काठमाडौं ।
मुलुकमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार असार मसान्तयता विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेको हो ।
अमेरिकी डलरमा भने यस्तो सञ्चिति सोही अवधिमा १०.३ प्रतिशत बढेको छ । पुस मसान्तसम्म १६ अर्ब ८४ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिति छ । पुस मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।
पछिल्लो आयातको तथ्यांकअनुसार हालको सञ्चिति रकमले १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने र १७.३ महिनाको वस्तु आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।