Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेश आन्दोलनः उपलब्धी कम, क्षति अधिक

आन्दोलनका अगुवाहरु बिचल्लीमा





जनकपुरधाम ।
देशमा २०६२/०६३ को जनआन्दोलन सफल भएर राजतन्त्रको विदाईको तयारी भईरहेको थियो । १० वर्षसम्म जंगल पसेर गृहयुद्ध गरेको माओेवादी पनि मूलधारमा आई सकेको थियो । संघियताको मुद्दा सशस्त्र विद्रोहमा लागेको तत्कालिन माओवादीको पनि थियो । तर अन्तरिम संविधान जारी हुँदा संघियता नै छुटाइयो । त्यसपछि सोही समयमा २०६२/०६३को जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मधेशमा भने अर्को आन्दोलनका लागि तयारी भई रहेको थियो । नेपालको प्रत्येक अधिकार प्राप्तिको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको मधेशको अधिकारका लागि कुनै पनि दल वा सरकारले गम्भिरता नदेखाएको भन्दै सोही समयमा उपेन्द्र यादवले गठन गरेको मधेशी जन अधिकार फोरमको सक्रियता बढ्दै गईरहेको थियो ।
देशमा अब आन्दोलन होइन चुनावको तयारी गर्नु पर्छ जनकपुरधाममा आएर उपेन्द्र यादवले आफ्नो मनसाय व्यक्त गरेपछि फोरममा आवद्ध युवाहरुले मधेशले अब आफ्ना लागि आन्दोलन गर्नु पर्छ भन्दै दवाब बनाए । फोरम भित्र आन्दोलन गर्ने नगर्ने खिचातानीका बिच वि.सं. २०६३ सालमा अन्तरिम संविधान जारी भएको थियो ।
जारी गरिएको अन्तरिम संविधानमा संघियता शब्द उल्लेख नभएको देखेर राजनीतिक दलको स्वरुप धारण नगरेको फोरमले त्यो संविधान मधेशी जनताका लागि स्वीकार्य नहुने प्रतिक्रिया दियो । अन्तरिम संविधान जारी हुनुभन्दा अगाडी तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलनको आयोजना गरी अन्तरिम संविधानमा संघियताको सवालमा सम्बोधन नभए त्यो संविधानलाई नमान्ने अभिव्यक्ति दिएका थिए ।
अन्तरिम संविधान जारी हुँदा त्यो संविधानमा संघियता शब्दको उल्लेख थिएन । यसका साथै अन्तरिम संविधानमा मिश्रित निर्वाचन प्रणाली उल्लेख गरिएको थियो जबकि फोरमको माग समानुपातिक निर्वाचन प्रणाली हुनु पर्ने थियो । वि.सं. २०६३ साल माघ १ गते अन्तरिम संविधान जारी भएकै दिन मधेशका जिल्लाहरुमा बिरोध स्वरुप मशाल जुलुश प्रदर्शन भयो । त्यसको भोली पल्ट २०६३ साल माघ २ गते तत्कालिन फोरमका अध्यक्ष उपेन्द्र यादव सहित किशोर विश्वास, रामकुमार शर्मा, उपेन्द्र झा, विपी यादव सहितले अन्तरिम संविधान काठमाडौँस्थित माइतीघर मण्डलामा जलाए । अन्तरिम संविधान जलाएको आरोपमा प्रहरीले ७ जनालाई गिरफ्तार गर्यो ।
फोरमको नेतृत्व पंक्तिमा रहेका अध्यक्ष, महासचिव, सचिव लगायतका पदाधिकारीहरु अन्तरिम संविधान जलाएको आरोपमा जेलमा परेपछि फोरमको पूर्व घोषित कार्यक्रम अनुसार २०६३ साल माघ ३ गतेको एक दिने मधेश बन्दको कार्यक्रम सफल पार्ने दवाब थियो । नेतृत्व गर्ने नेताहरु नै गिरफ्तारीमा परेपछि यो अभिभारा कसले उठाउने शंका उपशंकाका बिच तत्कालिन फोरमको धनुषा अध्यक्ष दीपक झाले यो अभिभारा उठाउने उदघोष गरे ।
