

रौतहट ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक ठोकिँदा स्कार्पियोका चालक सहित ५ जना गम्भीर घाइते भएका छन् ।
आज बिहान ८ः२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट सर्लाही तर्फ जाँदै गरेको ना ४ च ३६९४ नम्बरको स्कारपिओ र विपरीतबाट आउँदै गरेको बा प्र ०१–००६ ख ५७ २९ नम्बर को ट्रक एक आपसमा ठक्कर लागेको थियो । ठक्करबाट स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका ३ का वर्ष २० को सुदीप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ ।
दुर्गा भगवती गाउँपालिका ५ का वर्ष १८ को प्रशान्त ठाकुरको बायाँ हात, दाहिने आँखी, भौँमा चोट लागेको छ । चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका वर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले रातोपाटीलाई बताएका छन् । त्यसैगरी बौधीमाई २ का वर्ष १८ को प्रदीप कुश्वाहा निधार टाउको, कानमा चोट अवस्था मध्यम रहेको छ ।
बारा सिम्रौणगढ नगरपालिका ७ का वर्ष २८ को संतोष कुश्वाहाको टाउको, चिउडोमा चोट अवस्था सिरियस रहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन् । घाइतेहरूलाई उपचारको लागी चन्द्रपुर प्रालि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य अवस्थामा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताएका छन् ।
दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरि नगरपालिका ४ बस्ने वर्ष २८ को फुरी तामाङ र स्कार्पियो इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको तथा अनुसन्धान भइरहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन् । घटनास्थलमा शान्ति सुरक्षाको कारण सई महानन्द कुमार यादवको कमान्डमा टोली खटाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
