Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधामका प्रसिद्ध शिव मन्दिरहरु, प्रचार प्रसार अभावले ओझेलमा





जनकपुरधाम ।
आज महाशिवरात्री पर्व । हिन्दु धर्माबलम्बीहरु धूमधामका साथ भगवान शिवको पूजा अराधना गर्दै महाशिवरात्री पर्व मनाउँदैछन् । यो पर्वलाई लिएर जनकपुरधामका शिव मन्दिरहरुमा समेत श्रद्धालु भक्तजनहरुको भीडभाड देखिदै छ । महाशिवरात्री पर्वको अवसरमा भगवान शिवका मन्दिरहरुलाई सजाइएको छ । जनकपुरधामको शिव चोकमा रहेको शिव मन्दिर, गंगासागर पोखरीको डीलमा रहेको भूतनाथ मन्दिर, वडा नम्बर १२मा रहेको कुपेश्वरनाथ महादेव मन्दिरमा ठूलै भीड लागेको छ । त्यस्तै जनकपुरधामकै कपिलेश्वरनाथ महादेव मन्दिर र गिरनारी कु्ट्टीमा रहेको शिव मन्दिरमा समेत श्रद्धालु भक्तजनहरु पूजा अराधनाकालागि पुगेका छन् । यद्यपि जनकपुरधामका शिव मन्दिरहरुको ऐतिहासिकता तथा पौराणिकताको विषयमा प्रचार प्रसार नहुँदा ओझेलमा पर्दै गईरहेको छ । यहाँ जनकपुरधामका ऐतिहासिक दुई शिव मन्दिरको बारेमा चर्चा गरेका छौँ ।
कपिलेश्वरनाथ महादेव
त्रेता यूगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कूनामा महादेव मन्दिरको स्थापना गरेका थिए । जसमध्ये कपिलेश्वरनाथ महादेव मन्दिरको स्थापना गरेका थिए । प्राचिन कालिन शिव मन्दिर रहेपनि यसको व्यवस्थापन तथा प्रचार प्रसारका लागि सम्बन्धित निकायले ध्यान दिन नसक्दा ओझेलमा परेको आरोप स्थानीयको छ ।
कपिलेश्वरनाथ मन्दिरको संरक्षण, सम्बद्र्धन तथा विकासका कामहरु स्थानीयवासीको अग्रसरता तथा चन्दा संकलन गरेर मात्रै हुँदै आई रहेको छ । यति प्राचिन शिवलिंग रहेपनि यो मन्दिरको विकास तर्फ न प्रदेश सरकारले, न जनकपुरधाम उपमहानगरपालिकाले चासो देखाएको आरोप स्थानीयको छ ।
वि.सं. १९९० सालमा आएको भूकम्पमा मन्दिर भत्किएपछि त्यहाँ रहेको अभिलेख तथा त्यहाँका बहुमूल्य मूर्तिहरु अन्य अन्य स्थानमा लगिएको स्थानीयवासीको भनाई छ ।


