

सुजीतकुमार झा
जनकपुरधाम ।
सनातनीहरुको महत्वपूर्ण पर्व होली आज मनाइएको छ । जनकपुरधामको विभिन्न चोकमा, घरमा साँझसम्म रंग अबिर चलि रहयो । साँझ घर परिवारका साथै धेरै व्यक्ति मन्दिरमा पूजाअर्चना पनि गरेका छन् । जानकी मन्दिरमा भीड लागेको थियो । भूतनाथ मन्दिरमा विशेष कार्यक्रम नै गरिएको मन्दिरका कोषाध्यक्ष रवीन्द्र चौधरीले जानकारी दिएका छन् ।
अन्तरगृह परिक्रमाको एकदिन पछि जनकपुरधाममा होली मनाइने परम्परा रहेको छ ।
जब वसन्त ऋतुको पुनरागमन हुन्छ, प्रकृति हराभरा भइ प्रफुल्ल मुद्रामा मुस्कुराउन थाल्छ । वरिपरिको वातावरण रमणीय देखिन थाल्छ । अनि फाल्गुन शुक्ल अष्टमीदेखि प्रत्येकका घर आँगनमा फागु महोत्सव शुरु हुन थाल्छ । नेपालमा विभिन्न स्थान अनुसार यो पर्व आ–आफ्नो तरिकाले मनाइन्छ ।
होलीको पौराणिक कथा
होली पर्वलाई पौराणिक कथाका आधारमा हिरण्यकशिपूका पुुत्र प्रह्लादसँग जोडेर हेरिन्छ। श्रीमद्भागवतको सातौँ स्कन्धमा हिरण्यकशिपु तथा प्रह्लादको प्रसंग आएको छ। प्रह्लाद भगवत् भक्त थिए। राक्षस कुलमा जन्मे पनि उनले ईश्वरलाई संसारको नियन्ता माने र उपासना गरे। बुबा हिरण्यकशिपुले ‘के पढ्यौ पुत्र’ भनेर सोध्दा उनले नवधा भक्तिका सन्दर्भमा चर्चा गरे। उनले पितालाई भने, ‘श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवन्। अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम्।’
अर्थात् ईश्वरका कथा सुन्नु, कीर्तन गर्नु, स्मरण गर्नु, सेवा गर्नु, पूजा गर्नु, नमन गर्नु, ईश्वरप्रति भक्तिभावले दास्यता दिनु र ईश्वरसित आत्म निवेदन गर्नुु हो। यही नै मेरो आजसम्मको शिक्षा हो। यो कुरा कशिपुलाई मन परेन। कशिपुले प्रह्लादलाई मार्न अनेक उपाय रचे। ईश्वरभक्त वा सत्यका अघि असत्य र अधर्मरूपी कशिपुको केही चलेन। कशिपुकी बहिनी होलिकालाई अग्निले नडढाउने वरदान प्राप्त थियो। अन्ततः होलिकाले प्रह्लादलाई काखमा राखी चितामा बसिन्। अग्निले होलिकालाई जलाए तर प्रह्लादलाई केही भएन। त्यहाँ सत्य, धर्म, भक्तको जित भयो।
उक्त प्रसंगमा असत्य, अधर्म, पापको हार देखाएर प्रह्लादलाई भक्तका रूपमा प्रमाणित गरिएको छ। यही सन्दर्भ नै होलिका दाह र होली पर्वका रूपमा आएको पौराणिक मान्न्यता हो। त्यहाँ (श्रीमद्भागवतमा) होलीका दाह र होलीका सन्दर्भमा कुनै किसिमको प्रमाण भेटिँदैन। उक्त पुराणबाटै होलीका कुरा बाहिर आए पनि त्यहाँ प्रमाण नहुनु आफैँमा आश्चर्य लाग्ने कुरा पनि हो।
होलीका सन्दर्भमा नारदीय पुराणमा उल्लेख गरिएका कारण त्यसलाई नै प्रामाणिक आधार मानेर तथ्यगत रूपमा उपस्थित हुनुपर्ने अवस्था देखिन्छ। त्यसैले नारदीय पुराण नै होली पर्वका सन्दर्भमा देखिएको पहिलो प्रमाण मानिएको छ। उक्त पुराण १२५औँ अध्यायमा भनिएको छ, ‘फाल्गुने पूर्णिमायां तु होलिकापूजनं मतम्। संचयं सर्वकाष्ठानामुपलानां च कारयेत्। तत्राग्निं विधिवत्हुत्वा रक्षोघ्नै मन्त्रविस्तरैः।’
