Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्रम्प ‘सांस्कृतिक क्रान्ति’मा लाग्दा चीनले देखेको अवसर





♦ मार्टिन वुल्फ

गत दुई सातामा मैले बेइजिङ र हङकङको भ्रमण गरेँ। यो भ्रमणले के स्पष्ट पार्‍यो भने आजको संसारमा अमेरिका क्रान्तिकारी– अझ भन्दा प्रतिक्रियावादी शक्ति हो भने कम्युनिस्ट भनिने चीन चाहिँ यथास्थितिवादी शक्ति हो। यस हिसाबले ईयू र चीनबीच थुप्रै समानता छन्। ईयू त्यति उदासीन छैन।

आफ्नो आर्थिक र सुरक्षा चुनौतीप्रति सचेत युरोपका सम्भ्रान्तहरूलाई थाहा छ, उनीहरूले धेरैथोक बदल्नुपर्ने छ। तर, उनीहरू विद्यमान व्यवस्थालाई अत्यधिक माया गर्छन्, जसलाई ध्वस्त पारेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटा अराजक संसार सिर्जना गर्ने कोसिस गरिरहेका छन्।

चीनजस्तो विशाल मुलुकको छोटो भ्रमण गरेर कुनै स्पष्ट निष्कर्ष निकाल्न खोज्नु सोझै मूर्खतापूर्ण होइन भने पनि असाध्यै मुस्किल काम हो। तैपनि, कोभिडका समयमा बाहेक मैले १९९३ देखि वर्षमा कम्तीमा एकपटक चीनको भ्रमण गरेको छु। र, मैले सो मुलुकको अर्थतन्त्रको विकासक्रमलाई निकटबाट पछ्याएको छु। साथै, चीनका पश्चिम–शिक्षित नीतिनिर्माताहरूमध्ये कयौँलाई साथी बनाएको छु।

चीनको उदय मेरो जीवनकालको सबैभन्दा ठूलो राजनीतिक र आर्थिक कथा हो। त्यसैले पनि मुस्किल होस् कि नहोस्, चीनमा ट्रम्पको र संसारमा चीनको प्रभाव के हुन्छ, बुझ्ने कोसिस गर्नै पर्छ।

त्यसैले चीनमा मैले जे थाहा पाएँ, त्यो यहाँ राख्दै छु।

पहिलो, चीनमा मसँग कुरा गर्नेहरूले आज अमेरिकामा देखेको उथलपुथलको तुलना ६० वर्षपहिले चीनमै भएको सांस्कृतिक क्रान्तिसँग गरे। त्यतिबेला माओ चेतुङले चीनको नोकरसाही र सम्भ्रान्तहरूविरुद्ध युद्ध सुरु गर्न विद्रोही नेताको आफ्नो छवि उपयोग गरेका थिए। ट्रम्पले पनि आज अमेरिकाका नोकरसाह र सांस्कृतिक सम्भ्रान्तहरूलाई पराजित गर्न विद्रोही आन्दोलनको निर्वाचित नेताको छवि उपयोग गरिरहेका छन्। चीनका सबैभन्दा कम उमेरका नेताहरू सांस्कृतिक क्रान्तिलाई फिटिक्कै मन पराउँदैनन्। त्यसैले उनीहरूलाई ट्रम्पको क्रान्ति पनि मन पर्दैन।

दोस्रो, १९८० र १९९० को दशकमा चीनका थुप्रै मान्छे देशबाट निस्केर पश्चिमका सम्भ्रान्त विश्वविद्यालयहरूबाट दीक्षित भए। उनीहरूमध्ये थुप्रैले अमेरिकामा देखेको मूल्यमान्यताको प्रशंसा गरे र ती मूल्यमान्यता आफ्नै देशमा अपनाइने आशा पनि राखे। कानुनी शासन, व्यक्तिगत स्वतन्त्रता र आधुनिक विज्ञानलाई उनीहरूले सराहनीय माने। ती मानिसहरूका लागि आज अमेरिकामा जे भइरहेको छ, त्यो अत्यन्त पीडादायी छ। अमेरिकाले आफ्नै सिद्धान्तलाई धोका दिएकोले उत्पन्न पछुतो चीनमा मात्र सीमित छैन।

तेस्रो, चिनियाँहरूले बुझेका छन्– अमेरिकामा जे भइरहेको छ, त्यसले चीनलाई ठूलो फाइदा गर्छ। ट्रम्पको कुनै भर छैन भन्ने कुरा हरेकलाई अब स्पष्ट भइसकेको छ। क्यानडाको अर्थतन्त्र ध्वस्त पार्न लागिपरेको मान्छे अरु कसैको पनि विश्वासिलो साथी बन्न सक्दैन। त्यसैकारणले चीनलाई रोक्न अमेरिकालाई आवश्यक पर्ने गठबन्धनको स्थिति पनि निकै नाजुक हुने सम्भावना छ। अन्यत्रको कुरा छाडौँ, जापान र दक्षिण कोरियाको हकमा पनि यही लागू हुन्छ।