मन्दिरको ऐतिहासिकता
धनुषाको सदरमुकाम जनकपुरधाममा रहेको प्रसिद्ध कपिलेश्वरनाथ महादेव मन्दिर समेत ख्याती एवं ऐतिहासिकताको हिसाबले प्रसिद्ध मन्दिर हो । कपिलेश्वर नाथ महादेवको मन्दिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ जनकपुर जयनगर रेल्वेलाइन भन्दा दक्षिणमा अवस्थित छ । गुम्बा जस्तै देखिने यो शिखर शैलीको मन्दिर छ ।
धार्मिक ग्रन्थहरुका अनुसार जनकवंशीय राजा शिरध्वजले जनकपुरको चारै दिशामा महादेवको स्थापना गरेका थिए । ती चार महादेवहरु मध्ये कपिलेश्वरनाथ पनि एक हो । कपिल मुनीको आश्रमको मुनी समेत यहीँ रहेको मान्यता छ । पहिले यो मन्दिरको निर्माण सिमरौनगढ शैलीमा गरिएको थियो । पछि ती संरचना बि.सं. १९९० सालको भूकम्पमा ध्वस्त भएका थिए । सोही स्थानमा विष्णुगिरी नामका एक काँवरिया पुगेका थिए । उनले नै भत्केको मन्दिर तोडाउन लगाएर नयाँ मन्दिर निर्माण गर्ने बताएका थिए । पछि उनी फर्केर आएका थिएनन् ।
मन्दिर तोडेपछि स्थानीय यज्ञप्रसादको भूमिकामा पुरातत्व विभागबाट बि.सं. २०३९ सालमा आर्थिक सहयोग गरेपछि नयाँ मन्दिरको निर्माण भएको थियो । स्थानीयवासीको सक्रियतामा मन्दिरमा शिवलंग पुर्नस्थापना गरिएको थियो भने वर्तमान मन्दिरको निर्माण गरिएको थियो ।
मन्दिर परिसरको चारैतिर स–साना मन्दिरहरु बनाएर त्यसमा भगवानका प्रतिमाहरु स्थापित गरिएका छन । मन्दिरको उत्तर पूर्वमा संतोषी माँ, पूर्व दक्षिणमा गणेश भगवान, दक्षिण पश्चिममा राम जानकी, पश्चिममा शिव पार्वती र पश्चिम उत्तरमा हनुमानजीको प्रतिमा स्थापना गरिएको छ ।
मन्दिर परिसर ५ कठामा फैलिएको छ । यो मन्दिर गुठी अधिनस्थ रहेको छ ।
गिरनारी कुट्टीको शिव मन्दिर
महाशिवरात्री पर्वका लागि शिव मन्दिरहरुलाई पूजाका लागि सजाइएपनि गिरनारी कुट्टीमा ररहेको शिव मन्दिरमा खासै तयारी गरिएको देखिदैन । जनकपुरधामका अन्य शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको भीड देखिएपनि यो मन्दिर भने शिवरात्री पर्वका दिन समेत सुनसान छ । यद्यपि सो मन्दिरमा आकल झुकल श्रद्धालुहरु दर्शनका लागि पुग्ने गर्छन् ।
टिकमगढको गिरनारका वैद्य राम गिरीले सो मन्दिरको स्थापना गरेकाले सो कुट्टीको नाम गिरनारी कुट्टी राखिएको स्थानीयहरु बताउँछन् । उनी टिकमगढका राजाको कुल पुरोहित समेत रहेको बताइन्छ ।
राम मन्दिर तथा जानकी मन्दिरभन्दा पनि पुरानो रहेको सो मन्दिरमा २ वटा शिवलिंग रहेको छ । एउटा शिवलिंग कालो रंगको छ भने अर्को शिवलिंग सेतो रंगको । धार्मिक जानकारहरुका अनुसार शिवलिंग कालो रंगको प्रत्येक स्थानमा पाइन्छ तर सेतो लिंग अदभुत संयोग नै हो । प्राचिन दूबै शिवलिंग नर्मदा नदिबाट ल्याइएको बताइन्छ । कालो शिवलिंगको नाम महाकालेश्वर राखिएको छ भने, सेतो रंगको लिंगको नाम गौरी शंकर राखिएको छ ।


स्थानीयका अनुसार सन १७३४मा गिरनारका वैद्य राम गिरी भगवान रामको ससुराली खोज्दै जनकपुरधाम पुगे । उनी भगवान शिवका परम भक्त थिए । राजर्षि जनक पनि भगवान शिवको परम भक्त रहेकाले उनले जनकपुरधाममा शिवलिंग स्थापना गरे ।
जनकपुरधामको सो कुट्टीमा कहिल्यै श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गथ्र्यो । तर वि.सं. २०२९ सालमा त्यहाँका महन्थको हत्या भएपछि १२ वर्षसम्म सो मन्दिरमा पूजा नै भएन । सो वर्ष तत्कालिन महन्थ रवि गिरी र उनका चेला बिर गिरीको हत्या भयो । उनीहरुको हत्यापछि बन्द रहेको सो मन्दिर स्थानीयको सक्रियतापछि फेरी खोलियो । तर त्यो मन्दिरका लागि पुरानो दिन फर्केर आएन ।
गिरनारी कुट्टी गुठी अधिनस्थ रहेको छ । तर गुठी संस्थानको उदासिनताका कारण यो मन्दिरमा रौनकता आउन सकेको छैन । सो मन्दिरका हालको महन्थ रहेको शिवु गिरी गत ६ वर्षदेखि महन्थ छन् । उनका अनुसार उनलाई गुठी संस्थानले पूजाका लागि ११ सय र तलब ११ सय रुपैयाँ मासिक उपलब्ध गराउँदै आईरहेको छ । त्यसबाहेक गुठी संस्थानले सो मन्दिरमा केही सहयोग नगरेको देखिन्छ । मन्दिरको भवन जिर्ण अवस्थामा रहेपनि त्यसको जिर्णोद्धारका लागि कुनै निकायले पहल नगरेपछि सो मन्दिरले आफ्नो अस्तित्व खोजिरहेको छ ।