

विराटनगरको नोबेल मेडिकल कलेजकी स्त्रीरोग विशेषज्ञ डा. रश्मि थापा एक दिन अस्पतालबाट डेरा फर्किंदै थिइन् । गाडीको ठक्करबाट सडकमा एउटा कुकुरको छाउरो रगताम्मे भएर पल्टिरहेको थियो । त्यो दृश्यले उनको मन भत्भती पोल्यो । सम्झिइन्, ‘तत्काल उद्धार गर्न पाएको भए बाँच्ने थियो होला ।’ अर्को दिन प्यारालाइसिस भएर सडकमा भौंतारिरहेको कुकुर देखिन् ।
अस्पताल–डेरा गर्ने क्रममा दिनदिनै सडकमा कुकुरहरूको दयनीय अवस्था देखेपछि उनी कुकुर उद्धार गर्ने संस्थाको खोजीमा लागिन् । तर, पूर्वमै त्यस्तो संस्था भेटिनन् । अन्ततः उनी आफैंले संकल्प गरिन्, घाइते तथा बिरामी अवस्थामा रहेका सडक कुकुरको उपचार केन्द्र खोल्ने । ‘कसैको पीडामा सानो सहयोग गर्न सक्दा मन आनन्द हुने रहेछ’, रश्मिले अनुभव साटिन्, ‘खुसी हुन सम्पत्ति कमाएर हैन, सेवा गरेर हो भन्ने लाग्न थालेको छ ।’
कामको व्यस्तताबाट समय निकालेर उद्धार केन्द्र खोल्ने उनको निर्णय आफैंमा उदाहरणीय थियो । करिब ५ वर्षअघि केही स्वयंसेवकको सहयोगमा घाइते, बिरामी र बेसहारा कुकुरको उद्धारमा खटिइन् । दुई वर्ष जति कुकुरको उद्धार र उपचारमा खटिएपछि २०७९ मा उनले ‘साहारा एनिमल सेल्टर’ नामक संस्था खोलिन् । उनी यतिबेला घाइते तथा बिरामी कुकुरको सेवामा समर्पित छिन् । ‘केही समयअघि हामी श्रीमान्–श्रीमती नै विदेशमै सेटल हुने योजनामा थियौं,’ रश्मिले भनिन्, ‘तर, संस्था खोलेपछि छाडेर जान मन मानेन । त्यसपछि मान्छे र कुकुरको सेवामा जीवन समर्पित गर्ने संकल्प गरेँ ।’
बारा कलैयाकी डा. रश्मि बिरामी मान्छेको उपचार सकेपछि असहाय सामुदायिक कुकुरको उद्धार, पुनःस्थापना र उपचारमा खट्छिन् । सडकबाट उद्धार गरिएर ल्याइएका कुकुरलाई ‘ड्रेसिङ’ गरेर फेरि अस्पताल जान्छिन् । अहिले कुकुरको स्याहार सुसारका लागि संस्थामा दुई जना भेटेरेनरी प्राविधिकसहित ५ जना कर्मचारी छन् । उनीहरूको सेवासुविधा पनि रश्मि आफैं व्यहोर्छिन् ।
विराटनगर–५ स्थित मंगलुथानमा १० कठ्ठा जमिन भाडामा लिएर साहारा एनिमल सेल्टर चलाइरहेका छन् । सेल्टरमा कुकुरका लागि सुत्ने बेड छन्, खेल्ने मैदान पनि छ । सुत्नका लागि विशेषगरी पराल, जुटको बोरा र त्रिपाल ओछ्याइन्छ । जाडोमा ओढ्ने ब्ल्याङ्केट पनि छ । उनीहरूलाई मान्छेलाई झैं पौष्टिकयुक्त खाना दिइन्छ । कनिका, सोयाबिन, मुसुरो दाल, कुखुराको मासु मिसाएको जाउलो, तरकारी यहाँका कुकुरका दैनिक खान्की हो ।
