Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कैदीबन्दीको संख्यामा ५५ प्रतिशतले बृद्धि, बालसुधार गृहमा ४३३ प्रतिशतले बढ्यो





काठमाडौं ।
समाजमा अपराध बढेकै कारण कैदी/बन्दीको संख्या ह्वात्तै बढेको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार, २०८१ फागुन मसान्तसम्म नेपालका कारगारमा कैदी/बन्दी संख्या २९ हजार ८५ छ ।
आठ वर्षको अन्तरालमा कैदी/बन्दीको संख्या ५५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसमा बालसुधार गृहमा राखिएका बालबालिकाको संख्या समावेश गरिएको छैन । कैदी/बन्दीमा पुरुषको संख्या २७ हजार ४७२ छ भने महिलाको संख्या १ हजार ६१३ छ । ६५ वर्षभन्दामाथिका उमेरका कैदीबन्दी ६४१ जना विभागको तथ्याङ्कले देखाउँछ ।
आठ वर्षअघि अर्थात् २०७३ फागुन मसान्तमा नेपालमा कुल कैदी/बन्दीको संख्या १८ हजार ७५५ थियो । उक्त समयमा पुरुष कैदी÷बन्दीको संख्या १७ हजार ४८७ थियो भने महिलाको संख्या १ हजार २६८ थियो ।
२०७३ फागुन मसान्तको तुलनामा २०८१ फागुन मसान्तमा नेपालका कारागारमा कैदी÷बन्दीको संख्या ५५.०७ प्रतिशतले वृद्धि भएको छ । आठ वर्ष अघिभन्दा अहिले नेपालका कारागारमा १० हजार ३३० बढी कैदी/बन्दी छन् ।
विभागका अनुसार, हाल नेपालका कारागारमा १७ हजार ९४० जना कैदी छन् । कुल कैदीमध्ये १७ हजार २२ जना पुरुष र ९१८ जना महिला छन् । यस्तै, २०८१ फागुन मसान्तसम्म नेपालका कारागारमा ११ हजार १४५ जना थुनुवा छन् । तीमध्ये पुरुषको संख्या १० हजार ४५० र महिलाको संख्या ६९५ छ ।
हाल नेपालका कारागारमध्ये सबैभन्दा बढी कैदी÷बन्दी जगन्नाथदेवलमा ३ हजार ७६६, झुम्का सुनसरीमा १ हजार ७५९, झापामा १ हजार ६१८, नख्खुमा १ हजार ३५५, पर्सामा १ हजार ३२७ र मोरङमा १ हजार ५३ जना छन् । नेपालका ७७ जिल्लामध्ये मुगुमा कारागार छैन ।
पछिल्लो आठ वर्षमा नेपालका कारागारमा विदेशी कैदी÷बन्दीको संख्या ४१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विभागको तथ्याङ्क अनुसार, २०८१ फागुन मसान्तसम्म नेपालका कारागारमा १ हजार ४९५ जना विदेशी कैदीबन्दी छन् । तीमध्ये अधिकांश भारतीय छन् ।
आठ वर्षअघि अर्थात् २०७३ फागुन मसान्तमा नेपालमा कुल १ हजार ५९ जना कैदी/बन्दी थिए । २०७३ फागुनको तुलनामा २०८१ फागुनमा विदेशी कैदी/बन्दीको संख्या ४१.१७ प्रतिशतले बढेको छ ।
२०७३ सालको तुलनामा नेपालका कारागारमा ४३६ बढी विदेशी कैदी/बन्दी छन् । नेपालका कारागरामा भारत, भुटान, बोलिभिया, म्यानमार, चीन, जाम्बिया, बेलारुस, पाकिस्तान र क्यानडाका नागरिक छन् ।
बितेको आठ वर्षमा नेपालका बालसुधार गृहमा बालबालिकाको संख्या ४३३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारागार व्यवस्थापन विभागका अनुसार, २०८१ फागुन मसान्तमा नेपालका ९ वटा बालसुधार गृहमा रहेका बालबालिकाको संख्या १ हजार ३६१ छ ।
बालसुधार गृहमा कैदी बालबालिकाको संख्या ७८४ छ । जसमध्ये ७६३ जना बालक र २१ जना बालिका छन् ।
यस्तै, बालसुधार गृहमा कुल ५७७ जना थुनुवा बालबालिका छन् । थुनुवामध्ये ५६२ जना बालक र १५ जना बालिका छन् । २०७३ फागुन मसान्तमा तीन वटा बालसुधार गृहमा कुल २५५ जना बालबालिका थिए । जसमध्ये २५० बालक र ५ बालिका थिए ।
२०७३ सालको तुलनामा २०८१ सालमा बालसुधार गृहमा बालबालिकाको संख्या ४३३.७२ प्रतिशतले वृद्धि भएको छ । २०७३ सालमाभन्दा बालसुधार गृहमा १ हजार १०६ जना बढी बालबालिका छन् ।