Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

विश्वभर कुल मृत्युको कारकमध्ये क्यान्सर दोस्रो स्थान, नेपालमा हुने मृत्युमध्ये ११प्रतिशत क्यान्सर पीडित





काठमाडौँ ।
आज फेब्रुअरी ४ विश्व क्यान्सर दिवस । यो पटकको क्यान्सर दिवसको नारा ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने छ । पछिल्लो समय विश्वभर नसर्ने रोगको भार बढ्दै छ । विश्वको कुल मृत्युमध्ये क्यान्सर दोस्रो स्थानमा छ ।
सन् २०२२ को एक अध्ययनले विश्वभर करिब दुई करोड क्यान्सरपीडित रहेका देखाएको छ । जसमध्ये ९७ लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।
नेपालमा पनि नसर्ने रोग लागेकाहरूको संख्या बढिरहेको छ । एक दशकको अवधिमा १३ प्रतिशत क्यान्सर रोगी थपिएका छन् । सन् २०२२ मा नेपालमा क्यान्सरका २२ हजार बिरामी थपिएका थिए । यसमध्ये १४ हजारभन्दा बढीले ज्यान गुमाए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० अनुसार नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी हिस्सा अर्थात् ७१ प्रतिशत नसर्ने रोग कारक बनेको छ । यसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको सरकारी तथ्यांक छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ओन्कोलोजिस्ट डा. कृष्णसागर शर्माका अनुसार भने नेपालमा पछिल्ला हरेक वर्ष २६ हजार क्यान्सरका नयाँ बिरामी थपिएका छन् ।
नेपालमा फोक्सो, स्तन र पाठेघरका क्यान्सरपीडित छन् । त्यस्तै बालबालकिामा ब्लड क्यान्सर, ग्ल्याड क्यान्सर र सार्को क्यान्सर सबैभन्दा धेरै देखिएको डा. शर्मा बताउँछन् । ‘महिलामा भने पाठेघरको क्यान्सर एक नम्बरमा छ । दोस्रोमा ब्रेस्ट क्यान्सर र तेस्रोमा पेटको क्यान्सर छ,’ उनले भने, ‘पुरुषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ । प्रोस्टेट क्यान्सर, मुखको वरिपरि हुने क्यान्सर र त्यसपछि ब्लड क्यान्सर बढी भएको पाइएको छ ।’
विश्वमा तीव्र रूपमा आएको जीवनशैली परिवर्तन, खानपान र रहनसहनका कारण क्यान्सरका बिरामीहरू बढ्दै गएका छन् । नेपाललगायत देशमा भएको सर्वेक्षणले खानपान र जीवनशैलीमा भएको परिवर्तनका साथै शारीरिक क्रियाकलापमा आएको कमीले क्यान्सरजस्ता नसर्ने रोग बढेको देखाएको छ ।
क्यान्सर विभिन्न कारणले हुन्छ । तर अधिकांश खराब जीवनशैलीका कारण हुने गरेको पाइन्छ । ओन्कोलोजिस्ट डा. शर्माका अनुसार क्यान्सरको कारण यही हो भनेर साध्य हुँदैन । तर, महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिएको उनी बताउँछन् । यो क्यान्सरको मुख्य कारण सानो उमेरदेखि नै शारीरिक सम्बन्धमा संलग्न हुनु, धेरै मान्छेसँग शारीरिक सम्बन्ध राख्नुलगायत हुन् । ‘दोस्रोमा ब्रेस्ट क्यान्सर छ, यो वंशज पनि हुन्छ,’ उनले भने, ‘त्यसबाहेक महिलामा अरूलाई जस्तै देखिने क्यान्सर भएको छ । चुरोट र सूर्तीजन्य पदार्थ मात्रै रोक्न सकिए पनि आधाजस्तो क्यान्सर रोक्न सकिन्छ ।’
वातावरणीय कारण पनि क्यान्सर हुन सक्छ । चर्को घाममा बढी काम गर्दा छालाको क्यान्सर हुन सक्छ । पोलेको मासु, अस्वस्थ खाना खाँदा, सागसब्जी कम खाँदा आन्द्राको क्यान्सर हुन सक्ने डा. शर्मा बताउँछन् ।
मुख्यतः खराब खानपिन, रहनसहनका कारण क्यान्सर हुने हुँदा व्यक्ति आफू नै सचेत हुनुपर्ने अत्यन्त जरुरी देखिन्छ । सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, धेरै तनाव नलिने, स्वस्थ्य जीवनशैली अपनाउन डा. शर्मा सुझाउँछन् । यसो गर्दा क्यान्सर रोकथाम गर्न सकिन्छ । उनी भन्छन्, ‘मादक पदार्थ सेवन नगर्ने, सूर्तीजन्य पदार्थ सेवन नगर्ने, धूम्रपान नगर्ने र पोलेको मासु नखाने हो भने एक तिहाइ क्यान्सर रोक्न सकिन्छ ।’
यस्तै, एक तिहाइ क्यान्सर पहिलो फेजमै पत्ता लगाउन सकिने र जुन उपचारपछि निको हुने पनि उनी बताउँछन् । त्यस्ता एक तिहाइ क्यान्सरमा सुरुमै जटिलता देखिने भएकाले उनीरूलाई प्यालियटिभ केयर (सुरुमै उपचार) गर्नुपर्ने शर्मा बताउँछन् ।
स्वास्थ्य मन्त्रालयले क्यान्सर नियन्त्रणका लागि विभिन्न कार्ययोजना तथा रणनीतिहरू अघि सारेको छ । आज विश्व क्यान्सर दिवसको अवसरमा देशभरका कक्षा ६ देखि १० सम्म अध्ययनरत बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप लगाइँदै छ । स्तन, फोक्सो, ब्लड, ग्ल्याड, सार्कोलगायत क्यान्सर निदानका लागि अन्य विभिन्न कार्यहरू रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘अन्य क्यान्सरका लागि पनि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० छ । यसभित्र ९ वटा रणनीति छन्, ६० देखि ६२ वटा कार्याविधि छन्,’ उनले भने, ‘सोहीअनुसार काम भइरहेको छ ।’
क्यान्सरका बिरामीलाई वा क्यान्सरबारे सेवा प्रदान गर्न प्रदेशगत रूपमा सातै वटा प्रदेशमा सेवा विस्तार गरिएको छ । ‘प्रदेशअनुसार अस्पताल तोकिएको छ,’ उनले भने, ‘मासिक कार्यक्रमहरू चलिरहेका छन् ।’
३५ किसिमका क्यान्सरको ‘किमो थेरामी’ मा प्रयोग हुने औषधि पनि सम्भवतः माघको अन्तिमसम्म आइपुग्ने डा. बुढाथोकीले जानकारी दिए । ती औषधी सबैलाई निःशुल्क गर्न सकिन्छ कि भनेर आफू लागिपरेका उनले बताए । ‘विपन्न नागरिकको प्याकेजमा गत वर्ष १ अर्ब ११ करोड ३२ लाख ८० हजार १७२ रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘विभिन्न माध्यमबाट सचेतनाको कार्य भइरहेको छ । स्वास्थ्य कर कोष पनि छ । यहाँबाट रोकथाम, जनचेतना, केही उपचार, सामान खरिद गरिएको अवस्था छ ।’
क्यान्सर रोकथाम तथा उपचारका लागि सरकारी निकायको एक्लो प्रयासले भने नहुने भन्दै आम नागरिकालाई आफ्नो स्वास्थ्यमा सचेत हुन उनले सुझाव दिए ।