

जनकपुरधाम ।
पछिल्ला वर्षमा प्रविधि क्षेत्रअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा लगानी गर्नेहरूको सम्पत्ति र त्यसबाट अर्बपति बन्नेहरूको संख्या विश्वव्यापी रूपमै बढ्दै गएको फोर्ब्सको २०२५ सूचीले देखाएको छ ।
फोर्ब्स बिलिनियर्स लिस्ट भनेर वार्षिक रूपमा सार्वजनिक हुने विश्वकै धनाढ्यहरूको सूचीमा नेपालबाट भने यस पटक पनि विनोद चौधरी एक्लै समावेश छन् ।
पहिलो १० स्थानमा रहेका अर्बपतिमध्ये ७ जना प्रविधि व्यवसाय क्षेत्रका छन् । यसमध्ये एआई क्षेत्रमा लगानी गर्नेहरूलाई यो वर्ष उल्लेख्य रूपमा फलिफाप भएको फोर्ब्सको विश्लेषणमा उल्लेख छ । फोर्ब्सका अनुसार हाल विश्वभर ३ हजार २८ जना अर्बपति छन् । उनीहरूको कुल सम्पत्ति १६.१ ट्रिलियन डलर पुगेको छ । सन् २०२५ मा एआई क्षेत्रबाट ४६ जना अर्बपति बनेको र एआईमा गरिएको लगानीमार्फत उनीहरूको कुल सम्पत्ति ६ सय अर्ब डलर थपिएको छ ।
अन्य कुनै विधामा यति धेरै अर्बपति र यतिका सम्पत्ति नथपिएको फोर्ब्सकी पत्रकार फिबी लिउले ‘एआई बुम बिलिनियर्स’ लेखमा विश्लेषण गरेकी छन् । यस पटक फोर्ब्सको सूचीमा पहिलो नम्बरमा उक्लिएका इलन मस्कदेखि मेटाका प्रमुख मार्क जकरबर्ग, अल्फाबेट (गुगल) का ल्यारी पेज र सर्गे ब्रिन, एनभिडियाका जेनसन हुआङ, ओपेनएआईका साम अल्टम्यानदेखि चिनियाँ स्टार्टअप डिपसिकका लियाङ वेनफेङको सम्पत्ति वृद्धिमा एआईले मुख्य भूमिका खेलेको लिउले उल्लेख गरेकी छन् ।
‘सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएदेखि सुरु भएको एआई क्षेत्रको प्रतिस्पर्धा अहिले द्रुत गतिमा अगाडि बढेको छ, लार्ज ल्यांग्वेज मोडलका नयाँ भर्सन तथा व्यवसायमा एआईको बढ्दो प्रयोगका कारण प्रविधि कम्पनीहरूको बजार मूल्यांकन उकालो लागेको छ भने यसले नयाँ अर्बपतिहरू जन्माइरहेको छ,’ लिउले लेखेकी छन्, ‘सन् २०२१ मा ओपेनएआई छोडेर एन्थ्रोपिक नामक अर्को एआई कम्पनी स्थापना गरेका सात जना पूर्वकर्मचारी अहिले अर्बपति बनेका छन् ।’
हतियार कारोबारसम्बन्धी एआई स्टार्टअप कम्पनी स्थापना गरेर सन् २०२१ मा २४ वर्षकै उमेरमा विश्वकै कान्छा अर्बपति बनेका एलेक्जेन्डर वाङको उदाहरण दिँदै फोर्ब्सले सन् २०२५ मा उनले अमेरिकी रक्षा विभागसँगको सम्झौतामार्फत सूची पुनः प्रवेश गर्न सफल भएको उल्लेख गरेको छ ।
