Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रहरीको बन्दुक खोसेको फोटो खिच्दा पत्रकारको खुट्टा भाँचे





काठमाडौ  ।

तीनकुनेमा राजावादीको समाचार संकलन गर्न अनलाइन खबरबाट शुक्रबार बिहान खटिएको थिए । शिक्षा बिटमा लेख्ने भएकाले मलाई न्युजरुमले प्रदर्शनमा सहभागी जेनजी पुस्ताबारे फलो गर्ने ‘असाइन्मेन्ट’ दिएको थियो । दिउसो २ बजेतिर प्रदर्शनको माहोल बिग्रियो । आगलागी भएको घरभन्दा दुई घर पर चेपमा केही प्रहरी थिए ।

राजावादी प्रहरीमाथि जाइलाग्न थाले । म उनीहरूलाई पछ्याउँदै त्यतै गएँ । एक युवाले प्रहरीको बन्दुक खोसे । मैले २/३ वटा फोटो खिच्न भ्याएँ । ६ सेकेन्डको भिडियो पनि खिचें । प्रहरीको बन्दुक खोसेका ती युवा र अन्यले मैले पछ्याएको देखेर ‘तँ सीआईडी हो ?’ भन्दै दुर्व्यवहार गरे । मोबाइलबाट भिडियो खिच्दै थिएँ, उनीहरूले मलाई धकेले । म लड्न पुगें र खुट्टामा चोट लाग्यो । फिल्डमा जान बिहान अफिसको मिटिङपछि स्कुटी लिएर गएको थिएँ ।

स्कुटी तीनकुने चौकी नजिकै राखेको थिएँ । तीनकुने चौरबाट फर्केर बागमती पुलतिर आउन सक्ने अवस्था थिएन । त्यसबेला उक्त क्षेत्रमा अश्रुग्यास, ढुंगामुढा प्रहार हुन थालिसकेको थियो । तीनकुनेको निजी घरमा आगजानी सुरु भइसकेको थियो ।

कोटेश्वरतर्फ जाने सडक हुँदै पेरिसडाँडातर्फबाट बागमती नदीतिर बढें । त्यहाँ पनि आन्दोलनकारीले गाडीमा आगो लगाएको देखियो । त्यहाँबाट घुमेर बागमती नदी हुँदै स्कुटी राखेको स्थलमा पुगें । स्कुटी चढेर बुद्धनगरमा रहेको अनलाइन खबरको अफिस आएँ । जब जुत्तामोजा खोलेर हेरें, दायाँ खुट्टा सुन्निएको देखियो । लेखामा कार्यरत दुई सहकर्मीले मलाई बानेश्वरको एभरेस्ट अस्पतालमा पुर्‍याए । एक्सरे र सिटी स्क्यान गर्दा हड्डी भाँचिएको रहेछ । बेलुकीपख कर्फ्युका कारण अस्पतालमा प्लास्टर गरेर मूलपानीस्थित घर जान सक्ने अवस्था भएन । कोटेश्वरस्थित आफन्तको घरमा आराम गरिरहेको छु ।

(सुरज कुँवरसँगको कुराकानीमा आधारित)