

काठमाडौँ ।
देशभरी २सय २७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ६७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन् ।
मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज, एक उपमहानगर, ४६ नगरपालिका र १९ गाउँपालिकामा संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन । कोशी प्रदेशको विराटनगर महानगरपालिकासहित अन्य ३० स्थानीय तह, धरान उपमहानगरसहित १२ नगरपालिका र १७ गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् ।
काठमाडौं महानगर र धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समय टिक्न नसक्ने समस्या देखिएको छ । काठमाडौंका मेयर बालेन्द्र साहले दुई प्रशासकीय अधिकृत भ्रष्टाचारमा संलग्न भएको भन्दै हटाएको दाबी गरेका छन् भने धरानमा २०७९ पछि पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
धरानका मेयर हर्क साम्पाङको दबाबका कारण प्रशासकीय अधिकृतहरूले राजीनामा दिने अवस्था आएको थियो । उपसचिव प्रज्ञादेवी निरौलाले सामाजिक सञ्जालमार्फत दबाबको संकेत गरेपछि उनलाई हटाइएको थियो ।
सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय आवश्यक रहेको बताएको छ । समितिका संयोजक खिमलाल देवकोटाका अनुसार प्रशासकीय अधिकृतहरूलाई अनुकूल वातावरण उपलब्ध गराउन सके मात्र उनीहरू खटाइएका स्थानमा जान इच्छुक हुनेछन् ।
