

काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।
आइबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने गरेर बैठक बोलाइएको हो । बैठकमा सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशमा देखिएको गतिरोध लगायत विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
कांग्रेस एमाले गठबन्धन सरकारलाई सफल पार्न भन्दै ८ सदस्यीय राजनीतिक संयन्त्र बनाएको छ ।
गत कात्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो ।
सरकारले यही माघ २४ गते प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेको थियो । तर, राष्ट्रियसभामा निर्णायक रहेको जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले गरेको प्रयास असफल भएपछि त्यो दिन दुवै सदनको सूचीबाट अध्यादेशलाई हटाइएको थियो ।
सरकारले माघ १८ गते दुवै सदनमा ६ वटा अध्यादेश पेस गरेको थियो । प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको ५० बढी प्रस्ताव दर्ता गरेका छन् ।
