

जनकपुरधाम ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सीप बिना रोजगार सम्भव नरहेको बताएका छन् ।
वैदेशिक रोजगार बोर्डको आयोजनमा महोत्तरीमा भएको सुरक्षित वैदेशिक रोजगारीका विविध विषयमा सरोकारवला निकायहरु सँगको अन्तरक्रिया कार्यक्रममा उनले कुनै पनि देशमा मात्रै सरकारले रोजगार दिएको अवस्था नरहेको बताउँदै रोजगारलाई सीपसंग जोड्न सके मात्रै रोजगारी समस्याको अन्त्य हुने बताए । अहिले देशमा निर्माणको क्षेत्र होस्, गहनाको कारीगरी, विकास निर्माणमा उपयोग हुने सामाग्रीहरु अहिलेपनि बाहिरै बाट ल्याउनुपर्ने बाध्यता रहेको मन्त्री भण्डारीको भनाई थियो ।
उनले आगामी महिनामा राष्ट्रिय स्वरोजगार श्रम तथा रोजगार सम्मेलन गरेर आगामी दशककालागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा मनाउने र मुलुकमा रहेका रोजगारीका अवसरहरुको सम्बन्धमा छलफल गर्ने बताए । जबसम्म मुलुकमा आन्तरिक रोजगारी सिर्जना हुँदैन तबसम्म वैदेशिक रोजगारीको बाध्यतालाई रोक्न सकिदैन त्यसैले यसलाई मर्यादित, व्यवस्थित ,सुरक्षित बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
मधेश प्रदेशका श्रम तथा यातायत मन्त्री कौशल कुमार रायले बैदेशिक रोजगारीमा जानेहरुकालागि मधेश प्रदेश सरकारले सीप र त्यहाँ बोलिने भाषाको तालिम कार्यक्रमको आयोजना गर्दै आईरहेको जानकारी दिए । उनले सीपबिना र भाषाको ज्ञान बिना वैदेशिक रोजगारीमा जानेहरुले दुःख खेपिरहेकाले तालिमको व्यवस्था गरिएको बताए ।
