

एजेन्सी ।
शनिबार राति नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड मच्चिँदा ज्यान गुमाएका १८ जनाका परिवारलाई भारतीय रेलवेले जनही १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
यस्तै घटनामा गम्भीर घाइते भएकाहरूलाई २ लाख ५० हजार र सामान्य घाइतेलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा भारतीय रेलवेले गरेको छ । भारतीय पत्रिका दैनिक भास्करका अनुसार करिब ९ः२६ बजे भएको भागदौडमा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको हो । घटनामा २५ भन्दा बढी घाइते भएका छन् ।
दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो । महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो । राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चियो ।
रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन् । नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मृत्यु भएकाहरूप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार फेब्रुअरी १०, २०१३ मा पनि कुम्भको समयमा प्रयागराज स्टेसनमा भागदौड हुँदा ३६ जनाको मृत्यु भएको थियो ।