उपेन्द्र यादव सहित पक्राउ परेकाहरुलाई ३ वर्षसम्म जेलमै राख्ने तयारी चलिरहेको समयमा उनले एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालिन मधेश आन्दोलनको घोषणा गरे । अनि मात्रै २०६३ साल माघ ३ गते शुरु भयो अधिकार प्राप्तिका लागि पहिलो मधेश आन्दोलन । जसको पूरा श्रेय दीपक झालाई जान्छ । मधेश आन्दोलन माघ ३ गतेदेखि जनकपुरधामबाट शुरु भएपनि सिरहाको लहानमा माघ ५ गते रमेश महतोको हत्या भएपछि आन्दोलन झनै बढेको थियो । महतोकै शहादतका कारण माघ ५ गतेलाई प्रत्येक वर्ष बलिदानी दिवसको रुपमा मनाइदै आएको छ । पहिलो मधेश आन्दोलन १९ दिनसम्म चलेको थियो । सोही आन्दोलनको बलमा देशको संविधानमा संघियता शब्दले स्थान पाएको मधेशवादी दलका नेताहरुको दावी छ ।
मधेश आन्दोलनका अगुवाहरु विचल्लीमा
मधेशको अधिकारका लागि लड्ने र मधेश आन्दोलनको अगुवाई गर्ने युवाहरु अचेल ओझेलमा परेका छन् । त्यसको सबैभन्दा ठूलो उदाहरण हुन्् दीपक झा ।
झाले पहिलो मधेश आन्दोलनको बिगुल फुकेको भन्दा अतिशयोक्ति नहोला । तर आज उनी आफै ओझेलमा परेका छन् । आखिर किन ? यो प्रश्नमा उनी भन्छन ‘हामीले् आन्दोलनलाई सफल त पार्यौँ तर आन्दोलनबाट प्राप्त अधिकारलाई व्यवस्थित गर्न सकेनौँ ।’ उनका अनुसार मधेश आन्दोलनको बेला आन्दोलनको बिरोधमा कुरा गर्नेहरु नै अहिले सरकारमा छन्, प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् ।
झाले भने ‘पंचायत सरकारको समयमा राजाको पक्षमा बोल्नेहरु नै अहिले ठूलो गणतन्त्रवादी र संघियताका पक्षधर बनेका छन्, यही सब देखेर अहिले राजनीतिमा त्यती सक्रिय छैन ।’ उनलाई यो राजनीति देखेर घृणा जागेर आउँछ ।
पहिलो मधेश आन्दोलनको बेला झालाई फोरम धनुषाको उपाध्यक्ष भएर सघाउने दिनेश पूर्वे पनि थिए । उनी पनि अहिले राजनीतिबाट कोशौ टाढा छन् । पहिलो मधेश आन्दोलन सफल भएपछि २०६४ सालमा तत्कालिन सरकारसंग सम्झौता भएपछि फोरमले राजनीतिक पार्टीको रुपमा सक्रियता बढाउने निर्णय गर्यो । संविधानसभाको निर्वाचनमा भाग लिने सोच बनायो । निर्वाचनमा बुद्धिजीवि तथा राजनीति बुझ्नेहरुलाई उम्मेदवार बनाउनु पर्छ सोच दिनेश पूर्वेको थियो । तर त्यस्तो भएन । सोही दिन आफूले अधिकार आन्दोलनको लडाई फोरम पार्टी र उपेन्द्र यादवलाई सुम्पी दिएको पूर्वे बताउँछन् । उनी भन्छन् ‘फोरम र उपेन्द्र यादवजी ले मलाई छोडे तर मेरो लक्ष्यले अझै मलाई छोडेको छैन ।’
उनी अहिले यो सब राजनीति त्यागेर जनकपुरधाममा श्रीराम जानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने अभियान बोकेर अगाडी बढि रहेका छन् ।
अर्का मधेश आन्दोलनकारी युवा अरुण झा मधेशीको पनि हाल विजोग छ । मधेश अधिकारको आन्दोलनमा आफ्नो सारा उर्जा लगाएका मधेशीलाई अहिले पनि आफ्नो बुवाको पेन्सनबाट आएको पैसाले घर परिवार चलाउनु परिरहेको छ । यो सब सोचेर आफूलाई रुन पनि मन लाग्छ मधेशी बताउँछन् ।