

सुजीतकुमार झा
जनकपुरधाम ।
मुस्लिम धर्माबलम्बीहरुले आज इद उल फित्र पर्व मनाइरहेका छन । जनकपुरधामको मुस्लिम टोलहरुमा बिहानै देखि चहल पहल रहेको छ ।
एक महिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी यो पर्व मनाउने गर्छन । यो पर्व मनाएपछि रमजानको एक महिने व्रत सकिन्छ । इदको अर्थ खुशी मनाउनु भएको मुस्लिम जानकारहरु वताउँछन ।
अरबी पात्रो हिजरी सम्वत अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्छन् ।
दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आर्शीवाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुशीपूर्वक दान गरेर दिन दुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यस अवसरमा आज बिहान स्नान गरी नयाँ कपडा लगाएर विशेष नमाज पाठ गरेपछि ठूलाबडाकहाँ आर्शीवाद लिने क्रम शुरु भएको छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष दिन दुःखी र गरीबलाई दान दिनु हो ।
इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र – ईद र ईदुज्जुहा – बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा – राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय कुरबानी –बलिदानको सम्झना हो जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए । इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्रायः एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदछ्न् । बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सूर्य नअस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदान–प्रदान गरिन्छ ।
यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको वचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दिन दुःखी एवं गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दिन दुःखी र गरीबलाई नै दिइन्छ ।
रमजानको चर्चा
मुस्लिम धमाबलम्बीहरुको पवित्र पर्व रमजान इदसंगै सम्पन्न भएको छ । इस्लामी पात्रो हिजरी सम्बतको नवौं रमजानुल मुबारक महिनाको रौनकता अहिले मुस्लिम धमाबलम्बीहरुमा रहेको छ । मुस्लिम धर्मग्रन्थ कुरान अवतरण भएको महिना रहेकोले पनि यसलाई रोजा(व्रत) लिने महिनाका रुपमा लिइने गरिन्छ । यसक्रममा एक महिनासम्म तिनीहरुले ब्रत बसेका थिए ।
मानवलाई हरेक पाप (गुनाह) बाट बचाउन र अरूलाई सहयोग गर्ने भावना जागृत गराउने भएकाले यो महिनालाई मुस्लिम समुदायले विशिष्ट रुपमा लिने गर्छन् । आठौं ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा बस्न शुरु गर्ने गरिएको मुस्लिम धर्मका जानकारहरु बताउँछन् ।
रोजा बस्नेले शरीर शुद्ध राख्नुपर्छ । दिनमा नियमित पाँचपटक नमाज पढ्नुपर्छ ।
रोजा मुस्लिम धमाबलम्बीहरु सूर्य उदाउनु भन्दा दुई घन्टाअगाडि केही खानेकुरा (सेहरी) खार्ई सुरु गर्छन् जो सूर्यास्त भइसकेपछि अवतारिक गरी खोल्ने गर्छन् । रोजाको समयमा मुसलमानहरु निराहार बस्ने प्रचलन रहेको जनकपुरधामका राजनीतिकर्मी साजिद हुसैनले बताए ।
सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खाने कुरा खाएर रोजा तोड्ने गरिन्छ, त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर, मिठाइ, फलफूल लगायत खाने परम्परा रहेको जनकपुरधाम उपमहानगरपालिकाका पूर्व उपमेयर असगर अलीले बताए ।
यसले हरेक व्यक्तिबीच अपनत्व, ममता र माया बढाउन पाठ सिकाउने गरेको अलीले अगाडी बताए ।
इस्लामको पाँच आधार स्तम्भहरु इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कल्मा मध्ये रोजा पनि एक एक खम्बा हो । अरू महिनाको तुलनामा रमजान महिनालाई मुस्लिम धर्माबलम्बीहरुले पवित्र महिनाको रूपमा विश्वास गर्ने गरेको जानकारहरु बताउँछन् ।
