‘म पैसाबाट आइनँ…! आफ्नै हिसाबले (सफल) भएँ। म यही शब्दावली प्रयोग गर्छु र त्यसमा गर्व पनि छ’
८२ वर्षीय अर्बपति ज्याक कविनसँग जीवन र व्यवसायका बाँड्न मिल्ने कयौँ सामान्य कुराहरु छन्।
उनले फास्ट फुड बिक्री गरेर दौलत कमाए। सन् १९६९ मा उनले अस्ट्रेलियामा पहिलो केएफसी स्टोर किने। जुन पछि गएर ५५ स्टोरको फ्रेन्चाइजका रुपमा हुर्कियो। एक कम्पनी प्रतिनिधिका अनुसार त्यसपछि उनले सन् २०१३ मा ७ करोड १० लाख अमेरिकी डलरमा त्यसलाई बेचे।
कविन कम्पिटिटिभ फुड्स अस्ट्रेलियाका संस्थापक र प्रमुख समेत हुन्। यो त्यही कम्पनी हो जसले अस्ट्रेलियामा ‘हंग्री ज्याक्स’को नामबाट बर्गर किंग सञ्चालन गर्छ।
आज यो ४०० रेस्टुराँभन्दा बढी संख्यामा फैलिसकेको छ। यसबाहेक उनी अस्ट्रेलियामा डमिनोज पिज्जाका ठूलामध्येका एक सेयर सदस्य छन्। उनी भी२फुड भनिने वनस्पतिमा आधारित मासुसम्बन्धी कम्पनीलाई पनि समर्थन गर्छन्।
उनको व्यवसाय ३ अर्ब अमेरिकी डलर बढी मूल्यवान् भइसकेको छ भने हरेक वर्ष ३० करोड डलर भित्र्याउँछ।
…
फास्ट फुड साम्राज्य सुरु गर्नुअघि कविन विश्वविद्यालयमा फुटबल खेल्थे र व्यावसायिक रुपमै खेल्छु भन्दै ठट्टिन्थे।
सीएनबीसीसँग उनले यसबारे भनेका छन्, ‘व्यवसाय भनेकै सामूहिक खेल न हो।’
‘दाँतको चिकित्सक नहुनु…’ सीएनबीसी मेक इटसँग उनले यसको कारण पस्किए, ‘जब तपाईं दाँत फुकालिरहनुभएको छैन तबसम्म पैसा पनि कमाइरहनुभएको हुँदैन।’
गएको डिसेम्बर १६ मा सीएनबीसीसँग गफिएका उनी अझै रोकिएनन्।
‘यदि तपाईं केही बन्न चाहनुहुन्छ भने त्यो नै ठूलो कुरा हो र यसमा धेरै (सम्भावनाका) क्षेत्रहरु छन्। तपाईं त्यसमा एक सामूहिक खेलाडी बन्नुपर्ने हुन्छ। त्यसका लागि मानिसहरुसँगको अन्तक्र्रियामा सामेल हुनुपर्ने हुन्छ’, उनले भने, ‘तथ्यबारे सचेत हुनु किनभने तपाईं यसलाई आफूले मात्र गर्न सक्नुहुन्न।’
व्यवसायप्रति उनको बुझाइ निकै घतलाग्दो छ। आफ्नो आवश्यकतापूर्तिका लागि गरिने कुरालाई उनी बिजनेस भन्दैनन्।
‘यो त अरुको आवश्यकता पूरा गर्नेसम्बन्धी कुरा हो, अरुभित्र कर्मचारी होलान्, ग्राहक, लगानीकर्ता वा व्यावसायिक साझेदार पर्लान्’, उनी भन्छन्, ‘अरुले रुचाएको व्यक्ति बन्नसक्नु र जन्मजात प्राप्त उत्सुकता र केही सिक्ने चाहना हुनु नै मेरो सफलताको साँचो हो।’
जीवनमा हराइरहेको अनुभूति गर्ने युवापुस्तालाई के सल्लाह दिन चाहनुहुन्छ त भन्ने प्रश्नमा कविनको जवाफ छ, ‘यदि तपाईं हराउनुभएको छ भने केही कुरा गरेर सक्रिय पार्नुस्!’
‘म जीवनमा केही कुरा भनेजस्तो नभएका वा सेवाबाट हटाइएका मानिसहरुलाई हेर्छु। उनीहरु किनारामा उभिएको र आत्मविश्वास हराएको देख्छु’, उनले थपे, ‘सफल हुन त तपाईं खेलमा संलग्न हुनैपर्छ।’
केही समय यतिकै बसे पनि सधैँ निष्क्रियताको चक्रमा नअल्झिराख्नु महत्त्वपूर्ण हुने उनी बताउँछन्।
‘केही न केही गरेर तपाईं आफ्नो जीवनको मूलप्रवाहमा फर्किनैपर्छ, मानिसहरुसँग अन्तक्र्रियामा संलग्न हुनुपर्छ’, उनको सुझाव छ, ‘सोचेर मात्रै नबस्नुस्, कदम अघि बढाउनुहोस्।’
आज तिनै कविनले डोमिनोज पिज्जा र हंग्री ज्याक्सकै व्यवसाय वरिपरि रहेर विश्वभर डेढ लाखजति रोजगारी सिर्जना गरेका छन्। जसका १२ देशमा ४ हजारजति स्टोरहरु फैलिएका छन्।
बुढ्यौलीको जीवनयात्राकै बीच उनी व्यवसायबाट भाग्ने योजनामा छैनन्।
‘यदि त्यहाँ मेरो जीवनको सारांश थियो भने यसलाई मैले बाहिर निकाल्नुको साटो एउटा साहसिक यात्राको रुपमा हेर्थेँ’, उनी भन्छन्, ‘नयाँ नयाँ कुरा गर्नु, नयाँ व्यवसाय वा अरु केही, यो एक साहसी र निकै रमाइलो कुरा हो।’
को हुन् कविन?
