

काठमाडौ ।
२०८२ सालमा २ पटक चन्द्रग्रहण लाग्नेछ । भाद्र २२ गते आइतबार भाद्रशुक्ल पूर्णिमा तिथिका दिन तदनुसार सेप्टेम्बर ७ र ८ तारिख खग्रास चन्द्रग्रहण लाग्नेछ ।
२२ गते आइतबार रात्रि १० बजेर ११ मिनेटमा स्पर्श, रात्रि ११ बजेर १५ मिनेटमा सम्मिलन, रात्रि ११ बजेर ५६ मिनेटमा मध्य, रात्रि १२ बजेर ३८ मिनेटमा उन्मीलन, रात्रि १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ । यो चन्द्रग्रहण नेपाल भारत लगायत एसियाका धेरै देशबाट अवलोकन गर्न सकिनेछ ।
कूल तीन घण्टा ३० मिनेट ग्रहण रहनेछ । चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि अर्थात् भाद्र २२ गते दिउसो १ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ ।
पूर्णिमा तिथिका दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटा सरल रेखामा पर्दा सूर्य र चन्द्रमा १८० डिग्रीमा हुन्छ । त्यस बेला सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्छ । त्यस्तो अवस्थामा पृथ्वीको छायाले चन्द्रमा ढाकिन्छ । पृथ्वी ठुलो भएकाले छायाले चन्द्रमा पूरै ढाकिने भएकाले प्रायः खग्रास चन्द्रग्रहण लाग्ने गर्दछ ।
त्यस्तै २०८२ फाल्गुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमा तिथि तदनुसार ३ मार्च २०२६ का दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्नेछ । यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास भए पनि काठमाडौँबाट साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय भएसँगै खण्डग्रास मात्र देखिने र रात्रि ७ बजेर २ मिनेटमा मोक्ष हुनेछ । १९ गते मंगलबार बिहान ९ बजेर ३ मिनेटबाट बाल, वृद्ध, रोगी र आतुरलाई बाहेक शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ ।