रमजान महिनालाई दान गर्ने महिनाको रुपमा समेत लिइने गरिन्छ । धनाढ्यले गरिब र विपन्नलाई आर्थिक सहयोग समेत गर्छन् । कुरानका अनुसार बालिग वयस्क मुसलमानलाई रोजा अनिवार्य रुपमा गर्नै पर्छ ।
रमजान महिनामा नै इस्लामका प्रवर्तक हजरत मोहम्मद माथि कुरआनका आयातहरु(श्लोक) अवतरण हुन सुरु भएको थियो । रमजान महिनाको अन्तिम दसांशको कुनै एक बिजोडी रातमा कुरआनको अवतरण सुरु हुन थालेको मुस्लिम धर्म गुरुहरु बताउँछन् ।
रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास गरिएको जनकपुरधाम ८स्थित मदरसाका प्रधानाध्यापक मुफ्ती सौकत मिसवारीले बताए ।
यो महिनामा कुरआनको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने अवसरको रुपमा पनि लिइन्छ । नाबालिग, भोक तिर्खा सहन नसक्ने बुढ्यौली, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य नरहेको मौलाना इजराइल अहमद रिजवी बताउँछन् ।
जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत अन्त्य हुन्छ उनको भनाई छ । शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग हुँदैन उनी अगाडी बताउँछन् ।
रमजान महिनाको अन्तिम दस भागका पनि विजोडा रातहरू अझ महत्वपूर्ण मानिन्छन् । एक महिने रोजाका अन्तिम विजोडी रातहरू २१, २३, २५, २७ र २९ ले विशेष महत्व राख्छ । ती बिजोडा रातमध्येको कुनै एक रातमा साउदी अरबको हेरा भन्ने गुफामा अल्लाहको ध्यानमा केन्द्रित भइरहेको बेला ‘जिब्रिल’ भन्ने देवदूत मार्फत पहिलो पटक मोहम्मदमाथि पवित्र धर्मग्रन्थ कुरआन अवतरण भएको जनकपुरधाम ८मा रहेको मदरसाका प्रधानाध्यापक मिसवारीले जानकारी दिए ।
रमजान महिनाको रोजासँग जकात (दान) को सम्बन्ध पनि जोडिएको छ । जकात पनि इस्लामका पाँच आधारमध्येको एक खम्बा रहेको मिसवारीले बताए ।
इस्लामी शरिअत (कानुन) अनुसार कुनै व्यक्ति ऋणमुक्त छ र उसँग दैनिक उपभोग्य वस्तु, आवश्यक आवास सुविधाबाहेक साढे सात तोला सुन वा साढे बाउन्न तोला चाँदी वा त्यस बराबरको सम्पत्ति छ भने उसले जकात निकाल्नै पर्छ पर्छ राजनीतिककर्मी मो. साजिद हुसैनले बताए । यसरी सम्पत्ति चुक्दा गर्नाले उसँग बाँकी भएको सम्पत्ति अझै शुद्ध भएर जाने विश्वास रह्ने गरेको हुसैनले बताए ।
मुस्लिम समुदायबाट यसरी निकालिएको जकातको रकम गरिब, असक्षम र असहायले मात्रै प्रयोग गर्न सक्छन् ।
फित्तरा र जकात गरिब, असहाय र दिन दुःखीलाई बाँड्नु पर्छ । फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुअगावै निकालि सक्नु पर्ने परम्परा रहेको मिसवारीले बताए । फित्तरा र जकातको अर्को अर्थमा गरिब मुसलमानले पनि धनी जस्तै समान रूपमा रमजान मनाउने व्यवस्था गरिएको बताइएको छ ।
अल्लाहका लागि त्याग, समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनामा मुसलमान आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्ने रोजाको वैज्ञानिक मान्यता छ ।
तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेर्ने प्रचलन छ । आइतवार सबैले चन्द्रमाको दर्शन गरेका थिए । चाँद देखेको भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमानले सामूहिक रुपमा नमाज पढी इदुल फित्र मनाउछँन् । त्यसपछि उनीहरुले एक अर्कालाई अँगालो मारेर इद मुवारक एवं बधाई साटासाट गरी घरमा गएर मीठो–मीठो खानेकुरा खान्छन् । अरू दिनभन्दा रोजाका बेला मुस्लिम महिलाहरूको भूमिका फरक र महत्वपूर्ण हुने गरेको जनकपुरधाम उपमहानगरपालिकाका पूर्व उपमेयर अलीले बताए ।
दिनभरिको रोजा पछि खाने खानासँगै एकाबिहानै उठेर परिवारका लागि मिठोमिठो परिकार तयार गर्ने देखि घर सरसफाइ गर्ने लगायत धेरै भूमिका महिलाहरूको रह्ने गरेको उनले बताए ।

