एजेन्सी ।
रुसका राष्ट्रपति खराब स्वास्थ्यसँग संघर्ष गरिरहेको हल्लाबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनीविरुद्ध निन्दनीय टिप्पणी गरेका छन् ।
डेली मेलका अनुसार बुधबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटपछि पेरिसमा पत्रकारहरूसँगको अन्तर्वार्तामा जेलेन्स्कीले ‘पुटिन चाँडै मर्ने’ दाबी गरेका हुन् । उनले भने, ‘उनी (पुटिन) चाँडै मर्नेछन्, यो तथ्य हो ।…’
पुटिनले लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित रहेको हल्ला चलिरहेको छ । हालैका वर्षमा ७२ वर्षीय पुटिनको अनुहार सुन्निएको, खुट्टा लरबराएको र राता आँखाले अनुमानलाई बल दिइरहेको देखिन्छ ।
सन् २०२२ मा तत्कालीन रक्षामन्त्री सर्गेई शोइगुसँगको बैठकमा राष्ट्रपति पुटिनले आफ्नो कुर्सीमा निहुरिएर बसी टेबुल समातेर बोल्दै गरेको देखिएको थियो । उनलाई लगातार खोकी लागिरहेको र उनका हातखुट्टाले अस्वाभाविक चाल देखाएको रिपोर्ट पनि आएका छन् । पुटिनलाई क्यान्सर वा पार्किन्स रोग लागेको दाबी पनि गरिएको छ ।