

एजेन्सी ।
च्याम्पियन्स ट्रफीमा आज विश्व क्रिकेटका चर्चित दुई टिम भारत र पाकिस्तान भिड्दैछन् । भारत र पाकिस्तानको राजनीतिक द्वन्द्व जस्तै क्रिकेट प्रतिस्पर्धालाई रोचक ढंगले हेर्ने गरिन्छ ।
च्याम्पियन ट्रफीको आयोजकसमेत रहेको पकिस्तानले भारतसँग युएईस्थित दुबई मैदानमा प्रतिस्पर्धा गर्नेछ । आयोजक पाकिस्तान भए पनि भारत क्रिकेट खेल्न पाकिस्तान नजाने भएपछि केही खेल युएईमा हुँदैछन् । भारत र पाकिस्तानको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
समूह ‘ए’मा रहेको भारतले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै दुई अंक जोडिसकेको छ । पहिलो खेलमा भारतले बंगलादेशलाई ६ विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले शुभमन गिलको शतकको मद्दतमा २१ बल बाँकी हुँदै २३१ रन बनाएर भेट्टाएको थियो ।
यता पाकिस्तानले भने पराजयबाट ट्रफीको सुरुवात गरेको छ । उद्घाटन खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनले पराजित भएको हो । सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको ३२० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ओभर २ बलमा सबै विकेट गुमाएर २६० रनमा समेटिएको थियो ।
प्रतियोगिताको आयोजक पाकिस्तानमाथि भारतलाई जित्नै पर्ने दबाब छ ।