गत वर्ष १९५ अर्ब डलर कुल सम्पत्तिसहित दोस्रो स्थानमा रहेका इलनले यस पटक आफ्नो सम्पत्तिमा १४७ अर्ब डलर थप्दै कुल ३४२ अर्ब डलरसहित फोर्ब्सको सूचीमा पहिलो स्थान हासिल गरेका छन् । स्पेसएक्स वा टेस्लाजस्ता अटोमोटिभ क्षेत्रको प्रतिनिधित्व गरेका भए पनि मस्कलाई उनको एआई कम्पनी एक्सएआईले गत डिसेम्बरमा ६ अर्ब डलर लगानी सुनिश्चित गरिदिएको थियो । उनले एक्सएआईलाई नै हाल आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म एक्स ३३ अर्ब डलरमा सेयर लेनदेन कारोबार (अल–स्टक डिल) मार्फत बेचेका थिए ।
एक्सएआईबाहेक अन्तरिक्षसम्बन्धी उन्नत उपकरण बनाउने स्पेसएक्सबाट पनि मस्कलाई राम्रो आम्दानी भयो । वर्षको सुरुमा टेस्लाले संघर्ष गरे पनि क्रमशः सुधार गर्दै मस्कको सम्पत्ति वृद्धिमा मद्दत गर्यो । ट्रम्प प्रशासनसँगको सम्बन्धका कारण मस्कले संघीय नीतिहरू आफ्नो पक्षमा हुने गरी प्रभाव पारेका कारण उनी थप धनी बनेको देखिन्छ । त्यस्तै ट्रम्पलाई रिझाउन उनको उद्घाटन समारोहलाई चन्दा दिनेदेखि फेसबुकलगायत प्लाटफर्मलाई ट्रम्पको नीतिअनुरूप परिमार्जन गरेका मार्क जकरबर्ग पनि यस पटक फोर्ब्स सूचीमा दोस्रो धनाढ्य बनेका छन् । कुल २१६ अर्ब डलर सम्पत्ति जम्मा गरेका जकरबर्गलाई पनि मेटाको एआई विस्तारले सघाएको छ ।
अमेजनका मालिक जेफ बेजस भने गत वर्ष तेस्रो स्थानमा रहेकामा अहिले यथावत् छन् । तथापि उनको सम्पत्ति भने १० प्रतिशतले बढेर २१५ अर्ब डलर पुगेको छ । चौथो नम्बरमा रहेका ८० वर्षीय ल्यारी एलिसनको कुल सम्पत्ति १९२ अर्ब डलर छ, उनी प्रख्यात सफ्टवेयर निर्माता कम्पनी ‘ओर्याकल’ का सहसंस्थापक एवं प्रविधि प्रमुख हुन् । फोर्ब्सको अर्बपति सूचीमा पाँचौं नम्बरमा रहेका बर्नार्ड अर्नल्ट तथा परिवारको सम्पत्ति भने यस पटक ५५ अर्ब डलर खस्किएको हो । गत वर्ष विश्वका सबैभन्दा धनी व्यक्तिका रूपमा उनको सम्पत्ति सर्वाधिक २३३ अर्ब डलर थियो । सन् २०२१, २०२३ र २०२४ मा उनी पहिलो स्थानमा थिए । अर्नल्ट सन् १९८७ मा स्थापित फ्रान्सेली लक्जरी ब्रान्ड ‘लुई भुतोँ मोई हेनेसी’ का प्रमुख कार्यकारी अधिकृत हुन् ।
पुँजीबजारका चर्चित लगानीकर्ता ९४ वर्षीय वारेन बफेट यस वर्ष ३१ अर्ब डलर सम्पत्ति थपेर कुल १६४ अर्ब डलरसहित छैटौं स्थानमा छन् । गत वर्ष पनि उनी विश्वका छैटौं धनी व्यक्ति थिए । उनलाई मानव इतिहासकै सबैभन्दा सफल लगानीकर्ताका रूपमा लिने गरिएको फोर्ब्सले जनाएको छ । गुगलका संस्थापकद्वय ल्यारी पेज र सेर्गेई ब्रिन क्रमशः सातौं र आठौं स्थानमा छन् । उनीहरूको कुल सम्पत्ति क्रमशः १४४ अर्ब र १३८ अर्ब डलर छ । ल्यारीले सन् २०१९ मै गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको प्रमुख कार्यकारी अधिकृत र ब्रिनले अध्यक्ष पदबाट राजीनामा दिए पनि उनीहरू दुवै बोर्ड सदस्यसँगै प्रमुख सेयरधनी हुन् ।