अर्थात्, फाल्गुण महिनाको पूर्णिमाका दिन होलिका पूजा गर्नुपर्छ। उक्त पूजामा दाउरा र गोबरका गुइँठा जम्मा गरेर रास बनाई आगो लगाउने र त्यसमा पूजन गर्ने परम्परा उक्त पुराणमा उल्लेख गरिएको छ। यो होलीका सन्दर्भमा देखिएको पहिलो प्रमाण हो। यहाँ आहुतिको हवन समेत उल्लेख छ। मन्त्रोच्चारणसहित हवन गर्ने र उक्त होलिकालाई पूजन गर्ने परम्परालाई यहाँ उल्लेख गरिएको पाइन्छ।
पूजा गर्नुपूर्व होलिका को हो भन्ने सन्दर्भमा उल्लेख गरिए अनुसार, ‘होलिका राक्षसीचेयं प्रह्लादभयदायिनी’ (होलिका राक्षसी हो, जसले प्रह्लादलाई मृत्यु भय देखाइएकी थिई) भन्ने प्रमाणलाई उक्त श्लोकले उद्धृत गरेको पाइन्छ। आगो लगाएर होलिका दाह गर्ने सन्दर्भमा रक्षोघ्न मन्त्रको उल्लेख गरिएको छ। उक्त मन्त्र ‘असृक्पाभयसंत्रस्तैःकृता च होलिबालिशैः। अतस्त्वां पूजयिस्यामि भूते भूतिप्रदा भवः।’ अर्थात्, राक्षसको भयले सन्त्रस्त भएका हामी मानिसलाई कुनै पनि अवस्थाको डर, त्रास तथा अभावलाई नदिने गरी निर्भयता प्रदान गर भन्नु नै यसको तात्पर्य देखिएको पाइन्छ।
होलिका दहन गरेर खरानीको लेप लगाउने र उक्त लेपले जीवन वृत्तलाई सहज बनाउने सन्दर्भलाई यसमा अभिव्यक्त गरिएको छ। होली सांस्कृतिक पर्व हो। यसको सांस्कृतिक महत्व रहेको छ। खासगरी असत्यमाथि सत्यको, अज्ञानमाथि ज्ञानको, अधर्ममाथि धर्मको, अविवेकमाथि विवेकको र नास्तिकमाथि आस्तिकको र अभक्तमाथि ईश्वरका भक्तको विजय होली पर्वलाई मानिएको पाइन्छ।
सत्य र ईश्वर भक्तिलाई पछ्याएर प्रह्लादले गरेको स्तुति र होलिकाको वरदानलाई निस्तेज पार्नू होलीको महत्व रहेको पाइन्छ। ईश्वर वरदान दिन्छन्, तर त्यो वरदान भक्तमाथि प्रयोग गर्ने छुट कसैलाई पनि छैन भन्ने आदर्श प्रस्तुत होलिका दहनले देखाएको आदर्श बाटो पनि हो।
अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शलाई ब्रजवासीहरूले यसैगरी जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।
होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । विंध्यक्षेत्रको राम गढ स्थानमा स्थित ईसा भन्दा ३ सय वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।
होलीको सम्बन्धमा बराह पुराणमा ‘पट्वास—विलासिनी ’भनिएको छ । यसको अर्थ धुलोयुक्त क्रीडा भएको पर्व हो । जैमिनि ऋषिद्वारा रचित मीमांशा दर्शनको पूर्व मीमांशा सूत्रमा होलीबारे उल्लेख पाइन्छ ।
वसन्त आगमनमा संकल्प