यस्तो वातावरणमा एसिया प्रशान्त क्षेत्रको सबैभन्दा प्रमुख व्यापारिक शक्ति र उदाउँदो सैन्य शक्ति चीन आफ्नो क्षेत्र मात्र होइन, त्यसभन्दा परसम्म पनि हाबी हुने निश्चित छ। रुसप्रति चिन्तित र अमेरिकाबाट खुलेआम परित्यक्त युरोपले समेत चीनसँग मित्रवत् सम्बन्ध कायम गर्न खोज्ने छ।ट्रम्पको ‘अमेरिका पहिलो’को अर्थ हो, अमेरिका एक्लो।

चौथो, डिपसिकले चिनियाँहरूको आत्मविश्वास ह्वात्तै बढाएको छ। अब अमेरिकाले चीनको उत्थान रोक्न सक्दैन भन्ने विश्वास उनीहरूलाई छ। मेरा एक असल मित्रले बताएअनुसार सी चिनफिङका तीन लक्ष्य छन् ः सत्तामा स्थिरता, उदाउँदो प्रविधि र बढ्दो अर्थतन्त्र। प्रविधिमा उनीहरू केही वर्षअघिको तुलनामा ज्यादा आश्वस्त छन्। यो डिपसिकको मात्रै कुरा होइन। स्वच्छ ऊर्जाको क्षेत्रमा पनि चीनको बर्चस्व छ।

थुप्रैलाई लाग्छ– चीनको जनसंख्या संकटले उसको अर्थतन्त्र ध्वस्त पार्ने पक्का छ। तर, अहिलेको समस्या राम्रो रोजगारी कम हुनु हो, नकि कामदारको कमी। यो मागको समस्या हो, सम्भावित पूर्तिको होइन। लामो समयसम्म यही अवस्था रहने छ। किनकि ग्रामीण क्षेत्रमा अतिरिक्त कामदारको संख्या अत्यधिक छ।

पाँचौँ, मागसम्बन्धी यो समस्या वास्तवमै ठूलो छ। तर, यो समाधान गर्नै नसकिने होइन। चीनमा भएका मेरा छलफलहरूमा मुख्य ध्यान तुलनात्मक रूपमा अल्पकालीन मुद्दाहरूमा केन्द्रित देखिन्छ। उदाहरणका लागि, रियल स्टेट क्षेत्रको कमजोरी, घट्दो घरको मूल्यले परिवारमा पार्ने असर, स्थानीय वित्तीय संस्थाहरूमा यसको प्रभाव र घट्दो खुद्रा मूल्य। यसले १९९० को दशकमा जापानको संकटपछिको अर्थतन्त्र सम्झाउँछ।

तर, यी चक्रीय होइनन्, संरचनागत समस्या हुन्। यसअघि जापान र दक्षिण कोरियामा भएजस्तै चीनको अन्तर्निहित समस्या के हो भने चीनको विशाल बचतलाई उत्पादनमूलक ढंगले लगानी गर्ने क्षमता अहिले नष्ट भएको छ। यसको एउटा प्रमाण वृद्धिशील पुँजी उत्पादन अनुपातमा आएको वृद्धि हो।

आजभोलि चिनियाँ नीति निर्माताहरू ‘उपभोगमा लगानी’ पदावली प्रयोग गर्छन्। यो रोचक अवधारणा हो। तर, देशको मुख्य आवश्यकता भनेको आम्दानीलाई परिवारतर्फ सारेर बचत दर कम गर्नु, सामाजिक सुरक्षा विकास गर्नु र सार्वजनिक उपभोग वृद्धि गर्नु हो।

संक्षेपमा भन्नुपर्दा चिनियाँहरूलाई विश्वास छ– ट्रम्पको हमलाबाट उनीहरू बाँच्न सक्छन्। वास्तवमै थुप्रै चिनियाँहरू मान्छन्– यसले अमेरिकी विश्वसनीयता र अमेरिका सक्षम छ भन्ने धारणालाई नष्ट गरेर चीनलाई नै सहयोग पुर्‍याउन सक्छ। यसको अर्थ, चीनको जित निश्चित छ भन्ने होइन। तर, सामान्यतयाः महाशक्तिहरूको मुख्य चुनौती घरमै हुन्छ, विदेशमा होइन।

(फाइनान्सियल टाइम्सबाट)