

एजेन्सी ।
भारतीय राज्य उत्तर प्रदेशमा एक युवकले एकैदिन फरक–फरक युवतीसँग विवाह गरेका छन् ।
हिन्दुस्तानका अनुसार गोरखपुर बस्ने ती युवकले दिउँसो प्रेमिकासँग ‘कोर्ट म्यारेज’ (अदालती विवाह) गरेका हुन् भने फेरि परिवारको आग्रहमा त्यही राति अर्की केटीसँग बिहे गरेका हुन् ।
यसपछि उनले कोर्ट म्यारिज गरेकी प्रेमिकालाई छोडे । दुई दिनपछि यो कुरा थाहा भएपछि प्रेमिका युवकको घरमा पुगिन् । उनको कुरा सुनेपछि परिवारका सदस्यले उनको चरित्रमा प्रश्न उठाउँदै घरबाट निकालिदिए ।
यसपछि पीडित युवतीले प्रहरीमा उजुरी दिएकी छन् । यस विषयमा प्रहरीले दुई दिनभित्र अनुसन्धान गरी प्रतिवेदन बनाउने तयारी गरेको छ ।
हरपुर बुधत क्षेत्रकी एक युवती नजिकैको गाउँको सोही समुदायको एक युवकसँग प्रेम सम्बन्धमा थिइन् । करिब चार वर्षपछि उनीहरूले मन्दिरमा विवाह गरे र सँगै बस्न थाले, तर यसबारे परिवारलाई जानकारी दिएनन् । यसैबीच युवकको परिवारले उनको विवाह अर्को केटीसँग गर्ने तय ग¥यो । जब युवकलाई यो कुरा थाहा भयो, उनले आफ्नी प्रेमिकालाई सुनाए र परिवारबाट दबाब आएको बताए । उता परिवारले बिहेको मितिसमेत तोकिसकेको थियो । तर युवकले प्रेमिकालाई झुक्याए ।
उनले भने, ‘अब हामी कोर्ट म्यारेज गरौँ र हामीले हाम्रो परिवारलाई यसबारे जानकारी गरायौँ भने उनीहरू हाम्रो सम्बन्ध स्वीकार गर्न बाध्य हुनेछन् ।’
परिवारले जुन दिन उनको विवाह तय गरेको थियो, त्यही दिन अदालती विवाहको मिति पनि तोकियो ।
बिहान अदालत खुल्नेबित्तिकै युवकले आफ्नी प्रेमिकासँग अदालतमै विवाह गरे र दुवै जना घर फर्किए । यसपछि युवकले आफ्नो परिवारका सदस्यहरूलाई मनाउने भन्दै आफ्नी प्रेमिकाको घरबाट निस्किए र साँझ दोस्रोपटक अर्की युवतीसँग विवाह गरे ।
यसपछि युवकले १५ दिनसम्म आफ्नी प्रेमिकासँग कुरा पनि गरेनन् । यसपछि ती युवती युवक खोज्दै घरमै पुगेपछि यो वास्तविकता खुलेको हो । व्यक्तिगत गोपनीयताकाका कारण उनीहरूको परिचय भने खुलाइएको छैन ।
