विद्यालयमै पुगेर लक्षित छात्रालाई पाठेघर क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाइने





ढल्केवर।
मिथिला नगरपालिका सहित धनुषा जिल्लामा यहि माघ २३ गतेदेखि विद्यालयमै पुगेर लक्षित छात्रालाई पाठेघर क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाइने भएको छ । आइतबार धनुषाको मिथिला नगरपालिकामा नगर प्रमुख महेन्द्र महतोको अध्यक्षतामा भएको सो खोप अभियानबारे जानकारी गराउन पालिकास्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख महतोले अभियानको क्रममा लक्षित छात्राहरु नछुट्ने गरी नगरपालिकामा खोप अभियान संचालन गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन गर्नुभयो ।
अभिमुखिकरणलाई सहजीकरण गर्दै स्वास्थ्य कार्यालय धनुषाका सिअहेब शिवजी दासले जिल्लामा एच.पी.भी. (Human Papillomavirus) खोप अभियान माघ २३ गतेदेखि फाल्गुन ६ गतेसम्म अभियान संचालन गरिने जानकारी दिनुभयो । यद्यपी देशैभरि क्यान्सर दिवसको उपलक्ष्यमा माघ २२ गतेदेखि अभियान सुरुवात हुने र फाल्गुन ६ गतेसम्म चल्ने उहाँले बताउनुभयो ।

मिथिला नगरपालिकामा समेत माघ २३ गतेदेखि नै खोप अभियान संचालन हुने खोप अभियानको उद्देश्य अनुसार लक्षित वर्गलाई नछुट्ने गरी खोप लगाउन उहाँले आग्रह गर्नुभयो ।
अभिमुखिकरण कार्यक्रममा मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार भण्डारीले एच.पी.भी. खोपको मुख्य उद्देश्य एच.पी.भी. भाइरसको संक्रमणबाट जोगाउने र त्यसको परिणामस्वरूप हुने क्यान्सर र अन्य स्वास्थ्य समस्याबाट बचाउनु रहेको बताउनुभयो । एच.पी.भी. खोपले विशेष गरी गर्भाशयको क्यान्सर, गुदा क्यान्सर र यौन जन्य क्यान्सरको जोखिम कम गर्न प्रभावकारी रहेकोले बताउनुभयो ।
यो खोप अभियान माघ २३ गतेदेखि ५ गतेसम्म विद्यालयमा संचालन गरिने र त्यसपछि एकदिन स्वास्थ्य चौकीमा संचालन गरिने योजना रहेको प्रमुख भण्डारीले जानकारी दिनुभयो । एच.पि.भी. खोप लक्षित उमेर बाहेक अन्य व्यक्तिहरु, गर्भवती महिला, पहिले कुनै खोप लगाउँदा विगतमा देखिएको गम्भीर एलर्जी भएकोलाई लगाउन नमिल्ने पनि उहाँ बताउनुभयो । महिलाको गर्भाशयको क्यान्सर (Human Papillomavirus) को जोखिमलाई घटाउन मद्दत पुग्याउने भएकोले सरकारले यो खोप अभियान संचालन गर्न लागिएको उहाँको भनाइ छ ।
सो अभिमुखिकरणमा मिथिला नगरपालिका जनप्रनिनिधी र स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
खोप लगाउने लक्षित वर्ग
पाठेघरको मुखको क्यान्सर, गर्भाशयको क्यान्सरको कारणले हरेक वर्ष नेपालमा सयौं महिलाको मृत्यु हुने गरेकाले सो जोखिमलाई रोक्न एच.पी.भी. एकदमै प्रभावकारी र सुरक्षित रहेको छ । यो खोप अभियानमा ९ देखि १४ वर्षका बालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
नियमित एच.पि.भी खोप लगाउने लक्षित समूहमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीहरु रहेका छन् भने अभियानको लक्षित समूहमा विद्यालयमा अध्ययन गर्ने कक्षा ७ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीहरु रहेका छन् । अभियानमा सिकोलिन खोप उलब्ध हुने र यसले एच.पि.भी प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्ने काम गर्दछ ।
पछिल्लो एक अध्ययन अनुसार यो खोप १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एक मात्रा लगाएपछि यसको पूर्णमात्रा हुन्छ र विगतमा एक मात्रा एच.पि.भी खोप लगाएका किशोरीहरुले अर्को मात्रा लगाउन नपर्ने खोप विज्ञहरुको कथन छ । एकदमै मंहगो पर्ने यो खोप नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको छ ।
स्वास्थ्यकर्मीहरुरुका अनुसार एच.पि.भी.(Human Papillomavirus) एक प्रकारको भाइरस हो, जसले पाठेघरको मुखको क्यान्सर, यौन अंगका क्यान्सर संक्रमण लगायत विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । यो भाइरस प्रायः यौन सम्पर्क मार्फत फैलिन्छ र त्यसको कारणले महिलामा पाठेघरको मुखको क्यान्सरको खतरा बढी हुन्छ । एच.पि.भी. संक्रमणको उपचार सम्भव छैन, तर यसको रोकथाम गर्नका लागि एच.पी.भी. (Human Papillomavirus) खोप पूर्ण प्रभावकारी रहेको खोप विज्ञहरु बताउँछन् ।