

जनकपुरधाम ।
मिथिला मध्यमा परिक्रमा सम्पन्न भएसंगै हुने जनकपुरधामको अन्तगृह परिक्रमा सम्पन्न भएको छ । लाखौंको सहभागितामा अन्तगृह परिक्रमा शुक्रबार बिहान सम्पन्न भएको हो ।
मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू जनकपुरधामको पवित्र भूमिलाई परिक्रमा गर्दै अन्तगृह परिक्रमामा सहभागी भएका हुन् ।
धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँगै सुरु भएको मिथिला मध्यमा परिक्रमा बिहीबार सम्पन्न भएको थियो ।
अन्तरगृह परिक्रमा गरेमा १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुने जनविश्वास गरिन्छ । यो यात्रा सकेर जानकी मन्दिर र राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चलमा होली पर्वको विधिवत आरम्भ भएको मानिन्छ । धर्म ग्रन्थहरुमा बृहत, मध्यमा र अन्तगृह गरी तीन परिक्रमाको उल्लेख रहेको पाइन्छ । सोही मान्यता अनुसार मध्यमा परिक्रमामा सहभागी हुन नपाएकाहरु अन्तगृह परिक्रमामा सहभागी हुने गर्छन् ।

