

काठमाडौँ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा उठ्न सक्ने संकेत गरेका छन् ।
उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएकाले अब त्यसभन्दा तलको पदमा दाबी नगर्ने बताए । पत्रकारहरुको जिज्ञासामा सिंहले भने, ‘महामन्त्री र उपसभापतिसम्म भएँ । अब प्रधानमन्त्री र सभापति हुन बाँकी छ ।’
सिंहले आफ्नो राजनीतिक यात्रा विद्यार्थी कालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले आफूलाई थप जिम्मेवारी सम्हाल्न सक्षम बनाएको दाबी गरे । २०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा सिंह पनि सभापतिको उम्मेदवार बनेका थिए । तर ३७१ मत मात्र ल्याए ।
पहिलो चरणको मतदानबाट कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान गरिएको थियो । दोस्रो चरणको मतदानमा भने सिंहले अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।