यो पर्वलाई वसन्तोत्सव पर्वका रूपमा पनि लिइन्छ। वसन्तको आगमनलाई स्वागत गर्न होली पर्वको शुभारम्भ गरेको पाइन्छ। फाल्गुण महिनालाई बिदा गरेर वसन्तको अभ्युदयका रूपमा होली पर्वलाई लिने गरिन्छ। पुराणमा भनिएको छ, ‘संवत्सस्य दाहोऽयं कामदाहो मतान्तरे।’
अर्थात् पुरानो वर्षको संवत्सरलाई दाह गरेर नयाँ संवत्सरलाई स्वागत पनि होलिका दाहको महिमा बनेको छ। यसका साथै मानव मनका असत् संकल्पलाई जलाएर नयाँ संकल्पसहित संवत्सर वा नयाँ वर्षलाई स्वागत गर्ने दिनका रूपमा पनि होली पर्वको महत्व मानिएको पाइन्छ।
होलिका दहनपछि बलिरहेको अग्निको परिक्रमा विधान पनि पुराणमा उल्लेख छ। नारदीय पुुराणका अनुसार, ‘तत्र किल किला शब्दैस्तालशब्दै मनोहरैः। तमग्नि त्रिः परिक्रम्य गायन्तु च हसन्तु च।’ अर्थात्, बलिरहेको अग्निलाई गाउँदै, नाच्दै, ताली बजाउँदै तीनपटक परिक्रमाको विधान यसमा गरिएको छ। सम्पूर्ण रोगव्याधि, असत र अधर्म नाश गरेर बालबालिकादेखि सबैलाई स्वस्थ बनाऊ भन्ने सन्देश होलिका परिक्रमाको उद्देश्य देखापरेको पाइन्छ। त्यसो गरेमा मानवीय कर्म र सांस्कृतिक मान्यताले पूर्णता पाउने विश्वासमा यो पर्व अडिएको देखिन्छ।
होलिका दहनको समय रात्रिको तेस्रो प्रहर मानिएको छ। जतिबेला पनि होली दहन गर्ने उत्तम समय मानिँदैन। होलिका दाहको समय रात्रिको तेस्रो प्रहरको भद्रा नक्षत्र कटेपछि मात्र मानिएको छ। त्यसैले भनिएको छ, ‘राकायामद्वयादूध्र्वं चतुर्दश्याँ यदा भवेत्। होलां भद्रावसाने तु निशीथान्तेऽपि दीपयेत्।’ अर्थात् होलिका दहन पूर्ण चन्द्रमाको अवस्था आएमा वा भद्रा नक्षत्र परेको छ भने रात्रिको तेस्रो प्रहरमा दहन गर्नु भद्रामा होली दहन अशुभ मानिएको छ।
रङहरूका विशेषता
होलीमा रङको प्रयोग र साङ्केतिक पक्ष,होली खेल्ने प्रसङ्गको विषयको उठान हुँदा रङका दृश्यहरू आँखामा आउँछन् । रङका विविध पक्षहरू रहेका हुन्छन् । यसको प्रयोगलाई आध्यात्मिक,मनोवैज्ञानिक र आयुर्वेदिक दृष्टिकोणबाट हेर्ने गरेको पाइन्छ । होलीमा मात्र नभई रङको प्रयोग अवसर र उपलक्ष्य अनुसार प्रयोग गरिन्छ । पहिरनमा समेत यसको विशेष उपादेयता रहेको छ । देवताहरू विशेष गरी रातो रङ पहिरन्छन् । ब्रह्माजी श्वेत वस्त्र धारण गर्दछन् भने नारायण पहेँलो वस्त्रमा सजिन्छन् । देवहरूमा महादेव र नारायणको तन नीलो छ भन्ने लोक विश्वास छ । महाभारत कालमा परशुराम,भीष्म,युधिष्ठिर,अर्जुन,द्रोणाचार्य,कृपाचार्य श्वेत वस्त्र धारण गर्दथे भने भीमसेन प्रायः रातो वस्त्रमा सजिन्थे । कर्णको गुलाबी वस्त्र थियो भने सकुनी कालो वस्त्र धारण गर्दथे । यी वस्त्रका रङले पनि व्यक्ति र प्रवृत्तिको संकेत गरेको पाइन्छ ।
रातो रङ
