जनकपुरधाम ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई बर्बाद हुनबाट जोगाउन मुलुकमा रहेको वर्तमान व्यवस्था परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् । वर्तमान संघिय लोतकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प अहिले नै नखोजिए मुलुक बर्बाद हुने बताउँदै लिङदेनले देशमा व्यवस्था परिवर्तनको खाँचो रहेको बताए ।
राप्रपाले जनकपुरधाममा आयोजना गरेको बिरोधसभामा बोल्दै लिङदेनले देशलाई बर्बादीबाट जोगाउन अभिभावकीय रुपमा राजालाई राखेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था मात्रै नेपालकालागि उत्तम व्यवस्था हुने बताए । यसका साथै संसदमा समेत पूर्ण समानुपातिक व्यवस्था राखेर सांसदहरुलाई मन्त्री नहुने व्यवस्था लागु गर्नुपर्ने उनको भनाई थियो । सांसदलाई मन्त्री नबनाएर ऐन कानून बनाउने मात्रै जिम्मा दिइए देशमा भ्रष्टाचार पनि कम हुँदै जाने उनले दावी गरे ।
देशमा महँगी अकाशिएको छ, भ्रष्टाचार बढेको बढ्यै छ, लिङदेनले भने ‘राजतन्त्रसहित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा संघिय व्यवस्था हटाए भ्रषटाचार आफै निर्मूल भएर जानेछ ।’
लिङदेनले कांग्रेस, एमाले, माओवादी तथा मधेशवादी दलका नेताहरुले नेपाली जनताको मतको दुरुपयोग गरेको आरोप समेत लगाए । लिङदेनले भने ‘म आज जनकपुरधाममा छु, यो भूमि हिन्दु धर्माबलम्बीहरुकालागि पवित्र भूमि, यहाँका स्थानीयमा हिन्दु धर्म प्रति आस्था छ तर तपाईहरुकै मत लिएर यी राजनीतिक दलहरु तपाईकै धर्म बिरुद्ध लागेका छन् ।’ उनले अगाडी भने ‘कांग्रेस, एमाले, माओवादी तथा मधेसवादीदलहरुले तपाईको मतको प्रयोग तपाईकै धर्मबिरुद्ध गरिरहेका छन् ।’
एक अर्को प्रसंगमा लिङदेनले भने ‘मधेसलाई यसअघि लाग्या होला सबै बिमारीको औषधी यो संघियता नै हो, तर होइन रहेछ यो भ्रम हो अब मधेसी जनताले पनि बुझिरहेका छन् ।’ संघियता देशको अर्थतन्त्रलाई कमजोर पार्ने, नेपाली नेपालीबीच विभाजनको फाटो हाल्ने अस्त्र रहेको उनले आरोप लगाए ।