

एजेन्सी ।
भारतीय गायक उदितनारायण झा विवादमा तानिएका छन् । एक महिला फ्यानलाई चुम्बन गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।
३१ जनवरीका राति उदित नारायण एक कन्सर्टमा गाउँदै थिए । त्यसपछि सेल्फी खिच्ने क्रममा एक महिला फ्यानले उनको गालामा चुम्बन गरिन् । यसपछि उदितले ती फ्यानलाई ओठमा किस गरे । जुन भिडिओ यतिखेर भाइरल भइरहेको छ ।
सामाजिक सञ्जालमा विभिन्न खाले टिप्पणी भइरहेको छ । केहीले एआईद्वारा भिडिओ बनाइको बताइरहेका छन् । केहीले भने उदितको व्यवहार लज्जास्पद भन्दै टिप्पणी गरेका छन् ।
‘मलाई आफ्नो आँखामा विश्वास लागेन, यो के हुँदै छ । हामी यी सेलिब्रेटीलाई भगवान मान्छौँ,’ एक प्रयोगकर्ताले लेखेका छन् ।
सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उदितले स्पष्टीकरण नै दिनुपरेको छ । उनले भने ‘फ्यानहरू धेरै क्रेजी छन् । हामी त्यस्ता होइनौँ । हामी सभ्य मान्छे हौँ । केही मानिसहरूले यसलाई प्रचार गर्छन् र यसको माध्यमबाट आफ्नो माया व्यक्त गर्छन् ।’
साथै उनले यसमा ध्यान नदिन आग्रह गरेका छन् । ‘यो कुरा भाइरल बनाएर के गर्ने ? भिडमा धेरै मानिस थिए र हामीसँग अंगरक्षक पनि थिए । फ्यानले हामीलाई भेट्ने मौका पाउनुपर्छजस्तो लाग्छ । त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन् । यो सब क्रेज हो, यसमा त्यति ध्यान दिनुहुन्न ।’ उदितनारायण हिन्दी र नेपाली गीतका कारण संगीतप्रेमीमाझ लोकप्रिय छन् ।
