

जनकपुरधाम ।
मोडेल खबरका सम्पादक सुजीतकुमार झाद्वारा लिखित ‘खुशी’ पुस्तकको अडियो बुक एक समारोहकाबीच लोकार्पण गरिएको छ । सम्पादक झाले जनकपुरधाममा शिक्षा क्षेत्रमा नाम कमाएका तथा मोडल कलेजका संस्थापक वीरेन्द्र कुमार साहको जीवनी तथा उहाँका संघर्षका कथाहरुलाई समेटेर लेखेको पुस्तक ‘खुशी’को बुधबार एक समारोहकाबीच लोकार्पण गरिएको हो ।
अडियो बुकको लोकार्पण मोडेल खबरका सल्लाहकार एवं अर्थशास्त्री प्राध्यापक डा. सुरेन्द्र लाभले गरे । अडियो बुकको लोकार्पण गर्दै डा. लाभले पठन संस्कृतिको ह्रास आई रहेको समयमा अडियो बुक लिएर आउनु लेखकालागि सफलताको विषय रहेको बताए । उनले यो अडियो बुकको माध्यमले जनकपुरधामका एक हिम्मतिला तथा साहसी व्यक्तिको मात्र नभई यसले कुनै लक्ष्य प्राप्तीकालागि आँट प्रदान गर्ने विश्वास व्यक्ति गरे । यसका साथै उनले जनकपुरधाम खुशी पुस्तकको नायक जस्ता हस्तीकै कारण यो नगरको अस्तित्व अहिलेसम्म सुरक्षित रहेको बताए ।

बरिष्ठ साहित्यकार डा. रेवतीरमण लालले जनकपुरधामलाई बनाउन र जनकपुरधामका विशिष्ट व्यक्तित्वहरुको जीवनी आउनु एक किसिमको इतिहास निर्माण गर्ने काम रहेको बताए । उनले यस्ता कृतिहरुले समाजका हरेक तप्काका व्यक्तिलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । साहित्यकार लालले खुशी पुस्तकका लेखक सुजीतकुमार झाले मैथिली साहित्यमा पुर्याई रहेको योगदानका विषयमा समेत चर्चा गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवले जस्तोसुकै कमजोर स्थितिमा रहेपनि लक्ष्य हाशिल गर्न सकिने, संघर्ष गर्दै कसरी अगाडी बढ्ने र कठीन परस्थितिमा पनि आफ्नो अनुकुल वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषय वस्तु खुशी पुस्तकमा समेटिएकाले समाजकालागि उपयोगी पुस्तक साबित हुने बताए । यसका साथै प्रदेशसभा सदस्य यादवले युवाहरुलाई शिक्षा बिना खुशी प्राप्त गर्न नसकिने भएकाले शिक्षकको सम्मान गर्न समेत आग्रह गरे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका खुशी पुस्तकका मुख्य पात्र वीरेन्द्र साहले सपना देख्ने अधिकार सबैको रहेको बताए । सपना देखेर लक्ष्य निर्धारण गर्नु र सो लक्ष्य पूर्तीकालागि समर्पित भावले लाग्नु नै सफलताको मन्त्र रहेको बताए । आफूले जनकपुरधामको शिक्षा क्षेत्रलाई बनाउन गरेको संघर्ष समाजका हरेक व्यक्तिले जानुन बुझुन देखाउनकै लागि खुशी पुस्तक प्रकाशित गरिएको र सोको अडियो बुक समेत निकालिएको बताए । उनले आफ्नो जीवनमा भोगेका भोगाइहरु समेत साझा गरेका थिए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाशचन्द्र साहले एक विद्वानको विचारलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै गरिबीमा जन्मिनु अपराध नरहेको बरु गरिबीमै मर्नु भूल रहेको बताए । उनले विभिन्न बाधा अडचनका बावजुद आफ्नो लक्ष्य प्राप्तिकालागि नडगमगिनु नै खुशी तर्फको खुडकिला रहेको बताए । उनले खुशी पुस्तक र सो को अडियो बुकले यही प्रेरणा अन्यलाई समेत दिने विश्वास व्यक्त गरे ।
मिनापका पूर्व अध्यक्ष सुनिल मल्लिकले खुशी पुस्तकले एउटा बहादुरको कथा भनिरहेको छ, खुशी पुस्तककले बहादुरको इतिहास लेखेको बताए । उनले मोडेल कलेजका संस्थापक वीरेन्द्र साहले जसरी आफ्नो सफलताका यात्रा तय गर्नुभयो र त्यसलाई लेखक सुजीतजीले आफ्नो शब्दहरु दिएर जसरी खुशी नामक पुस्तकको आकार दिनु भयो यसकालागि दूबैजना बधाईको पात्र रहेको बताए ।
नेपाली कांग्रेसका युवा नेता मनोज चौधरीले वर्तमान समयमा युवाहरुमा कठिन परस्थितिको सामना गर्ने क्षमताको अभाव रहेको बताउँदै खुशी पुस्तक र खुशी पुस्तकका पात्र वीरेन्द्र साहको जीवनले पक्कै कठिन परस्थितिमा कसरी अगाडी बढ्दै जाने हो भन्ने शिक्षा दिने बताए ।
राष्ट्रिय मुक्ति पार्टीका नेता संजय चौधरीले कुनै सफल व्यक्तिको संघर्षका दिनहरुलाई जोडेर सफलताको कथा लेख्नु सामान्य विषय नरहेको बताउँदै पत्रकार एवं लेखक सुजीतजी यो पुस्तक लेखेर मैथिली साहित्यमा गुण त लगाउनु नै भएको छ यसका साथै युवा पुस्ताकालागि ठूलो उपहार दिनु भएको छ बताए ।

एमाले नेता संतोष यादवले खुशी पुस्तकका मुख्य पात्र वीरेन्द्र साहका संघर्षका दिनहरुलाई स्मरण गरे । उनले उनको यो संघर्षका कथाहरु पुस्तकको माध्यमले आउनु र अडियो बुकको माध्यमले आउनु युवा पुस्तालाई प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्णले मैथिलीमा अडियो पुस्तक आउनु मैथिली साहित्यकालागि सुखद संकेत रहेको बताए । पछिल्लो समय प्रविधिको विकास भईरहेको समयमा मैथिली साहित्यलाई समेत प्रविधिसंगै जोडेर अगाडी बढाउन तर्फ जोड दिए ।
कार्यक्रममा मोडेलखबरका सम्पादक एवं खुशी पुस्तकका लेखक सुजीत कुमार झाले स्वागत मन्तव्य राख्नुका साथै यो पुस्तकको नायकको रुपमा वीरेन्द्र साहलाई छनौट गर्नु पछाडीको कारण र अडियो बुक निकाल्नु पछाडीको पृष्ठभूमिको विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा राससका जनकपुरधाम प्रमुख सुरेश झा, संचारकर्मी कमल साह लगायतले मन्तव्य राखेका थिए । पत्रकार झाको पुस्तक ‘खुशी’ १७ औं कृति हो । यस अघि विभिन्न विधामा उनको १६ वटा कृति प्रकाशित भई सकेको छ ।

