Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

फाँसी अघि श्रीमती काशीदेवीलाई दुर्गानन्दले ‘दो हंसोका जोडा बिछड गयो रे’ गीत सुनाएका थिए





जनकपुरधाम ।
अहिले नेपालमा शहीद सप्ताह मनाइदै छ । हजारौँ शहीदहरुको बलिदानीको बलमा मुलुक संघियता सहितको गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको छ । शहीदहरुकै बलिदानीको बलमा नेपाली जनताले जहानिया राणा व्यवस्थाको अन्त्य गर्न सफल भए । तर राजतन्त्र बिरुद्ध जनतामा आक्रोश रहेपनि यसको अन्त्य वर्षोपछि मात्रै भएको थियो । यसका लागि पनि कयौँ शहीदहरुले आफ्नो प्राणको उत्सर्ग गरे । ती शहीदहरुमध्ये एक हुन् शहीद दुर्गानन्द झा ।
शहीद दुर्गानन्द झालाई तत्कालिन राजा महेन्द्रमाथी बम प्रहार गरेको आरोपमा मृत्युदण्ड दिँदा कसैलले कल्पनासम्म गरेका थिएनन् कि देशमा गणतन्त्र आउँछ । तर मृत्युदण्डभन्दा ठीक अगाडी शहीद झाले भविश्यवाणी गरेका थिए देशमा गणतन्त्र आउँछ । त्यसको ठीक ४५ वर्षपछि गणतन्त्रात्मक पद्धतिमा प्रवेश गर्यो । वि.सं. २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र मुलुकको रुपमा घोषणा गरेको थियो । कसैले देशमा गणतन्त्र पनि आउँछ कल्पनासम्म नगरेको समयमा शहीद झाले आफ्नो पत्नी काशीदेवी झालाई आफ्नो मृत्युदण्ड घोषणा पछि भनेका थिए । उनले जेलमा भेट्न पुगेकी श्रीमती र आमालाई भनेका थिए ‘नरोऊ, गणतन्त्र अब आउँछ । तिमीहरू खुशी खुशी गाउँ जाऊ ।’
वि.सं. २०२० सालमा तत्कालिन राजा महेन्द्र शाहमाथि बम प्रहार गरेको आरोपमा पक्राउ परेका बेला त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा श्रीमती काशीदेवी र आमा उनको मृत्युदण्डको ठीक एक दिन अगाडी पुगेका थिए । अर्थात २०२० माघ १४ गते । सहिद दुर्गानन्दले आमालाई भनेका थिए आमा न रोउ, एक दिन यस्तो आउँछ जब तपाईंलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । श्रीमतीलाई भने यो हाम्रो अन्तिम भेट हो ।’
दुर्गानन्द झालाई फाँसी दिने समय तय भएपछि प्रहरीले उनीहरूलाई भेट गराउनकै लागि गाउँबाट बोलाएर ल्याएका थिए । जेलमा भेट्न गएको बेला उनीहरू रोएका थिए । उनीहरू रोए पनि दुर्गानन्दा झाको अनुहारमा कुनै त्रास थिएन ।
फाँसी दिने दिनसम्म दुर्गानन्द झा र काशीदेवी झाको बिहे भएको २ वर्ष मात्रै पूरा भएको थियो । एक नवदुलही, जसको श्रीमानलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । जेलमा पुग्दा काशीदेवी एकदमै भावविह्वल भएकी थिइन् ।
काशीदेव झालाई शहीद दुर्गानन्द झाले ‘दो हंसो का जोडा विछड गयो रे, गजब भयो रामा जुलुम भयो रे’ विरहको गीत सुनाउने गर्थे । मृत्यु दण्ड दिएको ६० वर्ष भईसक्दा पनि हिजै सुनेको गीत जस्तो लाग्छ, काशीदेवीले बताइन् ।
वि.सं. १९९९ वैशाख १४ गते सहिद दुर्गानन्द झा धनुषाको नगराइन नगरपालिका जटही गाउँमा पिता देवनारायण झा र आमा सुकुमारीदेवी झाको गर्भबाट जन्मिएका थिए । उनीहरुको एक मात्र सन्तान दुर्गानन्द झा थिए । १० कक्षामा पुगेपछि उनको विवाह २०१७ सालमा १४ वर्षीया काशीदेवी झासंग भयो । दुर्गानन्द झाको बुबाको निधन भएपछि आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उमगाँवस्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भयो ।
उनी अध्ययन गरिरहेकै क्रममा नेपालमा लोकतन्त्रका लागि संघर्ष चलिरहेको थियो । उमगावँको सो विद्यालयमा लोकतन्त्रका लागि आन्दोलन गर्ने आन्दोलनकारीहरुसंग भेट भएको थियो ।
एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतन्त्रको संघर्षमा लाग्नु भएकाले घरमा एक्लै श्रीमती र बुद्धा आमा हुँदा आवश्यक हेरचाहको कमीले मृतबच्चा जन्मेको थियो । हाई स्कुलमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रवासमा बसेर राजनीतिमा बित्ने हुनाले काशीदेवीसंग उनको भेट महिनामा एक दुई पटकभन्दा बढी हुन सकेको थिएन ।
यता २०१७ साल पुस १ गते राजा महेन्द्रले उठाएको निरङ्कुश कदम विरुद्धमा नेपाली काँग्रेसले आन्दोलनको विगुल फुकी सकेको थियो । राजा महेन्द्रको कुशासन बिरुद्ध शहीद दुर्गानन्द झाको मस्तिष्कमा समेत यो निरंकुशता हटाई छोड्ने अठोट चलिरहेको थियो । भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका काँग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगी उनले राजामाथि बम प्रहार गर्ने योजना बनाएका थिए । २०१८ माघ १९ गते जनकपुर भ्रमणमा आएको बेला महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाइयो ।
