

एजेन्सी ।
चर्चित भारतीय कमेडियन कपिल शर्मासहितका कलाकारलाई ज्यान मार्ने धम्की आएको छ । पाकिस्तानबाट इमेलमार्फत शर्मासहित अभिनेता राजपाल यादव, नृत्य निर्देशक रेमो डिसुजा र कमेडियन सुगंधा मिश्रालाइ पनि धम्की आएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
इमेलमा लेखिएको छ– ‘हामी तपाईंको गतिविधिमा नजर राखिरहेका छौं । हामीले तपाईंको ध्यानाकर्षणमा एउटा संवेदनशील विषय ल्याएका छौं । यो सार्वजनिक स्टन्ट वा तपाइँलाई हैरानी गर्ने प्रयास होइन । हामी तपाईंलाई यो धेरै गम्भीरताका साथ लिन र गोपनीयता कायम राख्न अनुरोध गर्दछौं ।’
पाकिस्तानबाट आएको भनिएको इमेलको अन्त्यमा लेखिएको छ– ‘यदि यसो गरिएन भने यसले तपाईको व्यावसायिक र व्यक्तिगत जीवनलाई असर गर्न सक्छ । हामी अर्को ८ घण्टा भित्र यस इमेलको जवाफ चाहन्छौं । यदि तपाईंले यो गर्नुभएन भने, तपाईंले यसलाई गम्भीरतापूर्वक लिनुभएन भनेर हामी मान्नेछौं । हामी तपाई विरुद्ध कारबाही गर्नेछौं । हामी बिश्नोई होइनौं ।’
यस मामिलामा मुम्बई पुलिसले बीएनएसको धारा ३५१(३) अन्तर्गत एक अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । यद्यपि यसबारे कपिल शर्मा, राजपाल यादव वा रेमो डिसुजाबाट कुनै आधिकारिक बयान आएको छैन ।
