

काठमाडौं ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारले भूमि अध्यादेश फिर्ता नलिए बाँकी ५ अध्यादेशको पनि विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सरकारले अहिले वार्ता र संवादलाई महत्त्व नदिएको बताए ।
उनले भने, ‘सरकारले भूमि अध्यादेश फिर्ता लिए हुन्छौँ । यो त हाम्रो इज्जतको सवाल भयो, जसरी भए पनि खरिदबिक्री गरेर भए पनि पारित गर्छौँ भनेर लागे हामी बाँकी ५ अध्यादेशको पनि विरुद्धमा मतदान गर्छौँ ।’
उनले भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमा नभएकाले आफूहरूले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए । उनले सरकारले अध्यादेश फिर्ता नलिए केन्द्रीय समितिको बैठकबाट समर्थन फिर्ता लिन सक्ने संकेत गरे ।
उनले भने, ‘भोलिदेखि पार्टीको बैठक छ, त्यो बैठकले अध्यादेश, सरकारसँगको सामिप्यताको बिषयमा पनि निर्णय गर्छौँ । सरकारले अध्यादेश पारित गराउनको लागि अनेक विकल्प खोज्दैछ भनेर सत्तारुढ दलका नेताहरुले भनेका सुनेका छौं । यो फिर्ता नलिएर पारित गरे हामी जनआन्दोलनमा जान बाध्य हुन्छौं ।’
