

जनकपुरधाम ।
सर्लाहीको दुई वटा एसईईको परीक्षा केन्द्रमा खटिएका ३ जना निरीक्षकलाई परीक्षामा अनियमितता गरेको आरोपमा निष्कासित गरिएको छ ।
शिक्षा समन्वय इकाई कार्यालय सर्लाहीका अनुसार यी निरीक्षकहरूलाई परीक्षार्थीहरुलाई चिट चोर्न सहयोग गरिरहेको अवस्थामा पक्रेर कारबाही गरिएको हो । रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय (बलरा नगरपालिका–४) मा खटिएका निरीक्षक रिन्कु देवी र रामनारायण बैठा तथा हरिपुर्वा नगरपालिकाको केश्वर गरिव जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक बाबुलाल रायलाई परीक्षामा अनुचित सहयोग गरेको भेटिएको थियो ।
शिक्षा समन्वय इकाई कार्यालयका अधिकारीहरूले एसईई परीक्षा निष्पक्ष बनाउन यस्ता अमर्यादित क्रियाकलापमा संलग्न कर्मचारीमाथि कडा कारबाही गर्ने नीति अपनाएको बताउँदै बाँकी परीक्षा केन्द्रहरूको अनुगमनलाई पनि थप कडा बनाउने जनाएको छ ।
