

राजविराज ।
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको महाकुम्भ स्नानका क्रममा बुधबार बिहान भएको भागदौडमा सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका–१ की ६० वर्षीया सुनैनादेवी झा बुधबार बिहानदेखि महाकुम्भ मेलाबाट सम्पर्कविहीन भएको उनका छोरा ललित झाले बताए । ४ दिनअघि सुनैनादेवीसहित ८ जनाको पारिवारिक समूह कुम्भ स्नानकालागि प्रयागराज पुगेका थिए । यस्तै तिलाठी कोइलाडी–३ सकरपुराका ६५ वर्षीय बुलबुल खंग पनि बुधबार बिहानदेखि महाकुम्भ मेलास्थलबाट हराइरहेको वडाध्यक्ष रमेश मुखियाले बताए ।
परिवार र समूहका सदस्यले स्थानीय सुरक्षाकर्मीको समन्वयमा हराइरहेकाको खोजी गरिरहेका छन् ।
