

काठमाडौँ ।
राजावादीले १५ चैतमा तीनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका रामचन्द्र बुढाथोकी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा छन् । उनको दाहिने हातमा लागेको गोलीको छर्रा चिकित्सकले अपरेसन गरेर निकालिसकेका छन् तर घाउ पाकेपछि थप उपचार हुँदै छ । मालवाहक बोलेरो गाडी चलाएर परिवारको भरथेग गर्ने रामचन्द्र नै अस्पताल भर्ना भएपछि पत्नी सावित्रा अस्पतालको खर्चसमेत कसरी जुटाउने भन्ने पिरलोमा छिन् ।
नियमित पैसा तिरे मात्र अस्पतालमा औषधि र उपचार पाउने गरेको सावित्राले सुनाइन् । ‘सरकारले निःशुल्क उपचार हुन्छ भनेको त छ रे, बिलअनुसार पैसा फिर्ता हुने रे,’ उनले भनिन्, ‘हामी त दिनभरि कमाएर बेलुका खाने मान्छे । अहिले बिल तिर्ने नै पैसा छैन ।’ श्रीमान्लाई खाना/नास्ताका लागि पनि किराना पसलबाट उधारोमा सामान ल्याउने गरेको उनले बताइन् ।
दोलखा कालिञ्चोक गाउँपालिकाबाट आएर रामचन्द्रले १८ वर्षदेखि काठमाडौंमा गाडी चलाउँदै आएका थिए । १५ चैतमा पनि कमल विनायकसम्म सामान लगेबापत १२ सय रुपैयाँ कमाएर फर्केका थिए । गाडी पार्क गरेर कोठा फर्कने क्रममा आफूलाई गोली लागेको उनको भनाइ छ । ‘प्रहरी र प्रदर्शनकारीको भीडका कारण गाडी अलि भित्र राख्दा सुरक्षित हुन्छ भन्ने लागेर एसओएस स्कुलपछाडि राखें,’ रामचन्द्रले भने, ‘४ बज्न लाग्दै थियो । भाटभटेनीतिर ढुंगामुढा हुँदै थियो ।
नजिकै गाडी पनि जलाउँदै थिए । यहाँ बस्नु ठीक छैन जस्तो लागेर कोटेश्वरमै रहेको कोठातर्फ हिँडे । त्यही बेला मलाई गोली लाग्यो ।’ रामचन्द्रलाई कोठा भाडा कसरी तिर्ने, गाडीको किस्ता कसरी बुझाउने अनि छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता छ । उनका तीन छोरी र एक छोरा छन् । ‘मेरो हातले पहिले जसरी काम पनि गर्दैन होला । कति समय गाडी चलाउन नमिल्ने हो ?’ रामचन्द्रले भने, ‘मेरो त परिवारकै बिचल्ली हुने भयो ।’ राज्यले भनेको अहिले पैसा लिए पनि बिरामीको उपचार खर्च पछि फिर्ता हुने व्यवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ । काठमाडौं मेडिकल कलेजमै उपचार खर्च तिर्न नसकेपछि स्याङ्जाका सुमन गुरुङ अस्पतालबाट भागेका थिए । उनलाई १५ चैतकै प्रदर्शनमा देब्रे गाला र देब्रे कानमा रबरको गोलीको छर्रा लागेको थियो । उनी चौथो दिन अस्पतालबाट भागेका थिए ।
जडीबुटी चोकमा विवश र रामहरि (रिदम) श्रेष्ठ दाजुभाइको नमस्कार इन्टरप्राइजेज नामको मोबाइल पसल छ । त्यही पसल बन्द गरेर १५ चैतमा घर फर्कने क्रममा रामहरिलाई प्रहरीको गोली लाग्यो । अहिले उनी बीएन्डबी अस्पतालमा उपचार गराइरहेका छन् ।
