

एजेन्सी ।
अयोध्यास्थित रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको बुधबार बिहान ७.१५ बजे निधन भएको छ ।
८५ वर्षीय महन्त दासलाई फेब्रुअरी ३ मा ब्रेन स्ट्रोक भएको थियो । यसपछि, उनलाई लखनऊको संजय गान्धी पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरियो । गत हप्ता मात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएका थिए ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ट्विटरमा लेखेका छन्, “भगवान रामका परम भक्त तथा श्री रामजन्मभूमि मन्दिर, श्री अयोध्या धामका मुख्य पुजारी आचार्य श्री सत्येन्द्र कुमार दास जी महाराजको निधन अत्यन्तै दुःखद र आध्यात्मिक जगतको लागि अपूरणीय क्षति हो । विनम्र श्रद्धाञ्जली । म भगवान श्री रामसँग दिवंगत आत्मालाई आफ्नो चरण कमलमा स्थान प्रदान गर्न र शोकमा डुबेका शिष्य र अनुयायीहरूलाई यो अतुलनीय क्षति सहन सक्ने शक्ति प्रदान गर्न प्रार्थना गर्दछु । ओम शान्ति ।”
डिसेम्बर ६, १९९२ मा बाबरी मस्जिद भत्काइँदा सत्येन्द्र दास मन्दिरका पुजारी थिए । मस्जिद भत्काउनुअघि महन्त दासले मूर्तिहरूलाई नजिकैको मन्दिरमा सारेका थिए र मस्जिद भत्काइएपछि उनले त्यहाँ बनाइएको अस्थायी मन्दिरमा मूर्ति राखेका थिए ।
