

काठमाडौँ ।
सरकार तीन दशकपछि सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्दै छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ ऐनको मस्यौदा सार्वजनिक गर्दै राय सुझाव मागेको छ ।
नयाँ ऐनमा सडक सुरक्षादेखि जरिवानासम्मका नियम कडाइ गरिएका छन् । मोटरसाइकल र स्कुटरमा चालक तथा पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्नेछ । नम्बर प्लेटबिनाको सवारी चलाए १० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद हुन सक्छ ।
लाइसेन्सविना सवारी चलाए दुई पाङ्ग्रेका लागि २ हजार, साना तथा मझौला सवारीका लागि ५ हजार र ठूला सवारीका लागि १० हजार रुपैयाँ जरिवाना लाग्नेछ । त्यस्तै, रुट अनुमति नलिई सवारी चलाए १० हजार रुपैयाँ जरिवाना हुनेछ ।
व्यावसायिक सवारी चालक अनुमति पत्र लिन अब कम्तीमा ८ कक्षा पास भएको हुनुपर्छ भने ठूला सवारी चलाउनका लागि २३ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।
सवारी लाइसेन्स अब १८ क्याटेगोरीमा वर्गीकरण हुनेछ भने नवीकरण अवधि १० वर्ष कायम गरिनेछ । इम्बोस्ड नम्बर प्लेटलाई समेत व्यवस्थित बनाइने प्रस्ताव गरिएको छ ।
