

एजेन्सी ।
अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई)का नवनियुक्त कार्यकारी प्रमुख कश्यप ‘काश’ प्रमोद पटेलले सपथ लिएका छन् ।
बिहीबार एफबीआई प्रमुख नियुक्त भएपछि काश पटेलले शुक्रबार वाशिङ्टन डिसीस्थित आइसेनहावर कार्यालयमा शपथ लिएका हुन् । उनले गीता छोएर पद तथा गोपनीयताको शपथ लिएका थिए। उनी भारतीय मूलका अमेरिकी नागरिक हुन् । शपथ ग्रहण समारोहमा उनका परिवार, प्रेमीका र सहकर्मीहरू उपस्थित थिए ।
शपथ ग्रहण गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेख्दै पटेललाई मजबुत र ताकतवर व्यक्ति भनेका छन् । ह्वाइट हाउसले पनि पटेलको नियुक्तिपछि एफबिआईमा अखण्डता र न्याय स्थापित भएको बताएको छ ।
नवनियुक्त एफबिआई प्रमुख पटेलले आफूलाई साहसी योद्धा भनेकोमा ट्रम्पलाई धन्यवाद दिएका छन् । पटेल ट्रम्पका कट्टर समर्थक हुन्।
यसअघिका एफबिआई प्रमुख क्रिस्टोफर रे ले ट्रम्पको शपथअघि राजीनामा दिएका थिए । ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि आफूलाई हटाउने तय भएपछि रे ले राजीनामा दिएका थिए ।
कार्यभार सम्हालेपछि ट्रम्पले पटेललाई एफबिआई प्रमुखमा सिफारिस गरेका थिए । उनको नियुक्तिलाई लिएर बिहीबार सिनेटले मतदान गरेको थियो । जहाँ पटेलको पक्षमा ५१ सिनेटरले मतदान गरी अनुमोदन गरेका थिए । उनको विपक्षमा रिपब्लिकनका २ सहित ४९ सिनेटरले मतदान गरेका थिए ।
