टाई–स्याटेलाइट विपन्स अर्थात् एएसएटी भनिने प्रविधिको परीक्षण गर्दा एउटै स्याटेलाइटबाट १५०० वटा ट्र्याक गर्न मिल्ने डेब्री अर्थात् फोहोर निस्किएको थियो । ठूला देशहरूबीच युद्ध भएको खण्डमा पृथ्वीको रणनीतिक स्थानसँगै यी देशहरूले एक–अर्काको स्याटेलाइटमाथि पनि आक्रमण गरेर नष्ट गर्ने प्रयास गर्न सक्ने भएकाले त्यसको परिणाम अकल्पनीय हुने सहजै अनुमान लगाउन सकिन्छ ।
एएसएटीसँगै स्याटेलाइटलाई अर्को स्याटेलाइट ठोकाएर नष्ट गर्ने काइनेटिक किल भेहिकल्स, लेजर प्रविधिबाट स्याटेलाइट नै काम नलाग्ने बनाउने प्रविधि, स्याटेलाइटका सिग्नल र नेटवर्क जाम गर्ने विकल्पका साथै साइबर आक्रमणमार्फत स्याटेलाइटलाई काम नलाग्ने बनाउने होडबाजीले ल्याउने जोखिम पनि विद्यमान छ । अमेरिका, चीन र रुसजस्ता प्रमुख देशहरूसँग आफ्ना स्याटेलाइटको रक्षा र अरूको स्याटेलाइटमा आक्रमण गर्ने विकल्प निर्माण गरिसकेका छन् । अमेरिकाले ट्रम्पको अघिल्लो कार्यकालमै स्पेस फोर्स नामक छुट्टै निकाय गठन गरेर यस्ता चुनौतीसँग लड्ने तयारी पनि सुरु गरिसकेको छ । यी सबै चरम जोखिमका बीच नपि–स्याटेलाइट प्रविधि मानव जीवनको एक अभिन्न अंग बनिसकेका छन्, यिनको उपयोगिता दिन प्रतिदिन बढ्दो छ । सन् २०१९ मा निजी तवरले अन्तरिक्षमा पठाइएको नेपालीस्याट–१ मार्फत नेपालले केही समयका लागि सांकेतिक रूपमा अन्तरिक्षमा आफ्नो उपस्थिति जनाएको भए पनि नेपालजस्ता देशहरू अत्यधिक खर्च, पूर्वाधार र प्रविधिसँगै जनशक्तिको अभावका कारण अन्य देशका स्याटेलाइटमा निर्भर रहँदै आएका छन् । रक्षा र जासुसी निगरानीमा स्याटेलाइटको बढ्दो उपस्थिति र स्पेस जंकको जोखिमका बाबजुद विभिन्न देशहरू आफ्नै स्याटेलाइट प्रविधि हासिल गर्न लालायित छन् । नेपाल पनि त्यसबाट अछूतो छैन ।
वैज्ञानिक नील डिग्रास टाइसनको पुस्तक ‘स्टारटक’ ।
प्रख्यात अमेरिकी वैज्ञानिक एवं लेखक नील डेग्रास टाइसनले आफ्नो पुस्तक ‘स्टारटक’ मा स्याटेलाइटहरू आधुनिक विश्वका गुपचुप कवचजस्ता बन्दै गएको र यिनले महत्त्वपूर्ण सञ्चार तथा तथ्यांक उपलब्ध गराए पनि वैज्ञानिक उन्नतिको चर्चा गर्दा यसलाई छुटाउने प्रसंग उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘स्याटेलाइटहरू प्रक्षेपण गर्ने होडले नवीनतम सोच र अन्वेषणलाई अत्यधिक बढाएको सत्य हो । तर त्योसँगै पृथ्वीको कक्षलाई भिडमभीड र जोखिमपूर्ण बनाउँदै लगेको पनि उत्तिकै सत्य हो ।’
नीलले जोड दिँदै आएको अन्तरिक्षको फोहोर कम गर्ने, अन्तर्राष्ट्रिय समन्वय बढाउने र अन्तरिक्षको ट्राफिक व्यवस्थापन गर्ने सुझावमा सबै सहमत हुनुपर्ने बेला आइसकेको छ ।
(एजेन्सीको सहयोगमा)