फेसन तथा रिटेल क्षेत्रको प्रतिनिधित्व गर्ने स्पेनका प्रख्यात कपडा ब्रिकेता अमान्सियो ओर्तेगा फोर्ब्सको सूचीमा नवौं स्थानमा छन् । प्रविधि क्षेत्रबाटै माइक्रोसफ्टका पूर्वप्रमुख कार्यकारी अधिकृत स्टिभ बल्मर दसौं धनी व्यक्तिका रूपमा रहेका छन् । ओर्तेगाको कुल सम्पत्ति यस वर्ष १२४ अर्ब डलर र बलमरको ११८ अर्ब डलर छ । सन् १९८७ देखि फोर्ब्सले यो सूची निकाल्दै आएको र सधैंझैं यस वर्ष पनि अमेरिकामा सबैभन्दा धेरै ९०२ जना अर्बपति रहेको उल्लेख गरेको छ । त्यसपछि हङकङसहित चीनमा ५१६ र तेस्रोमा भारतमा २०५ जना अर्बपति छन् । भारतीय अर्बपतिहरूको कुल सम्पत्ति १.१ ट्रिलियन छ, यो भारतीय कुल गार्हस्थ्य उत्पादनको करिब एक चौथाइ हो ।
भारतको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी फोर्ब्स सूचीको शीर्ष १० स्थानबाट बाहिरिएर ९२.५ अर्ब डलर सम्पत्तिसहित १८औं स्थानमा पुगेका छन् ।
अडानी समूहका अध्यक्ष गौतम अडानी भने ५६.३ अर्ब डलर सम्पत्तिसहित विश्व सूचीमा २८औं स्थानमा छन् । भारतकी सबैभन्दा धनी महिला उद्यमी एवं विश्वकै छैटौं धनी महिला सावित्री जिन्दाल र उनको परिवार फोर्ब्सको सूचीमा ५६औं स्थानमा छन् । उनको कुल सम्पत्ति हाल ३५.५ अर्ब डलर छ ।
अमेरिकाको नयाँ सरकारले लगाउन सुरु गरेको एकपछि अर्को अतिरिक्त कर र आफ्नो देश केन्द्रित नीति जारी रहे आगामी दिनमा धेरै अर्बपतिले चुनौतीपूर्ण अवस्थाको सामाना गर्नुपर्ने विश्लेषकहरूको अनुमान छ । एआई, विद्युतीय सवारी, सेमिकन्डक्टर चिप, ऊर्जा प्रविधिलगायत क्षेत्रले राम्रो प्रगति गरिरहेका बेला आउने वर्ष पनि उल्लेख्य रूपमा नयाँ अर्बपतिहरू थपिन सक्ने फोर्ब्सको अनुमान छ ।
विनोद चौधरीको सम्पत्ति २६ अर्ब रुपैयाँले बढ्यो
नेपालबाट सन् २०१३ यता फोर्ब्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवं राजनीतिकर्मी विनोद चौधरीको सम्पत्ति अघिल्लो वर्षको तुलनामा यस पटक झन्डै २६ अर्ब रुपैयाँ अर्थात् १.८ अर्ब डलरबाट बढेर २ अर्ब डलर पुगेको छ ।
सन् २०२४ मा विश्वभरका २ हजार ७ सय ८१ अर्बपतिमध्ये १ हजार ७ सय ६४औं स्थानमा रहेका उनी यसपालि ३ हजार २८ जना अर्बपतिमध्ये १ हजार ७ सय २९औँ स्थानमा उक्लिएका छन् । सीजी फुड तथा हस्पिटालिटी क्षेत्रमा लगानी बढाएसँगै उनको कुल सम्पत्ति बढेको फोर्ब्सको विश्लेषण छ ।
