जनकपुरधाम ।
जनकपुरधामस्थित ऐतिहासिक राम मन्दिरको दक्षिण प्रवेशद्वारको शिलान्यास शनिबार विशेष समारोहबीच सम्पन्न भएको छ ।
मधेश प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरको संसदीय विकास कोषको सहयोगमा निर्माण हुन लागेको प्रवेशद्वारको लागत डेढ करोड रुपैयाँ अनुमान गरिएको हो ।
प्रदेशसभा सदस्य ठाकुर र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले संयुक्तरूपमा प्रवेशद्वारको शिलान्यास गरेका हुन् । प्रवेशद्वार निर्माणका लागि संसदीय कोष, उपमहानगरपालिका र संघीय कोषको संयोजन गरिएको छ । ५० लाख रुपैयाँ ठाकुरको संसदीय कोषबाट, ५० लाख जनकपुरधाम उपमहानगरपालिकाबाट र बाँकी ५० लाख प्रतिनिधि सभा सदस्य मनीष झाको संसदीय विकास कोषबाट जुटाइएको छ ।
उक्त प्रवेशद्वारसँगै राम मन्दिरको पूर्वतर्फ रहेको पार्कको विकासका लागि पनि जनकपुरधाम उपमहानगरपालिकाले ५० लाख रुपैयाँको बजेट छुट्याएको छ । महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ताले यो विकासका लागि डीपीआर (डिटेल्ड प्रोजेक्ट रिपोर्ट) तयार भइसकेको जानकारी दिए ।
जनकपुरधाममा धार्मिक पर्यटनको प्रवद्र्धनका लागि राम मन्दिरको महत्व झन् बढ्दै गएको सन्दर्भमा यस प्रवेशद्वारको निर्माणले पर्यटक र भक्तजनका लागि थप आकर्षण थप्ने महावीर युवा कमिटीका अध्यक्ष गुप्ताले विश्वास व्यक्त गरेका छन् ।