सन् १९४२ जुलाई १३ मा क्यानडाको अन्टारियोमा उनको जन्म भयो। राष्ट्रियताका हिसाबले उनी क्यानडेली र अस्ट्रेलियाली हुन्।
उनका बुबा स्ट्यान्ले जे कविनलाई सवारीसाधन कम्पनी फोर्डले अस्ट्रेलियामा पठायो। पछि उनले आफ्ना छोरा कविनलाई पनि त्यहाँ बसाइँ सर्न प्रेरित गरे।
बाल्यकालमा कविनले घाँस काट्ने काम गरे। पत्रपत्रिका बेचे। उनले सन् १९६४ मा युनिभर्सिटी अफ वेस्टर्न अन्टारियोबाट आर्ट्समा स्नातक गरे। टोरन्टोमा रहँदाका ४ वर्ष उनी इन्स्योरेन्स सेल्सम्यान भए। जुन अस्ट्रेलिया जानुअघिको कुरा थियो। अस्ट्रेलियामा गएपछि व्यावसायिक अवसर खोजे। सिडनीमा रहेको एक चिनियाँ रेस्टुराँमा मान्छेहरुको लामो लाइन देखेपछि उनलाई फास्ट फुड व्यवसायको आइडिया फु¥यो। यसमा उनले आफ्नै व्यावसायिक जीवन देखे।
२६ वर्षको उमेरमा फेरि अस्ट्रेलिया फर्किएका कविनले केन्टुकी फ्राइड चिकेन (केएफसी) विस्तारबारे मूल्यांकन गरे। जतिखेर अस्ट्रेलियामा फास्ट फुडका सीमित विकल्प मात्र थिए। पश्चिम अस्ट्रेलियामा उनले १० वटा केएफसी फ्रेन्चाइज खोल्ने अधिकार किने। ३० जना क्यानडेलीबाट प्रत्येकसँग उनले १० हजार क्यानडेली डलर संकलन गरे।
यो तयारीपछि उनी श्रीमती र सानो बच्चासँगै बसाइँ सरे। सन् २००६ को मार्चसम्म उनले जोसँग त्यो रकम उठाएका थिए, त्यो लगानी करिब ८९ लाख अस्ट्रेलियन डलर पुगेको थियो। ८ वटा केएफसी आउटलेट खोलेपछि उनले बर्गर किंगको अधिकार पनि खरिद गरे।
तर बर्गर किंगको ट्रेडमार्क अरुले पहिले नै खरिद गरिसकेको थाहा पाए। पछि उनले त्यसलाई हंग्री ज्याक्स बनाए। नाम र अरु कारण हंग्री ज्याक्सको व्यवसाय भनेजस्तो भएन। केही विवादहरु थिए। जुन पछि उनकै पक्षमा सुल्झियो। यो कुरा कविनले द बिलियन डलर सेक्रेट पुस्तकमा उल्लेख गरेका छन्।
उक्त विवाद सर्वोच्च अदालतसम्म पुग्यो र अदालतले अन्ततः हंग्री ज्याक्स लिमिटेडलाई साढे ४ करोड अस्ट्रेलियन डलर तिर्ने फैसला गरिदियो। पछि बर्गर किंग यसविरुद्ध पुनरावेदनमा गए पनि असफल भयो। बरु हंग्री ज्याक्सको व्यवसाय ध्वस्त पारेको भन्दै अदालतले ७ करोड १० लाख अस्ट्रेलियन डलर तिर्न आदेश दियो।
त्यसपछि उनको व्यवसाय निरवरोध सञ्चालनमा गयो। कविनले धेरै कम्पनीहरुसँग जोडिएर काम पनि गरेका छन्। उनी डोमिनोज पिज्जाको ठूलो सेयर सदस्य हुन् भने ब्रिजक्लाइम्ब सिडनीमा उनको ४० प्रतिशत सेयर स्वामित्व छ।
फोर्ब्समा छाएका अर्बपति
ज्याक कविन फोर्ब्समा छाएका अर्बपति हुन्।
सन् २०२४ को फोर्ब्स अर्बपति सूचीमा ९२०औँ धनी रहेका उनीसँग सन् २०१५ मा १.२ अर्ब डलर सम्पत्ति थियो।
२०१९ सम्म उनी १.८ अर्ब डलरका मालिक रहे। सन् २०२० मा उनको सम्पत्ति घटेर १.६ अर्ब डलरमा खुम्चिन पुग्दा २०२१ मा ह्वात्तै बढेर ३.२ अर्ब डलर पुग्यो।
त्यसपछि फेरि २०२३ मा २.७ अर्ब डलरमा झरेको सम्पत्ति सन् २०२४ मा साढे ३ अर्ब डलरमा उक्लियो।
फोर्ब्सका अनुसार शुक्रबारसम्म उनी ३.४ अर्ब डलरका मालिक छन्।
ज्याक फास्ट फुड व्यवसायबाट आफ्नै बलबुतामा अर्बपति बनेका हुन्। उनका ४ जना सन्तान छन्।
सीएनबीसीको सहयोगमा