

जनकपुरधाम ।
मानव इतिहासकै सबैभन्दा ठूलो धार्मिक समारोह मानिने महाकुम्भ मेला बुधवार महाशिवरात्रिको अवसरमा समापन भएको छ ।
भारतको उत्तर प्रदेशस्थित गङ्गा, यमुना र पौराणिक सरस्वती नदीको सङ्गम स्थल प्रयागराजमा ४५ दिनसम्म चलेको विशाल उत्सवमा करोडौँ श्रद्धालुले पवित्र स्नान गरे । माघ २९ गतेदेखि सुरु भएको मेला फाल्गुन १४ गते महाशिवरात्रिको ‘शाही स्नान’सँगै सम्पन्न भएको हो ।
उत्तर प्रदेश सरकारका अनुसार, यस पटक ६६ करोड भक्तजनले सङ्गममा स्नान गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । जुन भारतको झन्डै आधा जनसङ्ख्या बराबर हो ।
प्रत्येक १२ वर्षमा हुने कुम्भ मेला, सूर्य, चन्द्र र बृहस्पतिको दुर्लभ खगोलीय संयोगका कारण प्रत्येक १४४ वर्षमा ‘महाकुम्भ’ बन्छ । यस पटक भारतसँगै नेपाल, भुटान र बङ्गलादेशबाट आएका लाखौँ तीर्थयात्रीको सहभागिताले मेलालाई थप भव्य बनाएको थियो ।
समापन दिन फाल्गुन १४ गते मात्रै १.५ करोड श्रद्धालुले स्नान गरेको सरकारी दाबी छ । बिहान ११ः०८ बजेदेखि भोलिपल्ट फाल्गुन १५ गते ८ः५४ बजेसम्म चलेको स्नानमा भगवाधारी साधुहरूको नेतृत्वमा ‘हर हर महादेव’ को जय घोषसहित जुलुस निस्किएको थियो । नेपालबाट पनि हजारौँ भक्तजनले शाही स्नानको ऐतिहासिक क्षणमा सहभागिता जनाए ।
उत्तर प्रदेश सरकारले यो विशाल आयोजनालाई सफल बनाउन व्यापक तयारी गरेको थियो । चार हजार हेक्टरमा फैलिएको मेला क्षेत्रमा १ लाख ६० हजार पाल, १ लाख ४५ हजार शौचालय र ६७ हजार बत्तीको व्यवस्था थियो । ४५ हजार सुरक्षाकर्मी, १५ हजार सफाइकर्मी र १० हजार सिसिटिभी क्यामेराले व्यवस्थापनमा सघाए । उत्तरी रेलवेले थप चार विशेष रेल सञ्चालन गरेर तीर्थयात्रीको यात्रा सहज बनायो। मेलाले स्थानीय अर्थतन्त्रमा १.२ खर्ब रुपैयाँ योगदान पु¥याएको अनुमान छ । नेपाली व्यापारीले पनि हस्तकला र धार्मिक सामग्री बिक्री गरेर सांस्कृतिक आदानप्रदानमा भूमिका खेले ।
