माइक जोन्सले आफ्नो लस एन्जलसदेखि एरिजोनास्थित स्कट्सडेलसम्मको डिसेम्बरको यात्रा यति भाइरल होला भन्ने सोचेका थिएनन्।
विमानस्थलसम्म पुग्न उनले चालकरहित कार बुक गरे र कारभित्र पसेपछि छुट्टै आनन्दको अनुभूति गरे।
तर उनले यति धेरै ध्यान ताने कि जति उनले खोजेका नै थिएनन्।
उनी एउटा कार पार्ककै वरिपरि मात्रै घुमिरहे। यो दृश्य अवलोकन गर्ने ती पनि थिए, जो अघि उनले कार बुक गर्दा सँगै थिए।
वायमो राइडले गर्नुपर्ने कुरा गरिरहेको थिएन र यसलाई जोन्सले मिलाउन सक्ने अवस्था पनि थिएन। त्यसमाथि उनलाई उडान छुट्ने डर थियो।
उनले आफ्नो अनुभव भिडिओमा रेकर्ड गरे। जुन तुरुन्तै भाइरल हुनपुग्यो र टिभी स्टेसनहरुको मसला बन्न पुग्यो। त्यसलाई हेर्ने दर्शक सर्वसाधारणमा भने यसले स्वचालित ड्राइभिङप्रति आशंका जन्माइदियो– विश्वमा यात्रा गर्नेका लागि यो कति कति तयार छ त?
‘सोमबार बिहानै यो मलाई किन यस्तो भइरहेको छ?’, जोन्सले आफैँलाई सोध्दै रेकर्ड गरे।
अन्ततः कारभित्र एउटा आवाज सुनियो– कृपया वायमो एपमा पहुँच पाउनुहोस् र गाडीलाई आफ्नो नियन्त्रणमा राख्नुहोस्।
वायमो गुगलको मातृकम्पनी अल्फाबेट स्वामित्वको स्वचालित सवारीसाधन सेवा प्रदायक हो। कम्पनीले उक्त समस्या समाधानका लागि तुरुन्तै सफ्टवेयर अपडेट गरिदिएको थियो।
यसको चालकरहित प्रणाली मानवभन्दा उत्कृष्ट रहेको कम्पनी बताउँछ। यसले दुर्घटना टार्न सक्छ, समयमै एयरब्याग सञ्चालन गर्न सक्छ र प्रहरीलाई खबर गर्नसक्छ।
जोन्सको अनुभव पहिलो होइन, अरु बेला पनि कम्पनीले थुप्रै तत्काल कार्य गर्नुपरेको छ।
नयाँ प्रविधि, अनेक चुनौती
गत वर्ष मात्रै एउटा गाडीले सडकको खम्बामा ठक्कर दिएपछि कम्पनीले आफ्ना ६०० कारहरु फिर्ता लिएको थियो। र, सन् २०२४ को मेमा वायमो गाडीहरु संलग्न २२ घटनाबारे नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए) ले अनुसन्धान नै थालेको थियो।
त्यसो त चालकरहित भविष्यको यात्रा अन्य प्रतिस्पर्धीहरुका लागि पनि टाउको दुखाइ बनिरहेको छ।
डिसेम्बरमा अमेरिकी कार कम्पनी जनरल मोटर्सले आफ्नो चालकरहित सहायक कम्पनी क्रुज बन्द गरेको थियो। यसलाई कम्पनीले आफ्नो रणनीति परिवर्तनको रुपमा व्याख्या गर्दै यससम्बन्धी व्यवसायका लागि आवश्यक समय र स्रोतहरुअनुसार अघि बढ्ने बताएको थियो।
सन् २०२३ अक्टोबरमा क्रुजको एउटा गाडीले पैदालयात्रुलाई ठक्कर दिएर २० फिटसम्म घिसारेको थियो। ती यात्रु गम्भीर घाइते बन्न पुगेकी थिइन्।
गत वर्ष फेब्रुअरीमा फेरि एप्पलको स्वचालित कार परियोजना बन्द हुनलागेकोबारे गाइँगुइँ सुनियो। सन् २०२० मा उबरले आफ्नै स्वचालित कारको योजना छाडिदियो।
प्रतिस्पर्धामा ठूला खेलाडी
तर यो दौडमा अमेजनको जुक्ससँगै चिपमेकर निभिडिया र इलोन मस्कको टेस्लाजस्ता केही ठूला खेलाडीहरु बाँकी नै छन्।
यद्यपि अहिले अमेरिकामा भने ठूलो खेलाडी वायमो नै रहेको छ। यसले फोइनिक्स, सान फ्रान्सिस्को, लस एन्जलर र अस्टिन टेक्सासरमा स्वचालित कार सुविधा उपलब्ध गराइरहेको छ। चाँडै एटलान्टा र मायामी फ्लोरिडामा सेवा सुरु गर्दै छ।
उसो भए, अन्य प्रयासहरु विफल हुनुका बाबजुद वायमोले अमेरिकामा कसरी सफलता हासिल गर्दै छ त?
‘तीन कुरा मानिस, पैसा र प्रक्रिया नै मूल हो’ भन्छन् स्ट्यानफोर्ड ग्राजुएट स्कुल अफ बिजनेसका लेक्चरर तथा एक अटोमोटिभ कन्सल्टेन्सी सिलिकन भ्याली मोबिलिटीका प्रबन्धनिर्देशक सभन बेइकर।
स्वचालित साधनसम्बन्धी इन्जिनियरिङमा पोख्त केही अनुहारलाई बितेका वर्षहरुमा वायमोले रोजगारी दिएको र गुगलको मातृकम्पनी अल्फाबेटको वित्तीय साथ कम्पनीको पछाडि रहेकाले वायमो आफ्नो लक्ष्यमा सफल भइरहेको देखिने उनी बताउँछन्।
आफूले प्रयोग गर्ने फिचर सुरक्षित रहेको सुनिश्चितताका लागि उनीहरुले नियामकहरुसँग मिलेर काम गरिरहेको उनको भनाइ छ।
अब के त ?
