

एजेन्सी ।
१९ फेब्रुअरीमा पाकिस्तान र युएईमा सुरु हुने च्याम्पियन्स ट्रफीमा भारतलाई ठुलो धक्का लागेको छ । टोलीका सबै भन्दा प्रमुख खेलाडी जसप्रित बुमराह उपस्थित नहुने पक्का भएको छ । च्याम्पियन्स टोलीमा भारत मात्र होइन स्तरीय खेल हेर्न चाहने सबैका लागि यो पक्कै दुखद् हो ।
भारतीय टोलीबाट दुई खेलाडी परिवर्तन गरिएका छन्। यसरी परिवर्तन गरिएका खेलाडीमा बुमराहको स्थानमा हर्षित राना तथा यसस्वी जयसवालको स्थानमा वरुण चक्रवर्ती छन् । यी दुवै खेलाडी कलकत्ता नाइट राइडर्सका हुन् ।
चक्रवर्तीले इंग्ल्यान्डसँगको टी–२० शृङ्खलामा शानदार प्रदर्शन गरेका थिए। प्लेयर अफ द सिरिज हुने क्रममा चक्रवर्तीले १४ विकेट लिएका थिए । यसैगरी इंग्ल्यान्डसँगको शृङ्खलामा नै एक दिवसीय डेब्यु गरेका रानाले सो खेलमा ३ विकेट लिए । राना एक दिवसीय क्रिकेटमा डेथ ओभरका विज्ञ मानिन्छन् ।
बुमराहको पछिल्लो परीक्षणले प्रतियोगितामा बलिङ गर्न असमर्थ रहेको पुष्टि भएको छ । उनको पूर्ण रिपोर्ट तथा खेल्न चाहने समय भने अनिश्चित नै छ ।
उनी खेलमा फर्कने समयको बारेमा सबै अनिश्चित नै रहेको जनाइन्छ । रानाको हकमा भने उनको प्रतिस्पर्धा मोहम्मद सिराजसँग थियो । इंग्ल्यान्डसँगको शृङ्खलामा पहिलो खेलमा लिएको ३ विकेटका लागि प्रमुख छनोटकर्ताको मन जित्न राना सफल भएका हुन् ।
अर्कोतर्फ इंग्ल्यान्डसँगको एक दिवसीय खेलमा अवसर पाएका जयसवाललाई प्रतिस्थापित गर्दै चक्रवर्तीलाई मौका दिने आधार भने टी–२० शृङ्खला नै हो । इंग्ल्यान्डसँगको शृङ्खला जयसवालका लागि भने दुखद रह्यो। उनी बाहेकका अन्य शीर्ष ब्याट्सम्यान सफल भए । भारतले गरेको विभिन्न परीक्षणले फेरि पनि कप्तान रोहित शर्मा र शुभमन गिलको प्रारम्भिक साझेदारी नै उपयुक्त ठहर भएको छ । तीन खेलमा भारतले सबै जिती सकेको छ । पहिलो एक दिवसीयमा कमजोर प्रदर्शन गरेका कप्तान शर्माले दोस्रो एक दिवसीयमा शतक प्रहार गरेका छन् ।
अर्कोतर्फ शुभमन गिल त झन् सानदार फर्ममा रहे । विराट कोहली तेस्रो क्रममा झन्डै पक्का देखिए भने श्रेयास ऐयार र लोकेश राहुल पनि पहिलो रोजाइको टोलीमा रहने पक्का जस्तै भएको छ । इंग्ल्यान्डसँगको शृङ्खलामा मौका पाएका दुवै बायाँ हाते स्पिनर अलराउण्डर अक्षर पटेल र रवीन्द्र जडेजाले राम्रो प्रदर्शन गरेपछि भारतीय टोलीको पहिलो रोजाइमा हार्दिक पाण्डेको स्थान असुरक्षित देखिएको छ ।
टोलीमा पटेल, जडेजा, पाण्डे र वासिङ्टन सुन्दरसहित चार अलराउण्डर छन् । यसमा पाण्डेबाहेक सबै स्पिनर अलराउण्डर हुन यसै गरी, शर्मा, गिल, कोहली र ऐयार गरी चार ब्याट्सम्यान छन् । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त र लाकेश राहुल छन् । विशेषज्ञ सिमर रानाका साथमा आर्सदीप सिंह छन् । विशेषज्ञ बलर चक्रवर्तीको साथमा कुलदीप यादव छन् ।
