

जनकपुरधाम ।
नेकपा माओवादी केन्द्रका नेताहरूले मधेसवादी दलहरूले अब मधेसको नेतृत्व गर्न नसक्ने भएकाले माओवादीको विकल्प अरू नभएको दाबी गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
नेपाली जनताले परास्त गरिसकेका तत्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए । अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने बताए ।
उनले कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने बताए । अध्यक्ष प्रचण्डले यथास्थितिमा मुलुक चल्न नसक्ने र अब नयाँ आन्दोलन आवश्यक रहेकाले त्यसको तयारीका लागि सबैभन्दा बढी उत्पीडित र अपहेलित बनाइएका वर्ग समुदायको घरमा पुग्नुपर्छ भनेर नै गम्भीर आत्मसमीक्षा सहित आफूहरू जनताको बिचमा आएको स्पष्ट गरे ।
अध्यक्ष प्रचण्डले पार्टीले अघि बढाएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपाललाई राज्यको मूल प्रवाहमा जोड्दै नयाँ राष्ट्रिय एकता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए । यो मार्ग तराई मधेसको जीवन रेखा बन्ने र यसले दक्षिण नेपालको रूपान्तरणमा महत्त्वपूर्ण योगदान गर्ने उनले विश्वास गरे ।
सभालाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्ध र मधेस आन्दोलनका कारण मधेसी जनताले पहिचान, संघीयता, समावेशी, समानुपातिक अधिकार पाएको बताए ।
उनले मधेसवादी दल विभाजन र नातावाद कृपावादले अब मधेसको नेतृत्व गर्न सक्ने अवस्था नरहेकाले परिवर्तनको रक्षा गर्न माओवादीलाई बलियो बनाउने बेला आएको बताए ।
माओवादीका उपमहासचिव गिरिराजमणि पोख्रेलले सीमा क्षेत्रका जनताले राष्ट्रियताको रक्षा गरे पनि राज्यले सीमा क्षेत्रको विकास नदिएको बताए । पार्टीले जनताको जीवन रूपान्तरण गर्ने कार्यक्रम अघि बढाउने बताए ।
अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी रूपान्तरणसहित जनताको बीचमा फर्केको बताए । जनताको जीवन रूपान्तरण नै पार्टीको अबको अभीष्ट भएको उनको भनाइ छ ।
पार्टी उपमहासचिव एवं मधेस प्रदेश इन्चार्ज मातृका यादवले पार्टीले सत्तामुखी होइन जनतामुखी हुने नीति लिएपछि मधेसी जनतामा आकर्षण फर्कन थालेको जिकिर गरे। उनले अब मधेसलाई लाल मधेस बनाउने उद्घोष गरे ।
