जनकपुरधाम ।
बाराको नवजन्म सुधार केन्द्रमा १५ दिन अगाडि भर्ना भएका प्रदीप प्रसाद मण्डलले अनुशासन भंग गर्दा दण्ड स्वीकार नगरेपछि सामूहिक कुटपिटबाट मृत्यु भएको खुलासा भएको छ ।
बारा प्रहरीले गरेको सोधपुछमा पक्राउ परेकाहरूले मृतक मण्डलले मुर्गा बन्न नमान्दा भएको सामूहिक कुटपिटबाट मृत्यु भएको बयान दिएका छन् । बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार मृतक मण्डललाई बिहीबार राती अनुशासन भङ्ग गरेको भन्दै सजाय दिन खोज्दा उनले नमानेपछि भएको कुटपिटका कारण मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरूले त्यो सजायलाई आफ्नो भाषामा ‘कन्सिक्वेन्स’ पनि भन्दा रहेछन् । यद्यपि, यसको नेपाली अर्थ भने परिणाम हो । तर उनीहरूले यसलाई बेग्लै कोट भाषाको रूपमा प्रयोग गर्ने गरेको पाइएको प्रहरी प्रमुख तामाङ बताए । बारा प्रहरीका अनुसार मण्डललाई दुई साताअघि मात्रै परिवारले नै पुनः स्थापना केन्द्रमा भर्ना गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घाइते मण्डललाई केन्द्रका परामर्शदाताले सुरुमा उपचारका लागि कलैया सिटी अस्पताल लगेका थिए । तर त्यहाँ उपचार नहुने भएपछि मण्डललाई कलैया प्रादेशिक अस्पताल लगिएको उनीहरूले प्रहरीसँगको बयानमा भनेका छन् ।
त्यही पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेका थिए । पक्राउ परेका ७ जनामाथि कर्तव्य ज्यान कसुरअन्तर्गत सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।