गत विश्वकप विजयी फ्रन्ट लाइन सिमर बिना अस्ट्रेलियाले यस च्याम्पियन्स ट्रफीका सहभागिता जनाउने भएको छ । मिचेल स्टार्कले व्यक्तिगत कारणले नाम फिर्ता लिएपछि अस्ट्रेलियाको टोलीको नेतृत्व स्टेभन स्मिथले गर्ने भएका छन् । यसअघि नै प्याट कुमिन्स, जोस हजेलउड र मिचेल मार्सले चोटका कारण परिवर्तन गरिएका छन् । यसैगरी मार्कस स्टोनिसको संन्यासका कारण अस्ट्रेलियाको टिमको बलिङ आक्रमणमा नै समस्या देखिएको छ ।
सियन एबोट, बेन ड्रसियस, ज्याक फ्रेजर म्याक गुरुक, स्पेन्सर जोन्सन र तनवीर सांगा टोलीमा अटाएका छन् ।
अफगानिस्तानका एफ जाफन्जर पनि च्याम्पियन्स ट्रफीको पूर्व सन्ध्यामा घाइते भएका छन् । यसरी खेल गुमाउने अन्य स्टारमा इंग्ल्यान्डका ज्याकोब बेथल पनि छन् । भारत भ्रमणको क्रममा उनले चोट बोकेका हुन् ।
न्युजिल्यान्डका दुई खेलाडीले पनि च्याम्पियन्स ट्रफीको पूर्व सन्ध्यामा चोट बोकेका छन् । फेब्रुअरी महिनाको पहिलो सातामा भएको आइएल टी–२० मा लुकी फर्गुसनले चोट बोकेका हुन् । यसैगरी पाकिस्तान श्रीलङ्का सम्मिलित त्रिकोणीय शृङ्खलाको क्रममा रचिन रवीन्द्रले पनि चोट बोके । फिल्डिङको क्रममा घाइते भएका उनको च्याम्पियन्स ट्रफीमा अनुपस्थिति अनिश्चित नै छ ।
पाकिस्तानका हरिस राउफले चोट बोकेका छन् । यसरी चोट बोक्ने खेलाडीमा दक्षिण अफ्रिकाका गेराल्ड कोयट्जे तथा न्रिच नोत्र्जे छन् । यी दुईको चोटपछि कासिगो रबाडा, लुङ्गी एनगीडी तथा मार्को जेन्सनले सबै खेल खेल्ने सम्भावना छ । पेस बलर क्वाना मापाखा भने रिजर्भ खेलाडीको रूपमा पाकिस्तान पुग्ने छन् ।
दक्षिण अफ्रिकी टोली तेम्बा बभुमाको नेतृत्वमा रहने छ । सो टोली पछिल्लो टेस्ट शृङ्खलामा शानदार प्रदर्शन गरेका रेन रिकल्टनमा बढी नै आशावादी छन् । १९ फेब्रुअरीदेखि हुने च्याम्पियन्स ट्रफीको समूह ‘ए’मा बङ्गलादेश, भारत, पाकिस्तान र न्युजिल्यान्ड छन् । यसैगरी समूह ‘बि’मा अफगानिस्तान, इङ्गल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिका छन् । पहिलो खेल १९ फेब्रुअरीमा कराँचीमा पाकिस्तान र न्युजिल्यान्डबीच हुनेछ । भारतले भने पाकिस्तानमा कुनै खेल खेल्ने छैन। भारतका सबै खेल युएईमा हुने छन् ।
हरेक प्रतियोगिताले केही नयाँ स्टारको जन्म गराउँछ । सन् २०२३ को एक दिवसीय विश्वकपले नपत्याउँदो रूपले ट्रेभिस हेडलाई स्टारको रूपमा स्थापित गराएको थियो । हुनसक्छ यस पटकको च्याम्पियन्स ट्रफीले केही नयाँ खेलाडीलाई नयाँ स्टारको रूपमा स्थापित गराउन सक्ने छ । को स्टार बन्छ त्यो सबैको चासोको विषय हो । धेरै पटक नपत्याउँदो रूपले टोलीमा अटाएका खेलाडीले नै सफलता दिलाएका छन् । यस पटक कसको भाग्य चम्किन्छ भनेर खेल सुरुभएपछि मात्र भन्न सकिन्छ ।