कडा सुरक्षाका बीच जानकी मन्दिर पुगेका तत्कालिन राजा महेन्द्रमाथि बम प्रहार गरे तर पड्कन सकेन । राजा महेन्द्र चढेको गाडीको सिसामा बम लाग्यो । उनी बम फालेर कडा सुरक्षाका बिच भाग्न पनि सफल भए । भागेर जनकपुरधाममै एक मन्दिरमा बसे त्यसको भोलीपल्ट फेरी उमगावँ नै फर्केका थिए ।
यता तत्कालिन सरकारले बम कण्ड गराएको भन्दै विभिन्न व्यक्तिलाई धरपकड गर्न शुरु गर्यो । पक्राउ परेकाहरुलाई चरम यातना दिइयो । यो सुनेपछि भारतमा पुगीसकेका शहीद दुर्गानन्द झालाई सह्य भएन । त्यसपछि उनी जयनगरबाट रेल चढेर जनकपुरधाम हिँडेका थिए । तर जनकपुरधाम नपुग्दै तत्कालीन एसपी मानबहादुर राईको नतृत्वमा गएको टोलीले उनलाई पक्राउ परे ।
पक्राउ परेको भोलिपल्ट हेलिकप्टरबाट काठमाडौँको केन्द्रीय कारागारमा ल्याइएको थियो । गिरफ्तारी पछि उनीमाथि राजद्रोहको मुद्दा चलाइयो ।
शहीद दुर्गानन्दलाई मृत्युदण्ड दिन मुलुकी ऐन संशोधन
सरकारले बमकाण्डको अध्ययन गर्नका लागि विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्च स्तरीय छानविन आयोग गठन गर्यो । त्यो आयोगले २०१९ भदौ १९ मा प्रतिवेदन बुझायो । त्यो प्रतिवेदनले शही दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दिएको थियो । तर ब्राह्मणलाई मृत्युदण्ड दिनुहुँदैन भन्ने कुरा त्यति बेलाको कानुनमा उल्लेख थियो ।’ कानुनमा त्यस्तो कुरा उल्लेख भएको थाहा पाएर परिवारका सदस्यहरूले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएका थिए । सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरीकर्तालाई झिकाउन आदेश दिए । सोही वर्ष फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गरे । २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख भयो ।
शहीद दुर्गानन्दलाई माफी मागी बिनतीपत्र लेख भनिएको थियो तर उनले मृत्युदण्डलाई नै शिरोधार्य गरे । उनलाई फाँसी दिएपछि श्रीमती काशीदेवी र उनको आमालाई जानकारी दिइएको थियो । दुर्गानन्दकी आमाले शव मागे पनि दिइएन । पछि परिवारले कुशको शव बनाएर भारतको गयामा अन्तिम संस्कार गरेको थियो ।
माघ १५ गतेका दिन शहीद दुर्गानन्द झालाई फाँसीको सजाय दिइएको थियो । सोही दिनलाई अवसर पारेर नेपाली कांग्रेस प्रत्येक वर्ष बलिदानी दिवस मनाउने गरेको छ ।
नेपाली कांग्रेसबाट राजनीतिको शुरुवात गरेका युवा दुर्गानन्द झा गणतन्त्रका लागि प्राणको आहुति दिए पनि शहीद भने कांग्रेसले घोषणा गर्न सकेन । जबकी पटक पटक नेपाली कांग्रेस सत्तामा पुग्यो । अन्ततः तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि २०७२ फागुन १९ गते उनलाई शहीद घोषणा गरियो । गणतन्त्रका लागि हँसी खुशी फाँसीमा चढेका दुर्गानन्द झाले शहीदको सम्मान पाउनका लागि ५२ वर्ष लामो प्रतिक्षा गर्नु पर्यो ।
तेस्रो चिठ्ठी कसलाई लेखेका थिए ?
शहीद दुर्गानन्द झाले फाँसी दिइएको दिन तीन वटा चिठ्ठी लेखेका थिए । उनले चिठ्ठीहरु लेखेर जेलका चौकिदार बद्रीराम भण्डारीलाई जिम्मा लगाएका थिए । दुर्गानन्द संगै जेलमै सजाय काटेका केही व्यक्तिहरुका अनुसार उनले पहिलो चिठ्ठी कांग्रेसका तत्कालिन सभापति सुवर्ण शम्शेरलाई, दोस्रो चिठ्ठी आमालाई र तेस्रो चिठ्ठी कसलाई लेखेका थिए त्यो स्पष्ट छैन ।
चिठ्ठीको प्रसंग शहीद अरविन्द ठाकुरले आफ्नो मृत्युभन्दा अगाडी कयौँ पटक उठाएका थिए शहीद झाको पत्नी काशीदेवी भन्छिन् । हुनत कयौँ व्यक्तिको अनुमान छ तेस्रो चिठ्ठी चौकीदारले गायब गरेको हुन सक्छ । यसका साथै नेपाली कांग्रेसका तत्कालिन सभापति सुवर्ण शम्शेरलाई के लेखेका थिए त्यो पनि खुलाइएको थिएन । यद्यपि कांग्रेसको आन्दोलनलाई अब कुन दिशा दिने विषमा उल्लेख भएको हुन सक्ने अनुमान छ ।
दोस्रो चिठ्ठीमा शहीद झाले घर परिवारको जिम्मा आमालाई र स्वास्नीलाई दिएर गईरहेको उल्लेख थियो । तर तेस्रो चिठ्ठी कसलाई र सो चिठ्ठीमा त्यस्तो के लेखेका थिए यो विषयमा अननुसन्धान हुनु आवश्यक रहेको कतिपयको माग छ ।