

काठमाडौँ ।
प्रतिनिधिसभामा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी विधेयकका केही प्रावधानप्रति आपत्ति जनाएका हुन् ।
’सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले मंगलबार उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गराएको थियो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद्को हिउँदे अधिवेशनबाट यसलाई ’फास्टट्रयाक’मा पारित गर्ने बताइसकेका छन् । महासंघले भने सरोकारवाला पक्षसँग समामान्य परामर्श र छलफल नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने प्रावधान समावेश गरी विधेयक अगाडि बढाएको भन्दै सच्याउन आग्रह गरेको छ । ’प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुनेतर्फ पनि महासंघ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा भनिएको छ ।