संस्थाले हालसम्म झापा, सुनसरी, इलाम, सप्तरीलगायत स्थानबाट घाइते तथा बिरामी कुकुरको उद्धार गरेर उपचार गरिसकेको छ । एनिमल फार्ममा दीर्घ बिरामीदेखि घाइते कुकुर छन् । ‘सेल्टरमा हाल ६० भन्दा बढी कुकुर छन् । क्यान्सर, रिकेट्स, घाउ, कीरा परेका र अपांगता भएका कुकुरको संख्या सेल्टरमा धेरै छ,’ रश्मि भन्छिन्, ‘मान्छेहरू बिरामी हुँदा अस्पताल जान्छन् । परिवार, आफन्तले हेरचाह गर्छन् । तर, कुकुरको न अस्पताल छ, न आफन्त नै ।’
संस्थाको जग बसाल्नका लागि उनले करिब ३५ लाख रुपैयाँ व्यक्तिगत खर्च नै गरेकी थिइन् । कुकुरका लागि यतिका रकम खर्चिंदा उनलाई ‘बेवकुफ’ ठान्ने प्रशस्तै थिए । तर, उनले आफ्नो लक्ष्य छाडिनन् । बरु चुनौती मोलेरै संस्था खडा गर्न अग्रसर भइन् । कुकुरको स्याहारसुसारमा अहिले पनि मासिक २ लाख जति खर्च भइरहेको उनी बताउँछिन् । त्यो सबै रकम रश्मिले नै जुटाउँदै आएकी छन् । ‘सरकारी तवरबाट कुनै सहयोग छैन । मैले आफ्नो आम्दानी सबै यसमै खर्चिरहेकी छु,’ उनी भन्छिन्, ‘यस्तो काममा स्थानीय सरकारको सहकार्यको खाँचो छ ।’
सेल्टरमा ल्याइएका घाइते तथा बिरामी कुकुरलाई उपचारपछि उद्धार गरिएको क्षेत्रमै लगेर छोडिन्छ । तर, अंगभंग भएका वा गम्भीर अवस्थाका कुकुरलाई सेल्टरमै राखिन्छ । क्यान्सरबाट पीडित कुकुरका लागि किमोथेरापीसमेत दिइन्छ । हालसम्म ७० भन्दा बढी क्यान्सरपीडित कुकुरको उपचार गरिएको रश्मिले बताइन् । उनका अनुसार बच्चा जन्माउने सिजनमा यो रोग एउटा कुकुरबाट अर्को कुकुरमा सर्छ । क्यान्सर भएका कुकुरलाई ३ देखि ६ महिनासम्म किमो दिएर निको भएपछि मात्रै उद्धार गरेकै ठाउँमा लगेर छाडिन्छ । रश्मि भन्छिन्, ‘कुकुरको उपचार गर्नु भनेको सिंगो जनस्वास्थ्य र वातावरणका लागि पनि काम गर्नु हो ।’
सामुदायिक कुकुरले दुःख पाउनुको कारण दिन प्रतिदिन भइरहेको उनीहरूको संख्या वृद्धि नै हो । रश्मिलाई लाग्छ, संख्या घटाउन बन्ध्याकरण शिविर हुन जरुरी छ । जसको नेतृत्व स्थानीय सरकारले गर्नुपर्छ । ‘संख्या बढ्न पाएन भने कुकुरको यो हबिगत हुने नै थिएन,’ उनले थपिन्,
‘जन्मिएको जन्मिएै भएपछि समस्या निम्तिएको हो ।’ उनका अनुसार संस्थाले घाइते तथा बिरामी कुकुरको उपचारसँगै बन्ध्याकरण पनि गर्दै आएको छ । विगत तीन वर्षयता करिब १ हजार २ सय बढी कुकुरको बन्ध्याकरण भइसकेको छ । ‘सडकमा बेवारिसे अवस्थामा रहेका कुकुरको अवस्था देख्दा मन पग्लिन्छ । केही समय र माया दिने हो भने, उनीहरूलाई पनि बाँच्नका लागि आधार प्रदान गर्न सकिन्छ ।’
