

जनकपुरधाम ।
लामो समयदेखि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि महोत्तरीको भंगहा नगरपालिकाको नगरप्रमुख आफैले नगरपालिकामा तालाबन्दी गरेका छन् ।
नगरप्रमुख सञ्जीवकुमार साह सहितका जनप्रतिनिधिले नगरपालिकामा तालाबन्दी गरेर साँचो महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई बुझाएका हुन् ।
गत माघ ९ गतेमा निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी समान्य प्रशासन मन्त्रालयले खोसेको थियो । त्यसपछि आठौँ तहका लेखाका अधिकृत रामसागर यादवलाई वरिष्ठताको आधारमा निमित्तको जिम्मेवारी मन्त्रालयले दिएको थियो ।
नगरप्रमुख साहका अनुसार फागुन ४ गतेमा समान्य प्रशासन मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृत तोकेपछि निमित्तको जिम्मेवारी खोसेको थियो । तर हालसम्म उनी नआएको नगरप्रमुखको गुनासो छ ।
प्रशासकीय अधिकृत विहीन हुँदा नागरपालिकाको विकासे काम ठप्प भएको, टेन्डर आह्वान गर्न नसकेकाले बाध्य भएर तालाबन्दी गरी साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएको नगरप्रमुख साहले बताए ।