रातो सबैलाई मन पर्ने रङ हो । यसलाई पवित्रा र शुद्धताको प्रतीक मानिन्छ । यो रङ साहस, शक्ति र सौभाग्यको प्रतीक पनि हो । रातो रङ (अबीर) रङ होलीको समयमा छालामा पर्दा यसले छालाजन्य रोगलाई विनाश गर्दछ र कफको विनाश गर्दछ भन्ने आयुर्वेदिक महत्त्व रहेको छ ।
हरियो रङ
यो रङलाई जीवन शक्तिको मर्म बुझ्ने जीवन्त रङ मानिन्छ । यो रङ मन पराउने मानिसहरू प्रकृति प्रेमी र रागरहित हुन्छन् । यो रङ प्रेमीमा आत्मविश्वासको कमी हुन्छ भन्ने भन्ने मनोवैज्ञानिकहरूको धारणा छ ।
पहेँलो रङ
यो रङलाई धर्म र भक्तिको पर्यायको रूपमा लिइन्छ । यो रङ प्रेमीहरू धर्ममा बढी विश्वास गर्दछन् । यो रङ खुसी र हर्षको प्रतीक भएकोले यस रङलाई मन पराउनेहरू रमाइलो मन पराउने र आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् भन्ने धारणा पाइन्छ ।
नीलो(नीर) रङ
यो रङलाई शान्तिको प्रतीक मानिन्छ । यो रङ मन पराउने मानिसहरू सन्तुलित विचारका हुन्छन् । यो रङलाई धर्मयुद्धको प्रतीक पनि मानिन्छ । बढी चिन्तित हुने स्वभाव यो रङ मन पराउने मानिसहरूमा हुन्छ भन्ने मनोविद्हरूको धारणा पाइन्छ ।
कालो रङ
होलीमा कालो रङ पनि व्यापकरुपमा प्रयोग हुन्छ । यो रङलाई खासै शुभ मानिँदैन । यो रङलाई ईर्ष्या र स्वार्थको प्रतीक मानिन्छ । यो रङ मन पराउने मानिसहरू अन्तरमुखी स्वभावका हुन्छन् । तुरुन्तै रोष प्रकट गर्ने प्रवृत्तिका हुन्छन् भन्ने मनोविद्हरूको धारणा पाइन्छ ।
सेतो रङ
यो सर्वप्रिय रङ हो । यो रङलाई शुद्धताको प्रतीक मानिन्छ । कर्मवीरहरू यस रङमा विश्वास गर्दछन् । यो रङ आकर्षणको प्रतीक पनि हो ।
होलीको महत्व
आजको समाज विविधतायुुक्त छ। यो विविधतामा एकताको सन्देश नेपाली समाजले होली लगायत पर्वमार्फत दिएको पाइन्छ। होली रङको पर्व हो। होलीमा ठूलोसानो, धनीगरिब, ऊँचनीचको भावना रहेको देखिँदैन। कुनै पर्व र त्यसको गरिमा त्यतिबेलासम्म जीवन्त रहन्छ, जतिबेलासम्म त्यसको भावनागत स्वरूप गतिशील बनेको पाइन्छ।
कुनै पनि पर्वमा भावनागत परिवेश जीवन्त रहेमा त्यसका सकारात्मक पक्ष बाहिर आएका हुुन्छन्। नेपाल र नेपालीमा विद्यमान भावलाई मानवीय सन्दर्भले जोडेको हुुन्छ। त्यही परिवेशमा आएको भावलाई गतिशील तुल्याउने चेतनालाई मानवीय चेतना मानिएको हुन्छ। होलीलाई मनाउने र त्यसको संस्कृतिलाई जीवन्त राख्ने आधार विविध किसिमका छन्।
त्यसैले नेपाली परम्परामा देखिएका चाडपर्वको संरक्षण संवद्र्धन आवश्यक छ। आजको पुस्ता हाम्रा संस्कार, परम्परा, संस्कृति र पर्वको महत्वबारे अनभिज्ञ छ। त्यो अनभिज्ञतालाई हटाएर ज्ञानको दीपकले जीवन्तता दिनु जरुरी छ। पर्व मनाउने परम्परामा धेरै परिवर्तन आएको पाइन्छ। सबैलाई बुझाएर पर्वहरूको यथोचित विन्यास गरेर युवा पुस्तालाई समेत जानकारी गराउनुपर्छ।