म्याककिन्से नामक कन्सल्टेन्सीमा अटोमोटिभ र असेम्बली प्राक्टिसका ग्लोबल सहप्रमुख फिलिप क्याम्पशफ अनुकूल मौसमयुक्त क्षेत्रहरुले सबैभन्दा पहिले स्वचालित सेवा पाउने देखिएको बताउँछन्।
उनका अनुसार वायमोले यसअघि योजना बनाउका टेक्सास र फ्लोरिडाजस्ता दक्षिणी राज्यहरुले चाँडै स्वचालित ड्राइभिङ सेवा पाउन सक्नेछन्।
‘रोबो–ट्याक्सी यस्तो अवस्थाहरुमा राम्रोसँग चल्न सक्ने भए पनि बाक्लो हिमपात हुने ठाउँमा भने गाह्रो हुन्छ’, क्याम्पशफ भन्छन्।
न्यानो मौसममा ब्याट्रीले पनि राम्रो गर्ने उनको भनाइ छ। किनभने यात्राका क्रममा कम्युटिङलाई धेरै ऊर्जा आवश्यक पर्ने भएकाले यो महत्त्वपूर्ण हुने उनी बताउँछन्।
‘यो सबैलाई एकत्रित गर्दा, २०२० को दशकको दोस्रो खण्डमा एकपछि अर्को सहरमा यो सेवा सुरु भएको हेर्न पाइनेछ’, उनले भने।
सुस्त गतिमा विकास
तर यो सुस्त प्रक्रियामा अघि बढिरहेको छ।
यो प्रविधि ल्याउन कडा प्रक्रिया अपनाउनुपर्ने र त्यो मानवरहितभन्दा पनि मानवसहित हुने बेइकर उल्लेख गर्छन्।
उनका अनुसार आफू जाने ठाउँमा आफैँले लैजानुपर्ने हुन्छ, त्यसका लागि आफैले चलाउनुपर्छ, अर्थात् आफ्नो हिसाबले डेटा सम्पादन गरिराख्नुपर्छ।
र, पूरै प्रक्रियामा सुरक्षा चासो उत्तिकै बढ्न सक्ने हुन्छ।
क्याम्पशफ भन्छन्, ‘यदि कुनै ठूला दुर्घटना नभएको खण्डमा मात्र यो पूरा हुनेछ। जति धेरै ठूला दुर्घटनामा स्वचालित प्रणाली संलग्न हुन्छ, त्यति नै यो सेवा बन्द हुन पुग्छन्।’
स्वचालित ट्रकहरुमा काम गरिरहेकाहरुका लागि सुरक्षा नै तार्किक रुपमा ठूलो चिन्ता हो।
‘सुरक्षा पहिलो चासो हो, जसमा हामीले काम गरिरहेका छौँ’, अमेजन, हुन्डाई, फक्सवागन र स्केनियासँग मिलेर ट्रकका लागि चालकरहित सफ्टवेयर बनाउने प्लसका प्रमुख कार्यकारी अधिकृतडेभिड लिउले भने, ‘स्वचालित ट्रकहरु र स्वचालित अन्य सवारीसाधनहरु मानिसले हाँकेको साधनभन्दा अत्यन्त सुरक्षित हुन जरुरी छ।’
मानव चालकहरुलाई उनी ठूलो र महत्त्वपूर्ण मान्छन्। तर उनीहरु त्रुटिरहित नभएको तर्क गर्छन्। धेरैजसो दुर्घटनाहरु हाम्रै ध्यान नपुग्दा हुने गरेको र त्यसमा प्रविधिसँग कुनै कुरा नजोडिने लिउको भनाइ छ।
‘एक रोबो–ट्याक्सी कम गतिमा सहरभित्र हुइँकिन्छ जब कि ट्रकहरु हाइवेमा तीव्र गतिमा कुद्छन्’, लिउ भन्छन्, ‘त्यसकारण हामीलाई ट्रकवरिपरि स्पष्ट देखिने र लामो ब्रेकिङ दूरीलाई सम्हाल्न सक्ने फरक प्रविधि जरुरत पर्छ।’
चालकरहित भविष्य हेर्न चीनमा भएका विकासमा नजर लगाउनु उपयुक्त हुन्छ। वुहान सहरमा ५०० चालकरहित कारहरु बैदुले सञ्चालन गरिरहेको छ। देशैभर १६ सहरहरुमा १९ उत्पादकहरुले यसको परीक्षण र सञ्चालन गरिरहेका छन्।
‘अतः यहाँ साँच्चै प्रतिस्पर्धा चलिरहेको छ। ४/५ वटा कम्पनीहरु वायमोजस्तै छन्’, स्विडेनको भिन्नोभाको सहयोगमा रोबो–ट्याक्सीकै विकासमा काम गरिरहेका बेइकर भन्छन्।
यता स्कट्सडेलमा फर्किएका जोन्स स्वचालित साधनहरुबारे भन्छन्–
‘एउटा ठूलो कुरा के हो भने हामी सबै पैसा तिरेर भइरहेको परीक्षणको एक हिस्सा हौँ। दिनको अन्तिममा उनीहरु भेटिएका गल्ती सुधारिरहेका हुन्छन्। त्यो नै यसको मुख्य समस्या हो।’
बीबीसीबाट